सुनसरीको कोसी गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो।
आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको मेहताले बताए।
घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान सुरू गरिएको छ।
स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरू प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन्।
दैनिक रूपमा आरक्षबाट आउने हात्ती, अर्ना, बदेँल लगायतका जनावरले बालीनाली नष्ट गर्नुका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ। रासस