बेलायत सरकारले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ।
बुधबार बेलायतको स्वास्थ्य मन्त्रालयले मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा दुई डोज लगाउनु पर्ने उक्त खोपलाई अनुमति दिएको हो।
यो खोपलाई अनुमति दिन बेलायत पहिलो मुलुक हो। बेलायतले उक्त खोप १० करोड डोज अर्डर पनि गरिसकेको छ।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।
अक्सफोर्ड/अस्ट्राजेन्काको खोप भारतमा पनि उत्पादन गर्ने सम्झौता भइसकेको छ। भारतको पुणेस्थित सिरम इन्स्चिट्युड अफ इन्डिया (एसआइआई) खोप बनाउन अनुमति पाएको छ।
एसआइआईका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले केही समयअघि खोपलाई सस्तो बनाउने प्रयास गरिरहेको बताएका थिए। खोपको एक डोजको मूल्य ५ देखि ६ सय भारूसम्म राख्न खोजेको उनले भनाइ छ।
पुनावालाले अहिलेकै अवस्थामा आफ्नो कम्पनीले मासिक ५ करोड डोज खोप उत्पादन गर्न सक्ने र आगामी फेब्रुअरीदेखि क्षमता दोब्बर पारिने बताए।