आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन्।
विसं २०६६ तिर नै उनलाई मनोरोगले छोइसकेको थियो। श्रीमान अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन। श्रीमान काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो।
उनमा रोग बल्झिँदै गयो। एक दिन मानिसलाई ढुङ्गा हान्ने, जथाभावी बोल्ने गर्न थालिन्। कुनै घटना हुने डरले दाजु मिजानु रहमानले डोरीले हात बाँधेर राख्नुपर्यो। त्यसलाई पनि उनले चुँडालेर भागिन्। तीन/चार महिना यसरी बिते। एक दिन अचानक मुर्मुरिँदै घरबाट निस्किइन्।
‘त्यस दिन मोमिनालाई सम्हाल्न छोरालाई पठाएँ, तर भेट्न सकिएन’, रहमानले स्मरण गर्दै भने, ‘हामीले तीन/चार वर्ष खोज्यौं, प्रहरी अफिसर श्रीमानले धेरै ठाउँमा खोजी गर्दा पनि पत्तो लागेन।’
दिन अनि वर्ष बित्दै गयो। बिछोडिएको व्यक्ति नदेखेपछि परिवारका सदस्यबाट याद हराउँदै गयो। परिवारले बिर्सिदै जाँदा उनको कष्टकर जीवनको सुरूआत हुँदै थियो। घरबाट निस्किएपछि सडक/सडक भौंतारिनुको विकल्प थिएन।
मानिसको हप्काइ, छिछी/दुरदुर त छँदै थियो। पटक/पटक कुकुरको टोकाइ सहनु पर्यो। पीडा र वेदनासँग पौैंठेजोरी गर्दै दिन बित्न थाल्यो।
उनको जति पाइलो अघि बढ्थ्यो, जीवन त्यति नै परिवारबाट टाढिँदै गयो। मोमिनालाई कतिपटक रेलमा ठोक्किएर पुनःजीवन पाएको विगतका तीता घटना मानसपटलमा बेलाबेला बल्झिने गर्दछ।
उनलाई कति दिन भोकै बसेको याद छ, रातमा निन्द्रा नभएको पनि ताजै छ।
उनमा विस्तारै विगतका याद फर्किन थालेको छ।
‘चितवनको रामनगरमा मात्रै दुई वर्ष बिताएको हुँ, माग्थें, सहरका मान्छेले दिन्थें, त्यही खान्थें’, पारिवारिक पुनःमिलनका क्रममा भाषानुवादक रोशन पटेलले उनको भनाइ उद्धृत गर्दै सुनाए।
उनी नेपाली र हिन्दी भाषा केही बुझ्छन् तर बोल्दा बङ्गाली भाषा बोल्छिन्।
बिहीबार आफ्नो माइती गाउँ बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा पुग्दा पनि साथी/संगीतसँग ती कुरा साट्न भ्याइन्।
सो ठाउँ राजधानी ढाकाबाट झण्डै ३०० किलोमिटर उत्तरमा पर्छ। उनले बंगलादेशबाट हिँड्दाहिँड्दै भारत हुँदै नेपाल प्रवेश गरेको पनि सुनाइन्।
नेपालमा पुगेपछि २०७२ बाट उनको नाम फेरियो ‘गीता मानव’।
उद्धारक संस्था मानव सेवा आश्रमले सो नाम दिएको थियो। केही महिनाअघि परिवार पत्ता लागेपछि मात्रै उनको वास्तविक नाम ‘मोमिना बेगम’ भन्ने खुलेको हो। एघार वर्षपछि गीता वास्तविक नाम मोमिना बनेर पुनः गृहप्रवेश गरिन्।
उनलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यको उपस्थितिमा पारिवारिक सम्मिलनका लागि बिदाइ गरिएको थियो। उनको घर फिर्तीका सबै प्रक्रिया नेपालस्थित बङ्गलादेशी राजदूतावासले मिलाएको थियो।
दूतावासका कन्सुलर मसुद आलमले घरसम्म पुग्ने आवश्यक प्रबन्धको समन्वय गराएका थिए।
उनलाई घरमा पुर्याउन आश्रमका अभियानकर्मी सुशीला केसी र देवेश गुप्ता आएका थिए।
पारिवारिक पुनःमिलनका क्रममा देखिएको दृष्यले उनीहरूलाई भावुक बनायो। बिदाइको क्षणमा मोमिना र केसीलाई छुट्न गाह्रो भएको थियो।
बुधबार ढाकास्थित अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई लिन भाइ रसिद मिया, छोरा राजु र अलामिन आएका थिए।
मध्याह्न विमानस्थल ओर्लिंदा छोराहरूले आमा चिनेनन्। तीन वर्षमा आमाबाट बिछोड भएको कान्छो छोरा अलामिन १४ वर्षका भए। विमानस्थलमा आमा नचिनेर छोराहरू ट्वाल्ल परे। भाइ रासिदलाई देखेपछि मोमिना सम्हालिन सकिनन्।
एक्कासि आँगालो मारेर भक्कानिँदै हर्षका आँसु चुहाइन्। विमानस्थलमा शून्यता छायो। वास्तविक घटनाक्रम चाल पाएर बङ्गाली भाषामा नेपालको खुलेर प्रशंसा भयो।
उद्धार गरी रेखदेख गरेर निको पारेकामा मानव सेवा आश्रमप्रति नतमस्तक भए। मानवीय कार्य गरेकामा आश्रमलाई अल्लाहले रक्षा गर्ने सुनाए।
विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराएपछि तत्कालै सुशीला केसी (रुपा) को नेतृत्वमा मानव सेवा आश्रमको टोली पुग्यो। उनको शरीरभरि कमिलाले ढाकेको थियो। हातको घाउ कुहिएर कीरा परेको थियो। घाउको गन्धले वरिपरि जानै मुश्किल अवस्थाबाट उद्धार गरिएको थियो।
तत्कालै भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो तर पनि एउटा औँला भने काटेरै फ्याँक्नु पर्यो। विस्तारै उपचार, माया, प्रेम, थेरापी र परामर्शपछि जीवन फेरिँदै आयो। पुराना कुराहरू मानसपटलमा चल्मलाउन थाले। विस्तारै बोल्न थालिन्। उनलाई आश्रमले गीता मानव भनेर नाम दियो।
आश्रमकी आमा खिमा काफ्ले उनको भाषा बङ्गाली भनेर पत्ता लगाएपछि ठाउँ/ठेगाना खोज्ने क्रममा बङ्गलादेशी यकिन गरिएको केसी सुनाउँछिन्। त्यसपछि नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत् ठेगाना पत्ता लागेको थियो। बङ्गलादेशको गोविन्दगञ्ज जिल्ला, पलसपारि गाउँ बस्ने गीता केही महिनादेखि भर्चुअलमा छोराहरूसँग नियमित कुरा गर्थिन्।
उनी आश्रममा अन्य बेसहाराको रेखदेखमा खटिन थालेपछि भने परिवारको एक सदस्यझैं बनेकी थिइन्। गीतालाई पठाउने मन थिएन तर उनको परिवारको खुसीका कारण पुनःस्थापित गराउन आवश्यक थियो।
यस्तो छ पारिवारिक अवस्था
बुबा आजिसार रहमानका तीनमध्ये जेठी श्रीमतीबाट मोमिनाको जन्म भएको थियो। उनी परिवारको चौथो सन्तान थिइन्। तीन छोरा र दुई छोरीकी आमा मोमिनाका जेठा छोरा कादेर मानसिक रोगीका साथ अपाङ्गतासमेत छन् ।
माइलो छोरा राजु र कान्छो अलामिन छन् । छोरी कना र कल्पनाको बिहे भइसकेको छ । दाजुभाइ विभिन्न व्यापार व्यवसायमा संलग्न छन्। श्रीमानले अर्काे बिहे गरिसकेका छन्। भाइ रसिद मियाको घरमा बस्ने गरेका दुई छोरा राजु र अलामिनका साथ बस्ने गरी मोमिना भित्रिएकी छन्।
माया मारेको त्यही व्यक्ति ११ वर्षपछि टुप्लुक्क आइपुग्दा आफ्नै परिवारलाई अचम्म लाग्नु स्वभाविक। बिहीबार बिहान घर भित्रिँदा दाजुभाइ/दिदीबहिनी भावविह्ल भए। अंगालो मारेर खुसी साटे। मोमिनाको पुर्नजन्म भएको भनेर फूलमालाले स्वागत गरे। आश्रमको टोलीलाई पुष्पगुच्छासहित सम्मान दिए। त्यो रात कोही पनि निदाएनन्। उनले एक अर्काबाट ११ वर्षका दुःखसुख साटे। मोमिनाले आफ्ना दौंतारी, छरछिमेकको अवस्थाबारे पनि जानकारी लिइन्।
एघार वर्षमा परिवारका सात सदस्य गुमाउँदा....
बिहीबार राति २ बजे पारिवारिक मिलन चल्दै थियो। हर्षका आँसु खस्दै गर्दा मोमिना एक्कासि डाँको छाडेर रोइन्। पुनर्मिलनकै क्रममा बुवालगायत नजिकका सात जना आफन्तको निधन भएको खबर थाहा पाएपछि उनी सम्हालिन सकिनन्।
एघार वर्षको अन्तरालमा उनका बुवा, भिनाजू, बहिनीलगायत नजिकका सात जनाको मृत्यु भएको खबर उनका लागि ठूलो घाउ बन्न पुग्यो। उनलाई आश्रमकी सचिव केसीले सम्हाल्नुपरेको थियो।
केही समयअघि काठमाडौंबाट उद्धार गरिएका अर्का तीन बंगलनदेशीलाई पनि परिवारमा पुनर्स्थापित गरिएको छ।
भारतबाट आएर बेवारिसे हुने धेरै भेटिइसकेका छन्। आश्रमले उद्धार गरेका पाँच हजारमध्ये २०० विदेशी फेला परेका छन्। त्यसमा ४८ जनाको परिवारमा पुनर्मिलन गराइसकिएको र १०० अझै आश्रित रहेको जनाइएको छ। रासस