यातायात व्यवसायीसँग घुस लिएको आरोपमा तीन प्रहरीलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मंगलबार राति ९ : ०० बजे पुल्चोकबाट पक्राउ गरेको हो।
कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशबहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई घुस दिएको आरोपमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरूङले जानकारी दिए।
उनीहरूको साथबाट घुसबापत लिएको दुई हजार १५० रुपैयाँ समेत बरामद गरिएको छ।
उनले भने, ‘पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया सुरू गरिएको छ।’
गुरुङका अनुसार उनीहरूले पैसा संकलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए। उनलाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की छन्।
यस्तै, केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको आरोपमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उनले बताए।
पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकसँग रकम लिएको उनले बताए। रासस