चीनमा आठ महिनापछि पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको छ।
समाचार संस्था एएफपीका अनुसार बिहीबार चीनले कोरोनाबाट थप एक जनाको ज्यान गएको पुष्टि गरेको हो।
स्वास्थ्य अधिकारीहरूले मृतकको विस्तृत विवरण खुलाएका छैनन्। उनी हेबेई प्रान्तका भएको बताइएको छ। केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन दर्जनौं संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ।
बिहीबार चीनमा एकैदिन १३८ जना संक्रमित भेटिएका छन्। गत वर्षको मार्चपछि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको यो पहिलो पटक हो।
गत वर्ष कोरोनाभाइरसको सुरू चीनको वुहानबाट भएको थियो। सुरूमा वुहानमा महामारीको रूपमा फैलिएको भाइरसलाई चीनले पछि कडा लकडाउन र अरू मापदण्ड अपनाएर नियन्त्रणमा लिएको थियो।
चीनमा अहिलेसम्म ८७ हजार सात सय मानिसलाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ।
यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएओ) टोली आज चीन जाँदै छ। यसअघि चीनले उक्त टोलीलाई अवरोध गरेको थियो। डब्लुएचओको टोलीलाई वुहान जान दिइन्छ कि दिइँदैन भन्नेबारे खुलाइएको छैन।