कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।
भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो।
डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी हस्पिटल भर्ना भएका थिए।
भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।