घोराही उपमहानगरपालिका-१४ नयाँ बजारस्थित सगरमाथा टोल समसाँझमै सुनसान छ। ६६ वर्षीया सितली मगर्नी आफ्नो टहरो (ढ्याब्ली) मा राखेको पसलभित्रै छन्। एउटा बालक आएर केही माग्छन्। तर, ती बालकले मागेको वस्तु उनको पसलमा थिएन।
१९ वर्षदेखि उनी यहीँ टहरोमा बस्दै आएकी छन्। जीवनको सहारा भन्नु नै यही एउटा टहरो हो। योबाहेक उनको आफ्नै भन्ने घर, जग्गा-जमिन केही छैन।
टहरोभित्रै एकसरो ओढ्ने ओछ्याउने कपडा छन्। पकाउने भाँडा यहीँ छन्। छेउमा पानी भरेका बोतल छन्। सितलीको नजिकै कालो बिरोलो बसेको छ। ऊ शान्त छ।
हिजोआज सितलीको सजिव साथी भनेकै यही एउटा बिरोलो मात्र हो। यो कराउँदा उनको न्यास्रो मेटिन्छ। तै जनावर न हो, कहिलेकाहीँ हराउँछ। उनी एक्लै हुन्छिन्। त्यस्तो समयमा सितली रेडियो सुन्छिन्। या मोबाइलबाट गीत सुन्छिन्।
उनको टहरोमा एउटा पुरानो रेडियो झुन्डिएको छ। त्यो रेडियो उनका पति जीतबहादुर घर्तीले झन्डै २२ वर्षअगाडि किनेका थिए।
यसलाई उनले निकै जतनले राखेकी छन्। रेडियोलाई भोटो सिलाइदिएकी छन्। उनका लागि पतिको ‘नासो’ भन्नु नै यही रेडियो हो। रेडियोबाटै सुनेर उनी आफूजस्तै दुःख पाउने अरू पनि रहेछन् भनेर चित्त बुझाउँछिन्।
‘म दुःखी भनेको त, मभन्दा दुःखी पनि कोही-कोही हुने रै’छन्। यी सबै कुरा मैले रेडियो सुनेर थाहा पाएकी हुँ, सितलीले भनिन्, ‘पहिला-पहिला त मलाई केही नहुँदा धर्ती खसेकोजस्तो लाग्थ्यो। अहिले अरू पनि हुँदा रैछन् भनेर सम्हालिएको छु।’
सितलीले आफ्नो टहरोको भित्तामा पतिसँगको श्यामश्वेत तस्बिर राखेकी छन्। नियास्रो लाग्दा उनी त्यही तस्बिर सुम्सुम्याउने गर्छिन्। ‘यो तस्बिर कहाँ बोल्थ्यो र! जति बोलाउँदा पनि बोल्दैन,’ उनी भन्छिन्, ‘अति यादले सताउँदा यही तस्बिर छातीमा राखेर सुत्छु।’
रोल्पाको तालाबाङमा जन्मे-हुर्केकी सितलीले २० वर्षको उमेरमा राङकोटका जीतबहादुरसँग मागी विवाह गरेकी हुन्।
जीतबहादुर उनीभन्दा ११ वर्ष जेठा थिए। उनीहरूको दाम्पत्य जीवन राम्रै चलिरहेको थियो।
रोल्पामा तत्कालीन समय जनयुद्व उत्कर्षमा थियो। दैनिक मानिस हताहती भएका खबरले उनीहरू आजित भइसकेका थिए। त्यसैले सुख र शान्तिको खोजी गर्दै उनीहरू करिब २४ वर्षअघि दाङ झरे।
दाङ त झरे। तर उनीहरू हातमा केही थिएन। रोल्पामा भएको पाखापखेरा बिक्री हुने कुरै थिएन। बाँच्न त केही गर्नेपर्थ्यो। घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणअगाडि टहरो (घुम्ती) थापे।
त्यहाँ अरू पनि टहरा थिए। त्यही टहरोलाई नै उनीहरूले जीवन जिउने सहारा बनाए। त्यहाँ उनीहरूले आटो, पीठो, चामललगायतका खाद्य सामान पनि बेच्ने गर्थे। बुढाबुढीको मेहनतले खान लाउन पुगेकै थियो। धन सम्पत्ति कमाउने उनीहरूको कुनै लालसा थिएन।
सितलीका अनुसार उनका पति जितबहादादुर सारै सोझा थिए।
‘मैले जे भन्यो त्यही मान्थे,’ उनले भनिन्। उनीहरुको जीवन जसोतसो चल्दै थियो।
२०५८ साल मंसिर ८ गते राति माओवादीले नेपाली सेनाको घोराहीस्थित ब्यारेकमा आक्रमण गर्यो।
माओवादीबाट सेनामाथि भएको यो नै पहिलो आक्रमण थियो। ब्यारेकनजिक बस्ने सितली र जीतबहादुर बन्दुक र गोला बारूदको आवाजले रातभर सुत्न सकेनन्।
मध्यरातमै एक जना नेपाली सेनाका जवान भागेर उनको घुम्तीमा शरण माग्न आए। ती चिनजानका थिए। आर्मीको भेष बदलेर भए पनि सितली र जीतबहादुरले आफूसँगै राखे। आक्रमणकारी माओवादीबाट उनलाई जोगाए। नेपाली सेनाका ती जवान बिहान उठेर ब्यारेक छिरे।
बिहान सरकारले थप सहयोग पठायो। हेलिकोप्टरहरू आए। ट्रक र बसमा बाहिरबाट थप सहयोगका लागि सेना, प्रहरी पनि त्यहाँ पुगे।
त्यो आक्रमण पछि रिपुमर्दन गणमा कार्यरत चिनजानका आर्मीहरू परिवर्तन भए। नयाँ/नयाँ अनुहार आए। उधारो सामान लगेका कतिपय आर्मीले तिर्नु पर्ने पैसा पनि नतिरी गए। त्यतिबेला केही भन्न सक्ने अवस्था थिएन। मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था थियो।
आक्रमणपछि सेनाले मंसिर ११ गते आसपासका घर र बस्तीमा खानतलासी थाल्यो।
सितलीको घुम्तिमा पनि खानतलासी भयो। रोल्पाकै एक जना चिनजानका मानिसले किनेर ल्याएका नयाँ भाँडा वर्तन थिए। त्यसमा एक दुई वटा प्रेसर कुकर थिए।
तीनै भाँडालाई कारण देखाउँदै जीतबहादुरलाई सोधपुछका लागि भनेर आर्मीले ब्यारेकभित्र लग्यो। सितलीलगायत आसपासका सबै घुम्ती र टहरा भत्काइदियो। एक्ली सितलीलाई कता जाउँ र के गरौं भन्ने भयो।
आफ्ना पतिलाई खाना दिने र उनको अवस्था बुझ्न उनी ब्यारेकभित्र जान खोज्थिन्। तर, गेटबाटै आर्मीले उनलाई भित्र छिर्न दिँदैनथ्यो। जति कोशिश गर्दा पनि भेट उनले आफ्ना पतिलाई भेट्न पाइनन्।
‘गेटमा सोध्दा दुई दिनसम्म यहीँ हुनुहुन्छ भन्थे,’ सितलीले भनिन् ‘तीन दिनपछि तपाईंको बुढोलाई काठमाडौं सारियो भन्ने कुरा गरे।’
त्यतिबेलादेखि जीतबहादुरको अवस्था अज्ञात छ। उनलाई सेनाले नै बेपत्ता बनायो। हालसम्म पनि उनको अत्तोपत्तो छैन। तर पनि सितलीलाई अझैं आफ्ना पति फर्केर आउँछन् भन्ने विश्वास छ। हरेक दिन बिहान त्यही आशाका साथ बाटोमा नजर बिच्छ्याउने सितलीको आशा बेलुकी सूर्य डुब्नै लाग्दा क्षितिजमा बिलाएर जान्छ।
‘मरे पनि कसरी भन्नू, मैले आफैं लाश देखिकी छैन। जिउँदो छन् पनि कसरी भनौं १९ वर्षसम्म घर फर्केर आउँदैनन्,’ उनले भनिन्, ‘यदि मारेकै हो भने प्रष्ट भनिदिए हुन्थ्यो। मारेर गाडेको ठाउँ देखाइदिए म त्यहीँबाट खनेर बचेका हाडखोर निकालेर भए पनि पतिको काजक्रिया गर्थेँ।
यो बिचमा सितली कति पटक छटपटाइन्, कति आँशु झारिन् त्यसको कुनै लेखाजोखा छैन। भन्छिन्, ‘रूँदारूँदा मेरो आँशु नै रित्तिइसक्यो।’
हालसम्म पनि जीतबहादुर बेपत्ताकै सूचीमा छन्। यद्यपी उनले राज्यको तर्फबाट राहतस्वरूप दश लाख रूपैयाँ पाइन्।
‘मलाई त राज्यले पैसासँग सिन्दुर, पोते साटेजस्तो व्यवहार गर्यो,’ सितलीले भनिन्, ‘निर्दोष र निहत्या मानिसलाई घरबाटै सोधपुछका लागि भनेर यसरी बेपत्ता पार्नेलाई कानुन पनि लाग्दो रहेनछ।’
निःसन्तान सितलीलाई कसैसँग बदलाको भाव छैन। उनलाई मृत्युसँग पनि अब डर लाग्न छोडिसक्यो।
‘जन्मेपछि एकदिन सबैले मर्नु नै पर्छ बाबु। बरू आफ्नै भए पनि एउटा झुपडी भइदिए हुन्थ्यो र त्यही भित्र मर्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘कहिले वृद्धाश्रम जाउँ कि भनेर पनि सोच्छु। तर, त्यहाँ जान पनि मन लाग्दैन। हात खुट्टा चल्दासम्म गरेरै खान्छु भन्ने निश्चय गरेकी छु।’
उनका सबै आफन्त रोल्पामै छन्। सितलीलाई अब फेरि दाङ छोडेर रोल्पा जाने मन छैन।
‘जेठाजुहरू सबै बितिसक्नु भयो। उहाँहरूका छोरा नातिहरू मात्र छन्। आफूले केही गर्न नसक्दा उनीहरूले पनि बचन लाउन सक्छन् । त्यसैले फर्केर रोल्पा जान चाहन्नँ,’ उनले सेतोपाटीसँग भनिन्।
उनका श्रीमानका ६ भाइ दाजुभाइ भए पनि दुई दाजु भाइका मात्रै सन्तान छन्।
सितलीले नजिकै उनले मासिक २ हजार तिर्ने गरी एउटा कोठा भाडामा लिएकी छन्। तर, उनी कोठामा कहिलै बस्दिनन्। उनले त्यो कोठामा आफ्ना सामानमात्रै राखेकी छन्। सितली कोठामा गएको मौका छोपेर दिउँसै चार पटक उनको घुम्ती चोरी भयो।
‘अब फेरि चोर्न आए कि त्यहीँ चोर मार्छु कि, मर्छु भनेर यही सुत्न थालेकी हुँ। अब त मलाई बानी नै परिसक्यो बाबु, कोठामा सुत्न मनै लाग्दैन,’ उनले भनिन्।
श्रीमानले जोडेको घुम्ती उनलाई घरभन्दा प्यारो लाग्छ।
‘यो मंसिरमा घुम्ती (ढ्याब्ली)मा सुत्न थालेको २० वर्ष पुग्यो। अब छोडेर जानै मन मान्दैन,’ उनले भनिन्।
उनको आफ्नो पसलबाट हुनै दैनिक एक/दुई सयको कारोबारले खर्च चलाइरहेकी छन्। कहिलेकाहीँ सामान किन्ने पैसा नुहँदा बैंकमा राखेको पैसा निकालेर घुम्तीमा सामान राख्ने गरेकी छन्।
राज्यले दिएको रकममध्ये अझै दुई-तीन लाख रुपैयाँ उनले बैंकमै राखेकी छन्। ‘ठूलो विरामी नपरे म बाँच्दासम्म यो पैंसाले पुग्छहोला,’ उनले भनिन् ‘मेरो हात खुट्टा चल्दासम्म म आफै श्रम गरेर खान्छु।’
नाकमा ठूलो बुलाकी, फूली र कानमा कानबाली छन्। ती सुन पनि उनले राज्यले दिएको पैंसाबाटै जोडेकी हुन्। आँखा अलि कम देख्ने भएपछि बाध्यताले पछिल्लो समय चस्मा लगाउन थालेकी उनले जाडो छल्न मोटो ज्याकेट लगाएकी छन्।
कहिलेकाहीँ जेठाजुका नातिहरू आउँछन्। आउँदा उनीहरूलाई एक दुई हजार पैसा दिएर पठाउँछिन्। उनलाई लोभ लालच पनि छैन।
‘कसको लागि साँचेर राख्नू। उनीहरू पनि आफ्नै हुन भएसम्म सबैलाई सहयोग गर्छु,’ उनले भनिन्।
उनले रोल्पाको राँङकोटमा पतिको नाममा ३ लाख रुपैयाँ खर्चिएर चौतारो बनाउन लगाएकी छन्।
सितली बोल्दा उनको नाकका फुली, बुलाकी र कानबाली हल्लिरहेका थिए।
ती देखाउँदै उनले भनिन्, ‘अहिले कोही नआए पनि म मरेको खबर पाउनासाथ यी सुनका लोभले पनि आफन्त कुना काप्चाबाट आउलान् नि।’
उनको मुहारमा अनिश्चत भविष्यको भाव झल्कियो। उनी मुस्कुराइन् मात्र।