चीनको राजधानी बेइजिङमा सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ जना ड्याक्सिङ जिल्लाका छन्।
१० लाख ७० हजार जनसंख्या रहेको ड्याक्सिङमा कोरोना संक्रमण देखिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
जिल्लाभरका मानिसको स्वास्थ्य परीक्षण, प्रान्त छाड्न निषेध र विद्यालय तथा नर्सिङ होम्सहरू बन्द गरिएको ग्लोबल टाइम्सले जनाएको छ।
टाइम्सका अनुसार कम्तिमा पाँच आवासीय समुदायमा लकडाउन गरिएको छ। एक समुदायलाई मध्यम जोखिम क्षेत्र मानिएको छ। सरकारले स्थानीयहरूलाई बुधबारदेखि होम क्वारेन्टिनमा बस्न भनेको छ।
त्यस क्षेत्रका सार्वजनिक स्थानहरू बन्द गर्न सरकारले निर्देशन दिएको छ। कम जोखिम क्षेत्रमा पसल तथा मनोरन्जन स्थलहरूमा कडा मापदण्ड अपनाउन निर्देशन दिएको छ। तापक्रम मापन, भेन्टिलेसन, डिसइन्फेक्सन अनिवार्य गरिएको छ। ती ठाउँ अरू दिनभन्दा आधामात्रै ग्राहकलाई प्रवेश दिइएको छ।
रेल तथा बसहरूको यात्रु राख्ने क्षमता ७५ प्रतिशतमा सीमित गर्न भनिएको छ भने मेट्रो स्टेसन बन्द नै रहने अधिकारीहरूले बताएका छन्।
सरकारले गत डिसेम्बर १० यता बेइजिङ प्रवेश गरेकाहरूलाई परीक्षण गर्न आग्रह गरेको छ। ड्याक्सिङमा २ सय दिनपछि सोमबार दुई स्थानीयमा संक्रमण देखिएको थियो।