उखुको मूल्य माग गर्दै काठमाडौं आइपुगेका किसानहरूले सोमबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
सर्लाही, रौतहटलगायतका विभिन्न जिल्लाबाट आएका उखु किसानहरू काठमाडौंमा आन्दोलित भएका हुन्। आजसम्म एक सयभन्दा बढीको संख्यामा किसानहरू काठमाडौं आएका र थप आउँदै गरेको किसान संघर्ष समितिका सचिव हरेश्याम राय यादवले जानकारी दिए।
गत वर्षको पुस १८ गते सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने मागसहित किसानहरू काठमाडौं आइपुगेका हुन्। सहमतिको एक वर्ष बित्दा पनि किसानहरूले उखु मिलबाट पाउनुपर्ने झण्डै ९० करोड बक्यौता रकम पाउन नसकेको सचिव यादवको गुनासो छ। साथै सरकारले उपलब्ध गराउने भनिएको मल, बिउ, कटिङ मेसिन जस्ता सुविधासमेत पाउन नसकेको किसानहरुको गुनासो छ।
यसैबीच किसानको आन्दोलनमा गायक बद्री पंगेनी ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डला पुगेर गीत गाउँदै धर्नामा बसेका छन्। यसअघिनै विवेकशील साझाले पनि किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाइसकेको छ।