बझाङमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो।
चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि यातायातका साधन बन्द गरेपछि यात्रुसमेत अलपत्र परेका छन् भने छोटो तथा लामो यातायातका साधनसमेत सुनकुडामा लाम लागेका छन्।
बस चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरीचौकीले नियन्त्रणमा लिएको छ।
थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुपक खड्काले बताए।
सुनकुडामा बिहीबारदेखि अवरुद्ध भएका यातायातका साधन खोल्नको लागि गाउँपालिका जनप्रतिनिधि, प्रहरी, बालिकाका परिवार बसेर छलफल भइरहेको समेत डिएसपी खड्काले बताए।
रासस