अमेरिकाको एक चिडियाखानाका केही गोरिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्यानडियागो चिडियाखाना सफारी पार्कका केही गोरिल्लामा कोरोना पुष्टि भएको समाचार संस्था एपीले जनाएको छ।
पार्ककी कार्यकारी निर्देशक लिसा पिटरसनले एउटै ठाउँमा बस्ने आठ वटा गोरिल्लामा संक्रमण हुनसक्ने बताइन्। त्यसमध्ये धेरैले खोकिरहेको उनले बताइन्।
गोरिल्लामा पार्ककै वन्यजन्तु सेवा टोलीका सदस्यबाट सरेको हुन सक्ने आशंका गरिएको छ। जसलाई संक्रमण भएपनि लक्षण भने देखिएको थिएन।
उक्त पार्क गत डिसेम्बर ६ देखि नै बन्द छ। क्यालिफोर्नियामा फैलिएको कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन लकडाउन गरेसँगै सो पार्क बन्द भएको थियो।
गत हप्ता कम्तीमा पनि दुइटा गोरिल्लाले खोक्न थालेको थियो। तेस्रोले भने लक्षण देखाइरहेको छ।
अमेरिकाको कृषि राष्ट्रिय पशु चिकित्सा सेवाका अनुसार तीन वटा गोरिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अन्य पाँच वटामा पनि संक्रमण हुन सक्ने आशंका गरिएको छ। आठ वटै गोरिल्लाको परीक्षण गर्न स्याम्पल समेत लिइएको छ।
गोरिल्लाहरूका नाक बग्ने र खोक्ने बाहेक अरू स्वास्थ्य अवस्था सामान्य नै भएको पिटरसनले बताइन्।
'गोरिल्लाहरूलाई एकै ठाउँमा क्वारेन्टिनमा बसेर खानपिन गरिरहेका छन्। तिनीहरू पूर्ण रुपमा ठिक हुनेमा हामी आशावादी छौं,' उनले भनिन्।
अध्ययनहरूले देखाएअनुसार गोरिल्लाहरूको डिएनए मानिसहरूसँग ९८ प्रतिशत मिल्छ। तिनीहरूलाई पनि मानिसहरूमा जस्तै असर गर्ने नगर्ने पत्ता लागिसकेको छैन। चिडियाखानका अधिकारीहरूले विज्ञहरूसँग सरसल्लाह गरिरहेका छन्।
सोमबारदेखि सफारीपार्कका मानिसहरूले सुरक्षाका नीतिहरू बढाएका छन्। आफ्ना कर्मचारीहरूलाई फेस सिल्ड, चस्मा लगाउन अनिवार्य गरिएको छ।