छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) निको हुनेको संख्या एक करोड पुग्न लागेको छ ।
अहिलेसम्म गरिएको १७ करोड परीक्षणमा भारतमा १ करोड ३ लाखमा ३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९९ लाख १ हजार ९ सय २९ जना निको भएका वल्डोमिटरले जनाएको छ ।
यस्तै १ लाख ४९ हजारको भने मृत्यु भएको छ । भारतमा गएको २४ घण्टामा १७ हजार नयाँ संक्रमित थपिँदा १ सय ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
अझै पनि २ लाख ५२ हजार सक्रिय संक्रमित रहेका भारतमा ८ हजार ९ सयको अवस्था जटिल रहे पनि बाँकीको अवस्था सामान्य रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
संक्रमित धेरै भएका देशको सूचीमा दोस्रो स्थानमा रहेको भारत मृत्यु हुनेको संख्यामा भने तेस्रो स्थानमा छ ।
भारतअघि अमेरिकामा २ करोड बढीमा संक्रमण पुष्टि हुँदा ३ लाख ५६ हजारको मृत्यु भएको छ । १ करोड २१ लाख ७५ हजार निको भइसकेका छन्।
भारतपछि ब्राजिलमा ७७ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १ लाख ९५ हजारले कोरोनाका कारण मृत्यु भइसकेको छ । ६७ लाख ५६ हजार निको भइसकेका छन्।
अहिलेसम्म विश्वभर ८ करोड ४३ लाखमा संक्रमण पुष्टि हुँदा ५ करोड ९६ लाख निको भएका छन् । १ लाख ३४ हजारको भने मृत्यु भएको छ।
नेपालमा २ लाख ६१ हजारमा संक्रमण पुष्टि हुँदा १८६४ जनाले ज्यान गुमाएका छन्। २ लाख ५३ हजार निको भइसकेका छन् भने ६ हजार अझै उपचाररत छन्।