आफूलाई संगीतकर्मी भन्न रूचाउने गायक तथा संगीतकार गोविन्द ‘मधुर’ आचार्य त्यहीँ काममा काठमाडौं बस्न थालेको करिब दुई दशक पुगसक्यो।
काम विशेषले वा चाडपर्वमा मात्रै पाहुना जसरी घर आउने उनको पछिल्लो समय गीत/संगीतको क्षेत्र फस्टाएको छ।
करिब ६-७ सय हाराहारीका गीत संगीतमा काम गरिसकेका उनले आफैं पनि एक डेढ सय गीत गाइसकेका छन्। थुप्रै गीतमा संगीत भरेका छन्। संगीत संयोजन उत्तिकै छ।
संगीतकर्मबाहेक अर्को उनको कुनै पेशा वा व्यवसाय थिएन। आचार्य त्यसैमा ब्यस्त बने। उनलाई भ्यान नभ्याई थियो।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रासदीसँगै आचार्य दाङ फर्किए।
सुरूवाति दिनमा लकडाउन उनका लागि आराम गर्ने समय मिले जस्तो भयो। काठमाडौंको कोलाहल, धुँवा धुलो र व्यवस्त दैनिकीबाट छुटकारा पाएर आनन्दले परिवारसँगै बसे।
लकडाउन बढीमा दूई तीन हप्तासम्म मात्रै रहला भन्ने सोचेका आचार्यले महिनौं कडा लकडाउन भएपछि तनावमा रहे। सडकमा निस्कियो कि प्रहरीले लेखेट्थे। सिनेमा हलदेखि, रोदी, डिस्को, जिम क्लव, समूहका खेल सबै कुरामा प्रतिवन्ध थियो। सधैं व्यस्त रहने उनका लागि अबको समय पीडादायी बन्न थाल्यो।
‘काम गरिरहेको शरिरले काम खोज्दोरहेछ,’ आचार्यले सेतोपाटीसँग भने, ‘तर, त्यो बीचमा कँही जाने माहोल भएन । सोच्दा सोच्दा डिप्रेसनको शिकार भइन्छ कि? भन्ने चिन्ता लाग्न थाल्यो।’ अत्यासलाग्दो लकडाउनले आचार्यलाई नराम्रोसँग बिथोलिदियो। त्यो बीचमा उनले जतिसक्यो आफूलाई कसरी व्यस्त राख्ने भनेर सोचिरहे।
अब यसरी बसेर मात्रै भएन। आफ्नै गाउँ, घरमै केही गर्नुपर्छ भन्ने सोच बनाए। घर परिवार र साथीभाइसँग सरसल्लाह गरे। कसैको करकापले होइन, आफूखुसी केही गर्ने सोच बनाए।
आफूलाई व्यस्त राख्ने उपाएको खोजी गर्दै जाँदा उनले लोकल कुखुरा पाल्ने योजना बनाए। ‘राम्रै भएछ भने बेचौंला। नभएर पाहुना आउँदा किनेर ल्याउनु त पर्दैन भन्ने सोच बन्यो,’ आचार्यले भने, ‘घरमै आफूले उत्पादन गरेको ख्वाउन पाउँदा अझैं राम्रो होला र त्यो पनि नभए घरमा खान त होला भनेर मैले कुखुरा पाल्न थालेको हुँ।’
असारमा लकडाउन केही खुकुलो भएको मौका पारेर घोराहीस्थित घरेलु कार्यालयमा गएर ‘आचार्य बहुउद्देश्य कृषि फार्म’ दर्ता गरे। तुलसीपुरस्थित कर कार्यालयबाट प्यान नम्मर लिए।
त्यो बिचमा आफूलाई व्यस्त राख्न उनले खेती गरे। खेतबारीमा धान, मकै लगाए। ‘काम गर्दा हात खुट्टा दुखे पनि मलाई सन्तुष्टि मिल्यो’, फरूवा खन्दा हातमा उठेर फूटेका ठेलाका खत देखाउँदै भने, ‘मलाई जीवनमा त्यसरी पसिना आएको अनुभव नै थिएन। मैले खेतबारीमा काम गर्दा पसिनाले शरीरनै नुहाउँथ्यो।’
काम गर्न थालेपछि उनको पुट्ट भूँडी पनि घट्यो ७ केजीसम्म तौल घटाए।
काठमाडौंमा गीत संगीतको काम गर्दा कोठामा बसेर कम्प्युटरमा काम गर्नुपरेको र कतै जाँदा मोटरसाईकलमा जाने भएकाले आफ्नो शरीर निकै बिग्रिएको अनुभव गर्न पाए ।
आचार्यले त्यसरी खेतबारीमा काम गरेको देख्दा कतिपयले खिसी टिउरी गरे। यत्रो नाम चलेको गायक, संगीतकार भएर खेतमा काम गर्न लाज मान्दैन भन्नसम्म भ्याए। कतिले त लकडाउनमा काम नपाएर आचार्य खेतमा आइपुगे भनेरसमेत गिज्याए। मान्छे फुर्सदिलो भए पनि खेतिपातिमा आफूलाई तल्लिन बनाएर व्यस्त भइरहेको भन्दै कतिले ढाडस दिए।
‘गाउँलेले आफूलाई अप्ठेरो परेपछि मात्रै गाउँ फर्केको भनेर टिप्पणी गरेको सुन्दा नमज्जा लाग्थ्यो,’ उनले भने, ‘तर, मैले गाउँ त छोडेको थिइनँ। गीत संगीतको कामले फुर्सद नपाएर मात्रै अस्थायी रूपमा काठमाडौं बसेको हो नि भनेर आफैंलाई सम्हाल्थेँ।’
उनको त्यो मेहनतले आज घरका भकारी धानले भरिएका छन्। मकै पनि राम्रो भएको छ। हाल बारीको तोरी भित्र्याउने अवस्थामा छ। यो बीचमा उनले झन्डै एक बिगाहा जति खेतमा गहुँ रोपेका छन्।
‘ट्याक्टरले खेत जोताउँछु र ट्याक्टर नपुग्ने छेउ कुनामा म आफैं फरूवाले खन्छु,’ आचार्यले भने, ‘काम गरे तनाव हुँदैन। खेतबारी पनि बाँझो रहँदैन।’
आचार्यका ८३ बर्षीय बुवा तेजबहादुर आचार्य, ७७ बर्षीय आमा भद्रा आचार्य एकलीस्थित गाउँकै घरमा बस्छन्।
दाजु सन्तोस आचार्य नेपाल प्रहरीका जागिरे हुन्।
आचार्यको घर तुलसीपुरमा पनि छ । तर, त्यहाँ गएर बस्न उनका बुवा आमा मान्दैनन्। ‘त्यहाँ विद्यालय पढ्ने केटाकेटी र भाउजु बस्नुहुन्छ,’ आचार्यले भने, ‘आमा बुवालाई काठमाडौं बसौंभन्दा पनि मान्नु हुन्न।’
पशुपति दर्शन र अन्य मन्दिर हेर्नका लागि मात्रै बुवा आमा कहिले काहीँ काठमाडौं जाने गरे पनि बस्न मन नपराउने गरेको आचार्यले बताए। त्यसैले उनी बाबु आमासँगै गाउँमा बस्ने निधो गरे।
लकडाउनमा थुनिएर गाउँमै बस्दा पनि उनने गीत संगीतको यात्रालाई ब्रेक लगाएनन्।
दुःख पर्दा काम लाग्ने रहेछ आफ्नै ठाउँ
आउ सबै मिलौं आफ्नै गाउँ बनाउँ
आफ्नै ठाउँ बनाउँ
बाँझो नराखौं खेतबारी
पेट भर्ने अन्न फलाउँ ...
आउ सबै मिलौं आफ्नै देश बनाउँ...
आचार्यका अनुसार यो गीत लकडाउनले सृजना गराएको हो । शब्द, स्वर, संगीत सबै आचार्यकै हो। भिडियो सबै आफ्नै गाउँ घरको छ।
कोरोना महामारीमा थुनिएका र विदेश भएका केहीबाहेक लकडाउनको समयमा प्राय सबै मानिस आफ्नो पुर्खेउली गाउँ ठाउँमा फर्किए । ‘दुःख पर्दा आफ्नै गाउँ ठाउँ नै चाहिने रहेछ भने हामीले गाउँलाई किन माया नगर्ने त भनेर यो गीत तयार पारेको हुँ,’ आचार्यले भने, ‘यो ठाउँ बुवाले बनाउनु भएको थियो र पो म यहाँ आएर आश्रय लिन पाएँ भन्ने फिल भयो।’
अब उनलाई वृद्ध भएका बुवा आमालाई समय दिने सोचमा छन्। ‘बृद्ध भइसकेपछि उहाँहरुले पनि हाम्रो साथ चाहिएको छ। कम्तिमा मैले कुखुरा पाल्न थालेपछि अति जरूरी काम पर्दा बाहिर गए पनि छिट्टै घर फर्किनुपर्छ। त्यसले मैले बुवा आमालाई पनि रेखदेख गर्न पाउछु।’
त्यसका साथै बुवा आमाले समेत फुर्सदको समयमा कुखुराको रेखदेख गरेर खुसी हुन थालेको उनले बताए।
‘दानाको व्यवस्थापन गरेपछि म पनि चारो हाल्ने र पानी दिने यति काम त आफैं गर्न सक्छु भन्नुहुन्छ बुवा आमाले,’ आचार्यले भने, ‘कुखुराका चल्ला स्याहार गर्दा खेल्न पाउँदा उहाँहरू पनि खुसी हुनुहुन्छ।’
करिब ५ लाख खर्चेर बनाएको संरचनामा अढाई सय लोकल कुखुरा र ५० वटा जति हाँस पालेका छन्। एउटा चल्लालाई ७५ देखि ८० रूपैंयासम्म तिरेर उनले चितवनबाट मगाए। केही चल्ला गाउँबाटै खरिद गरे। जोडीका ५ सय तिरेर गाउँ घरबाटै हाँस खरिद गरे। अब माछा पोखरी बनाउने उनको योजना छ।
उनले अब दाङमै रेकर्डिङ स्टूडियो खोल्ने योजना बनाएका छन्। ‘अब त दाङ पनि प्रदेश राजधानी भइसक्यो र भविश्यमा नयाँ पुस्ताका लागिसमेत एउटा गतिलो रेकर्डिङ स्टूडियो बनाउन सके गीत संगीत रेकर्ड गर्नकै लागि आफूहरूले जस्तै बाहिर जानुपर्ने थिएन कि भन्न लाग्छ,’ उनले भने।
लकडाउनको समयमा उनले दर्जन जति गीतमा काम गरे। बढी तीज गीतहरुमा काम गरे । देउसी भैलोको गीतमा पनि काम गरे। यहीँ बिचमा उनले एउटा गीत तयार पारेका छन्। यद्यपी रेकर्ड हुन बाँकी छ। अब काठमाडौं गएपछि पहिलो काम त्यहीँ गीत रेकर्ड गराउने योजना आचार्यको छ।
के भो मेरो देश लौन जताततै छलछाम हुन्छ
कस्तो आयो जमाना पहिले नगदनारायण हजुर
अनि मात्रै काम हुन्छ
भ्रष्टाचारी, बलात्कारी खुलेयाम हिँडेका छन्
जेल जाँदा सोझा अनि निर्दोषको पो नाम हुन्छ
कस्तो आयो जमाना पहिले नगदनारायण हजुर
अनि मात्रै काम हुन्छ ...
देशको विद्यमान विकृति विसंगती विरूद्ध उनले यो आफैंले लेखेको गीत हो ।
गोविन्द र उनका दाजु सन्तोष गाउँघरमै लोकदोहोरी गीत गाउँदा गाउँदै गायक बनेका हुन्। विद्यालयमा गीत गाउँदा गुरू र साथीभाइले हौसला दिन्थे।
लाइभ दोहोरी पनि गाउन सिपालु उनीहरू गाउँघरका धार्मिक कार्यक्रम र पर्वमा अनिवार्य निम्त्याइन्थे। २०५७ सालदेखि उनी लाइभ दोहरीमा जमिसकेका थिए । शान्ति प्रक्रियापछि २०६४ सालतिर दाङको प्रतिनिधित्व गरेर गोविन्दकै नेतृत्वमा गएको टोलीले काठमाडौंबाट पहिलो पुरस्कार जितेको थियो ।
उनको रेकर्ड भएको पहिलो गीत पनि लोकदोहोरी नै हो। २०५८ सालतिर सिन्धु मल्ल, दाजु सन्तोष र गोविन्दको स्वर छ ।
खोज्या रैछउ म सँग तर्कन
दुई वर्ष नि सकिनै पर्खन
बाचा तोड्यौ नि
कसम तोड्यौ नि
निष्ठुरी मायालु
अहिले चिन्नै छोड्यौ नि ...
सयौं गीतमा स्वर, संगीत भरेका आचार्य पछिल्लो समय भने आधुनिक गीतका लागि पनि त्यतिकै लोकप्रिय छन्।
पछिल्लो समय उनले सिनेमाको ब्याकग्राउन्ड म्यूजिकमासमेत काम गरिहरेका छन्।
हात खुट्टा चल्दासम्म गीत संगीत नछोड्ने भन्ने आचार्य अब व्यवसायलाई पनि सँगै लैजाने योजनामा छन्।
‘म सानैदेखि गाउँ घरमै हुर्किएँ। जहाँ मैले खेतिपाति मात्रै देखेँ। त्यसैले मलाई कृषि कर्म मनपर्छ र म अब गीत संगीतका साथसाथै आफुलाई कृषिमा पनि सर्मपित गर्न चाहन्छु,’ उनले सेतोपाटीसँग भने।
कसले के भन्छन् त्यसमा आफूलाई कुनै मतलव नहुने भन्दै आफ्नो कर्ममा विश्वास गर्ने बताए। ‘म आफूलाई के काम गर्दा आनन्द आउँछ त्योबारे मात्रै सोच्छु,’ उनले हाँस्दै भने, ‘अरूले राम्रो भने पनि ठिकै छ, नराम्रो भने पनि ठिकै छ।’
आफूले गरेको कुनै पनि काम सफल पार्नुपर्छ भन्ने सोच राख्ने गर्छन। ‘खुबै गर्न खोज्याथ्यो, तर गर्न सकेन भनेर अरूलाई कुरा काट्ने मौका किन दिने भन्ने लाग्छ,’ उनले भने, ‘कोसिश चाँही राम्रै परेको थियो, भन्ने आफूलाई फिल होस भनेर म मध्य रात पनि कुखुराको चल्लालाई ध्यानपूर्वक स्याहार सुसार गरिरहेको हुन्छु।’
कसैको करकापले भन्दा पनि आफूले मनैदेखि गरेको काममा मध्यरातमा समेत ध्यान दिन पाउँदा बेग्लै सन्तुष्टि मिल्ने उनले बताए ।
‘खाली बस्दा अनेक कुरा सोचिन्छ। मैले यति गर्दा लाइफ व्यवस्थित गर्न सकेको छु,’ आचार्यले भने, ‘कमसेकम बुवा आमासँगै बस्न पाएको छु र उहाँहरू विरामी हुँदा आफैं अस्पताल लैजान पाएको छु। यसमै खुसी छु।’
उनी भविश्यमा गीत संगीतलाई रूचीका रूपमा र कृषि कर्मलाई व्यवसायका रुपमा अगाडि बढाउने योजनामा छन्।