काठमाडौंको गोकर्णेश्वरमा पसल व्यापारीलाई धम्क्याएर पैसा माग्ने एक जना पक्राउ परेका छन्।
प्रहरीले नुवाकोट तार्केश्वर नगरपालिका-६ घर भई काठमाडौंको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाललाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।
उनीलगायत ५ जनाले मंगलबार दिउँसो गोकर्णेश्वर-५ जम्मुडाँडास्थित जैवाल मार्केटिङ खाद्यान्न पसलका रामलखन प्रसाद साह र जटा शंखर जैसवाललाई धम्क्याएका थिए।
डिएसपी विष्टका अनुसार उनीहरूले साह र जैसवालसँग ५० हजार रकम माग गरेका थिए। त्यसलगत्तै दुबै जनाले बौद्धमा उजुरी दिए थिए।
प्रहरीले यस घटनामा संलग्न अरूको पनि खोजी गरिरहेको छ।