‘पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरू पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो (गाउँलेलाई देखाउँदै), यिनीहरू चोरी गर्न लागे, मलाइ बचाऊ... ।’
मेची महाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्सरी चिच्याइन्।
‘आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न’, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उनका लागि वचन वाण बन्यो।
त्यसपछि उनी झनक्क रिसाएर लाठी आक्रमणमा उत्रिइन्।
उनी त्यतिमात्रै बोलेर चुप लागिनन्। फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लागिन्। पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उनले लाठी लिएर लखेटिन्।
आक्रमणको सिकार हुने डरले उनलाई हत्तपत्त कसैले समाउने आँट गरेनन्। साथमा छोराझैं हुर्काएर पालेको कुकुर उनको सहारा बनेर उभिएको थियो।
उनको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन। जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्याे।
केहीबेरको गलफतीपछि उद्धार टोलीले उनलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बहानमा राख्न उत्तिकै कठिन भयो।
उनलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो। कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन।
जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उनलाई बुधबार उद्धार गरिएको थियो। डोरीको एक छेउ उनको कम्मरमा र अर्काे छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो।
छिमेकीका अनुसार उनले त्यो कुकुर बच्चैदेखि पालेकी हुन्। छेउको अर्काे बोरामा चार वटा कुकुरका छाउरासमेत थियो। कम्मरमा सम्पत्ति राखनधरनको पोको खुबै संरक्षण गरेर राखेकी थिइन्।
पोको छोयो कि आक्रमणमा उत्रिइन्थिन्। पछि पोको खोल्दा एक हजार ६०० नगद फेला परेको थियो।
छिमेकी गङ्गा बस्नेत कसैले नयाँ कपडा दिँदा उनले सबै अँगेनामा लगेर डढाउने गरेको सुनाउँछिन्। उनका अनुसार परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि सडकमा आइन्।
उनमा यसरी मनोरोग लागेको झण्डै दुई वर्ष भयो। सुधारको कयौं प्रयास सफल नभएको बताइएको छ। उनलाई छिमेकीले नाम दिएका छन् ‘झम्की’।
झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उनलाई झम्की भनिएको हो।
बस्नेत भन्छिन्, ‘तपाईंहरूले उद्धार गर्नुभयो, हामी निक्कै खुसी छौं, अब यो बाटोमा बिजोग त देख्नु पर्दैन, पुण्य काम भएको छ।’
मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उनलाई उद्धारको प्रयास भएको थियो तर आक्रमण गर्न थालेपछि एक दुई जनाले नसकेर छाडिएको थियो।
बुधबार नै अलि पर बजारमा भेटिएका बुद्धिमान वाइबालाई समेत उद्धार गरियो। परिवारमा कोही नभएपछि मागेर खान थालेको बताउने बुद्धिमानलाई पनि जान्नँ भन्दाभन्दै जबर्जस्ती उठाउनु परेको थियो।
अपाङ्ग बुद्धिमान सडक मै मागेर बस्ने भनेर अड्डी कसेका थिए तर बेसहाराको खोजीखोजी उद्धार गर्न थालेको आश्रमले उनलाई सडकमा बस्न दिएन।
बुधबार यसरी सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई उठाएर यहाँ हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ।
उद्धारका क्रममा ३२ वर्षसम्म पिपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिए।
उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्राङ्गणमा पुर्याएर नुहाइधुवाई र सरसफाइ गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ।
नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले महत्वपूर्ण अभियानमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै छिट्टै आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताइन्।
उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन्। उनीहरू महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएका व्यक्ति हुन्।
सुरूआती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठ्ठीदान समेत उठाएको आश्रमले जनाएको छ।
‘कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ’, पौडेलले थपे।
पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहने जिल्ला बाहिरका धेरै रहेका छन्।
अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उनले बताए।
नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाएको छ।
एक हप्ताको अन्तरालमा सडकमा रहेका ३०० भन्दा बढीको उद्धार भइसकेको छ। रासस