भारतको सीमावर्ती बजार जोगवनीसँग पहुँच पुग्ने गरी विराटनगरमा नयाँ सडकको आइतबार शिलान्यास भएको छ।
करीब ३० करोड रूपैयाँको लागतमा आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी आइएसएमबीले ठेक्कामा लिएको छ। बाटोको लम्बाइ ९ किमी र चौडाइ २२ फिटको हुने छ।
विराटनगर महानगरपालिकाको हाइवे पश्चिम वडा–५, ६, ११ र १२ हुँदै सडक जोगबनी सीमासम्म पुग्ने प्रदेशसभा सदस्य केदार कार्कीले जानकारी दिए।
उनले दावाबन्दी, कारखाना टोल, कोलपुर, ब्रह्मपुरा, दुधुवा र मलङ्गवा हुँदै जाने सो बाटो स्थानीय जनता तथा नेपाल भारत ओहोरदोहोर गर्ने जनतालाई सुविधा पुग्ने बताए।
बाटो एक सांसद एक बाटो सरकारको कार्यक्रमअन्तर्गत बन्न लागेको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शिलान्यास गर्दै वैकल्पिक मार्गका रुपमा निर्माण हुन लागेको यो बाटो दुवै देशवासीलाई फाइदा पुग्ने बताए।
प्रदेशसभा सदस्य केदार कार्कीले आवतजावतमा निकै समस्या झेलिरहेका स्थानीय जनता तथा उखु कृषकका लागि यो बाटो लाभदायी हुने चर्चा गरे।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विकासका लागि सबैभन्दा पहिले बाटो नै आवश्यक पर्ने भएकाले नयाँ बन्न लागेको बाटोले स्थानीय जनताको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
(रासस)