अमेरिकाका डाक्टर ओमार एटिकले २९ वर्षअघि अर्कान्ससमा एउटा क्यान्सर क्लिनिक खोलेका थिए।
उक्त राज्यको पाइन ब्लफ शहरका पिछडिएका समुदायलाई सेवा दिने उनको क्लिनिकको लक्ष्य थियो।
समय बित्दै जाँदा डाक्टर एटिकले क्लिनिकसँगै अर्कान्सास विश्वविद्यालयको चिकित्सा विज्ञान केन्द्रमा पनि काम गर्न थाले। क्लिनिक र विश्वविद्यालयको कामले उनी निकै व्यस्त भए।
एक जना अर्का डाक्टरलाई क्लिनिकमा राखेर पनि उनले बिरामीलाई सेवा दिइरहेका थिए। तर ती डाक्टरले पनि छोडेपछि गत मार्चमा उनले क्लिनिक बन्द गर्ने निर्णय गरे। क्लिनिक बन्द गर्दा बिरामीबाट लाखौं डलर शुल्क उठाउन बाँकी थियो। उनले एउटा कम्पनीलाई त्यस्तो शुल्क उठाइदिन भने।
त्यसपछि उनले थाहा पाए बिरामीहरूले कसरी आफ्नो शुल्क बुझाइरहेका छन्।
'महिनौंसम्म बिरामीहरूले १० डलर, ५ वा ५० डलरसम्म तिर्ने गर्थे,' एटिकले सिबिसी न्युजसँग भने,' उनीहरू पैसा तिर्न चाहन्थे तर सक्षम थिएनन्। त्यहीबेला कोरोना आयो। देशैभरि असर गर्यो। निम्न आय भएका मानिसको जीवनमा कोरोनाको असर झन् धेरै पर्यो।'
ती बिरामीको शुल्क के गर्ने भन्नेबारे एटिकले श्रीमती र छोरासँग कुराकानी गरे। उनीहरूले आफूहरूलाई भन्दा ती मानिसहरूलाई अहिले बढी पैसा चाहिएको बताए।
'भाग्यले हामीलाई त पैसा पुर्याएकै छ, उनीहरूलाई चाहिएको छ,' उनले भने, 'हामीले उनीहरूको शुल्क मिनाहा गरी धन्य हुने अवसर पायौं।'
एटिकले सन् २०२० मा दुई पटक शुल्क मिनाहा गरेका थिए। सुरूमा जुन र पछि क्रिसमसका बेला उनले आफ्ना बिरामी शुल्क नलाग्ने बताएका थिए।
क्रिसमसका बेला त उनले झन्डै २ सय बिरामीलाई होलिडे कार्ड पठाएर अब बाँकी शुल्क तिर्नु नपर्ने जानकारी गराएका थिए।
यसरी उनले क्यान्सरका बिरामीहरूको ६ लाख ५० हजार अमेरिकी डलर बराबर रकमको शुल्क मिनाहा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। डाक्टर एटिकले चर्चामा आउन आफूले यस्तो काम नगरेको बताएका छन्। बिरामीहरूले भने उनलाई कृतज्ञता ज्ञापन गरेका छन्।
'हामी पनि यो अवसर पाउँदा कृतज्ञ छौं,' उनले भने।