पाकिस्तानमा शनिबार राति एकैपटक देशभरि बत्ती गएको छ। समाचार पत्र द डनका अनुसार राति ११ बजेर ४१ मिनेटमा देशभरिको विद्युत प्रणालीमा समस्या आएको हो।
सुरूमा कराँची, लाहोर, इस्लामावाद, मुल्तानजस्ता ठूला सहरका वासिन्दाले सामाजिक सञ्जालमा लोडसेडिङ भएको उल्लेख गरेका थिए।
केही समयपछिमात्रै लगभग देशैभरिको बिजुली अवरूद्ध भएको खुलेको थियो।
केही घन्टापछि पाकिस्तानी उर्जा मन्त्री ओमर अयुबले राष्ट्रिय प्रसारण प्रणालीको फ्रिक्वेन्सी ५० बाट एक्कासी जिरोमा झरेकाले समस्या भएको जानकारी दिएका थिए। फ्रिक्वेन्सी किन एक्कासी झर्यो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।
'हामी आम नागरिकलाई धैर्य राख्न अनुरोध गर्छौं,' उनले भनेका छन्।
उर्जा मन्त्रालयका प्रवक्ताले गुड्डु पावर प्लान्टमा भएको खराबीका कारण समस्या आएको बताएका छन्।
अहिले चरण-चरणमा पाकिस्तानमा बिजुली वितरण गर्न सुरू गरिएको छ। सबैभन्दा पहिला राजधानी इस्लामावादको विद्यूत सुचारू गरिएको छ।
२१ करोड बढी जनसंख्या भएको पाकिस्तानको विद्युत वितरण प्रणालीका संरचना निकै कमजोर छन्।
यसअघि सन २०१५ मा पनि विद्रोहीहरूले एक प्रसारण लाइनमा आक्रमण गरेपछि ८० प्रतिशत भू-भागको बिजुली अवरूद्ध भएको थियो।