काठमाडौं कपनका नवीन क्षेत्री जेल परेको ११ वर्ष भयो। विभिन्न जेल हुँदै उनी अहिले दाङको तुलसीपुर कारागार पुगेका छन्।
तीन सालअघि तुलसीपुर ल्याइएका क्षेत्रीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अदालते १३ वर्ष जेल सजाए तोकेको छ।
दुई वर्षपहिले कारागार शाखाले एक महिना फर्निचर बनाउने तालिम दियो। त्यो सिपमूलक तालिम नवीनले पनि लिए। आज उनी कारागारभित्र फर्निचर बनाउने हेड मिस्त्री बन्न सफल भएका छन्। त्यो जिम्मेवारी उनलाई कारागार प्रशासनले दिएको हो।
कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सुर्खेतका डम्मर सुनार र जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका दाङकै राजकुमार विक कारगारभित्रै मिस्त्रीको काम गर्छन्। उनीहरू तीन जना सँगै मिलेर फर्निचर बनाउँछन्।
उनीहरू विस्तारै दक्ष बन्दै गएका छन्। बन्दी जीवनको सदुपयोग भएपछि त्यसबाट आयआर्जन समेत गर्न थालेका छन्।
कारागारभित्र आफ्नो खर्च पनि टरेको र आवश्यक पर्दा घरमा खर्चसमेत पठाउने गरेको नवीनले बताए।
उनीहरू दराज, टेबल, कुर्सी, सोफासेट, बक्स पलङ, लोबेड बनाउँदै आएका छन्। काठको गुणस्तर, प्लाइको साइज र साज सज्जाअनुसार मूल्य पनि फरक–फरक हुन्छ। उनीहरूले बनाएको लोबेडको मूल्य ८-९ हजारदेखि १५ हजारसम्ममा बिक्री हुन्छ।
बक्स पलङ २५ हजारदेखि ४५ हजारसम्म बिक्री गर्छन्। आफूहरूले बनाएको थ्री पिस दराजको मूल्य ४०-४५ हजारदेखि ७०-७५ हजारसम्म पर्ने नवीनले बताए।
फर्निचर बनाउन आवश्यक काठ कैदी बन्दीहरूले जेलका चौकीदारलाई भनेर बाहिरबाट माग्ने गर्छन्। जेलभित्र सामान पुर्याउन एउटा सिस्टमको विकास गरिएको छ। कारागार शाखा, सुरक्षाकर्मी सबैको समन्वयमा आवश्यक सामान भित्र आइपुग्छ।
तर, बजार व्यवस्थापन राम्रोसँग हुन सकेको छैन।
‘हामी जति पनि सामान उत्पदान गर्न सक्छौं,’ नवीनले भने, ‘तर, हाम्रो बजार व्यवस्थापन राम्रो छैन।’
उनका अनुसार कारागारभित्रैका कर्मचारी र थाहा पाएका आसपासका मानिसले अर्डर गरेपछि उनीहरू
सामान तयार पार्छन्।
बाहिरको भन्दा सस्तोमा सामान दिन्छन्। ‘बाहिरभन्दा धेरै सस्तोमा हामी सामान बेच्छौं,’ नवीनले भने, ‘बाहिर १५ हजार पर्ने सामान हामी १० हजारमै दिन्छौं।’
दुई वर्षको अवधिमा लगभग चार लाखजतिको फर्निचर तयार गरी बिक्री गरिसकेको नवीनले बताए।
नवीन अझै साढे दुई वर्षजति जेलभित्रै बस्नुपर्ने छ। बाहिर निस्केपछि पनि अब उनले त्यहाँ सिकेको सिपलाई अंगाल्ने सोच बनाएका छन्।
हरेक मानिसले जाने र वा नजानेर पनि कहिलेकाहीँ गल्ती गर्छ। कसुर अनुसार जोकोहीले सजाय भोग्नु पर्छ।
‘जान-अञ्जानमा जीवनमा गल्ती कमजोरी भयो होला,’ नवीनले भने, ‘अब हामीले भित्र बस्दा पुरानो गलत मानसिकता त्यागिसकेका छौं। सिप सिकेर एउटा असल नागरिक भई बाँचिरहेका छौं।’
उनले आफूले कारागारभित्रै जीवन उपयोगी सिप हासिल गरेको भन्दै अब बाहिर जाने प्रतिक्षा मात्रै बाँकी रहेको बताए। ‘जीवन भनेको एउटा सिकाइ र भोगाइको क्रम नै रहेछ,’ नवीनले भने, ‘भित्र बस्दा धेरै कुरा सिक्ने मौका पाएँ।’
२०६७ साल जेठ ४ गते राति चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण मुद्दामा संलग्न रहेको भन्दै नवीनलाई अदालतले उक्त सजाय तोकेको हो।
भक्तमान श्रेष्ठ अपहरणकारीलाई भारतमा रकम बुझाएर १९ दिनपछि अपहरण मुक्त भएका थिए।
जो नेपालकै एउटा चर्चित अपहरण काण्ड हो। नवीनले गतल साथीहरूको संगत र छिट्टै धेरै पैसा कमाएर धनी बन्ने लालचका कारण आफू त्यतिबेला चिकित्सक अपहरणजस्तो गम्भीर अपराधमा संलग्न भएकोप्रति आज पश्चाताप र आत्मग्लानी भइरहेको बताए। उनले जीवनमा अब भुलेर पनि त्यस्ता गलत काममा नलाग्ने बताए।
प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ का कुलबहादुर गुरुङ पनि तुलसीपुर कारागारभित्रै बन्दी जिवन बिताइरहेका छन्।
संवाददाता कारागारभित्र पुग्दा गुरुङ र उनका साथी गलैंचा बुनिरहेका थिए। गुरुङले यसरी कारगारभित्रै गलैंचा बुन्न थालेको दुई वर्ष बढी भइसकेको छ। कारागार शाखाले दिएको एक महिने तालिमपछि उनी गलैंचा बुन्न सक्ने भएका हुन्। गुरुङका अनुसार उनीहरूले बुनेको गलैंचा काठमाडौं मात्रै हैन, उत्तरी छिमेकी देश चीनमा पनि बिक्री हुने गरेको छ।
एउटा गलैंचा बुन्दा पाँचदेखि आठ हजार रुपैयाँसम्म कमाउने गर्छन्। एउटा गलैंचा तयार पार्न २२ दिनदेखि अलि धेरै बुट्टा भएको र महंगोलाई एक महिनासम्म लाग्ने गुरुङले बताए।
गलैंचाको बुट्टाअनुसार यसको मूल्य निर्धारण हुन्छ। कस्तो बुट्टा बनाउने भनेर उनीहरूलाई नक्सा दिइएको हुन्छ। ‘त्यही नक्सा हेर्दै हामीले गलैंचामा बुट्टा भर्ने गर्छौं,’ गुरुङले भने, ‘जसले गलैंचा बुन्न अर्डर दिन्छन्, उनीहरूले त्यो गलैंचा कस्तो बनाउने भनेर नक्सासहित दिने गर्छन्।’
त्यो अर्डर कहाँबाट आउँछ भन्ने सबै उनलाई थाहा हुन्न। काठमाडौंबाट त्यस्ता अर्डरहरू आउने गर्छ भन्ने उनले सुनेका छन्।
गलैंचा बुनेर कमाएको पैंसाले आफ्नो आवश्यक्ता मात्रै पूरा गर्दैनन्, कहिलेकाहीँ घरमा पनि पठाउँछन्। लकडाउनपूर्व उनले छोराको पढाइ खर्चका लागि ३० हजार रुपैयाँ पठाएको बताए। उनका छोरा बुटवलमा प्लस टु पढिरहेका छन्।
जबरजस्ती करणी गरेको कसुरमा उनी सजाय भुक्तानका लागि जेल परेको तीन वर्ष चार महिना भयो। अझै उनले दुई वर्ष आठ महिना सजाय भुक्तान गर्न बाँकी छ। त्यो सजाय भुक्तान गरेर बाहिर निस्किएपछि यही गलैंचा बुन्ने कामलाई व्यवसायका रुपमा अपनाउने उनले बताए।
‘समयलाई कसैले पनि खेर फाल्न हुने रहेनछ,’ गुरुङले भने, ‘कुनै पनि सिप सिकेपछि जीवनमा काम लाग्ने रहेछ भन्ने ठूलो ज्ञान मिल्यो।’
गुरुङको दाबी अनुसार ससुराली पक्षले यो मुद्दामा भूमिका खेले।
‘मैले दिदी बिहे गरेको थिएँ, उनी बाहुनकी छोरी हुन्,’ गुरुङले भने, ‘अन्तरजातीय बिहे भयो भनेर माइतीले सालीलाई बलात्कार गर्यो भनेर फसाए।’
पुर्ख्यौली घर रोल्पा र हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ का शक्तिराम वली ढाकाटोपी बुन्दैछन्। ३२ वर्षीय वली लागुऔषध मुद्दामा जेल परेको तीन वर्ष पुग्नै लागेको छ। उनले अझै १२ वर्ष सजाय भुक्तान गर्न बाँकी छ।
६-७ महिनाअगाडि उनले ढाकाटोपी बुन्ने तालिम कारागारभित्रै लिएका थिए। त्यो तालिम सिक्ने अवसर पनि कारागार शाखाले नै मिलाइदिएको उनले बताए।
१५-२० दिन सिकेपछि वली आफैं टोपी बुन्न सक्ने भए। वलीका अनुसार राम्रो नेपाली ढाकाटोपी बनाउन पाँच-छ दिन लाग्छ। सजिलो बुट्टा भएमा दुई-तीन दिनमा पनि टोपी तयार हुने उनले बताए। एउटा टोपी तीन सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए। टोपीको बुट्टा र डिजाइनका आधारमा मूल्य निर्धारण हुने उनले बताए।
कारागारभित्र वलीसँगै टोपी बुन्नेहरू चार जना छन्। चार जनाले एक महिनामा ७० देखि ८० वटासम्म टोपी तयार पार्ने गरेको वलीले बताए।
बिक्री भएको महिनामा चार जनाले संयक्त रुपमा ३०-३५ हजारसम्मको टोपी बिक्री गर्ने गरेको उनले बताए। तर, त्यो सधैं एकानाश हुँदैन। किनकि, उनीहरूको बाहिरीमा खासै सम्पर्क छैन।
‘हाम्रो सोझै बाहिरका व्यापारीसँग सम्पर्क छैन, त्यसैले व्यापार उति हुँदैन,’ वलीले भने, ‘कारागारका चौकीदारको सम्पर्कले अलिअलि भए पनि टोपी बिक्री गरेर आफ्ना रुची र आवश्यक्ता पूरा गर्न पाएका छौं।’
गलैंचा बनाउनेलाई जस्तो टोपी बनाउनेहरूलाई कुनै पनि बुट्टाको नक्सा वा चित्र दिइँदैन। आफ्नो दक्षता र क्षमता अनुसार बुन्ने गर्ने गरेको वलीले बताए।
घरमा छोरी, श्रीमती, बुवा–आमा सबैसँग उनी नियमित सम्पर्कमा छन्। कारागारभित्रै सिप सिकेर टोपी बनाउन सक्ने भएकोमा घर परिवारले पनि ढाडस दिने गरेको वलीले बताए।
वली रोल्पाका छँदा बाल क्लबको अध्यक्ष थिए। आफैं प्रहरीका डिएसपीसँग गएर गाँजा खेती फडाँनी गर्थे। पछि उनी आफैं लागुऔषध मुद्दामा परे।
भन्छन्, ‘मैले त कहिल्यै लागुऔषधको कारोबार गरिनँ। मेरा साथीहरूले गर्दा रहेछन्। मलाई थाहा पनि थिएन। उनीहरूकै संगतले म अनाहकमा सजाय भोगिरहेको छु।’
वली तीन वर्ष दुबई बसेर एक वर्ष अघिमात्रै घर फर्किएका थिए। रोल्पाबाट बसाइँ सरेर घोराहीमा पसल गर्ने तयारी गरिरहेको समयमा आफू संगतका कारण फसेको उनले दाबी गरे।
तुलसीपुर कारागारको छुट्टै ब्लकमा महिला बन्दीहरू राखिएका छन्। अधवैंशे विन्दु राना स्वीटर बुनिरहेकी थिइन्। रानाले कारागारकै महिला दिदीबहिनीबाट यो सिप सिकेको बताइन्। यहाँ आउनुभन्दा पहिला रानाले पहिला यी केही बुन्न जान्दिनन् थिइन्। भित्र आएपछि नै स्वीटर, रुमाल, मोजा बुन्न सिकेको उनले बताइन्।
कुरुसको सहायताले आफूले हातैले बुनेका ती कपडा उनले बिक्री गर्दै आएको बताइन्। कारागारभित्र राम्रो सामान सस्तोमा पाइन्छ भनेर थाहा पाएका मानिसहरू खोज्दै आउने गरेको रानाले बताइन्।
‘समयको सदुपयोग त हुन्छ नै, दुई चार पैसा कमाइ हुन्छ,’ रानाले भनिन्, ‘मैले घर परिवारका लागि पनि स्वीटर बनुेर पठाउने गरेकी छु।’
देवर, जेठाजू, आफ्ना दाजुभाइ, दिदीबहिनी, आमा-बुवालाई समेत उनले स्वीटर बुनेर पठाउँदै आएकी छिन्। रानाले आफ्ना तीन छोराछोरी रहेको बताइन्।
उनको घर दाङको सैघामा हो। कर्तव्य ज्यान मुद्दामा विगत १०वबर्षदेखि उनले सजाय भोगिरहेकी छन्। आफ्नै श्रीमानको हत्या कसुरमा उनले सजाय भोगिरहेकी छिन्। उनले आफ्नै हातबाट पतिको हत्या भएको सहजै स्वीकार गरिन्।
‘मदिरा पिएर खुबै यातना दिन्थे म पनि आवेशमा आएर दाउरोले हिर्काउँदा श्रीमानको मृत्यु हुन गएको हो,’ उनले भनिन्, ‘मार्ने मेरो उदेश्य थिएन, आवेशमा गल्ती भयो।’
विगतमा जे जस्तो भए पनि अब आफ्ना सन्तान, घरपरिवार र समाजका लागि असल नागरिक बनेर देखाउने उनले अठोट गरिन्। ‘म बाहिर निस्किएपछि अब त यहाँ सिकेको सिप अनुसार बुनतुन गरेर पनि जीविको गर्न सक्छुजस्तो लाग्छ,’ उनले भनिन्, ‘छोराछोरीलाई धेरै पढाउने र असल नागरिक बनाउने चाहना छ।’
चालचलन हेरेर छिट्टै उनलाई बाँकी कैद मिनाहा गर्ने तयारीमा गृहप्रशासनले तयारी गरेको एक कर्मचारीले जानकारी दिए।
तुलसीपुर कारागारभित्र २० जनाले मुढा, ४२ जनाले गलैंचा, ९ जनाले टोपी, ३ जनाले फर्निचर लगायतका सामान निर्माण गर्दै आएको चौकीदार सुनिल चौधरीले बताए।
कारागारभित्रै टेलरिङको काम गर्ने कालिगढ पनि रहेको चौधरीले बताए। केही समय पहिले मात्रै प्राप्त वेल्डिङको तालिमबाट कैदी बन्दीहरूले कारागार शाखाभित्रै गोल पार्क निर्माण गरेका छन्। त्यस्तै, अन्य केही टहरा पनि आफैंले सिकेको सिपबाट तयार पारेका छन्।
कारागार हाताभित्र हरियो तरकारी र सागसब्जी पनि तयारी अवस्थामा थियो। काउली, प्याज, लसुन, धनियाँ, आलु, मुला फलेका छन्। सबै कैदी बन्दीहरूको मेहनतले भएको हो।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँका माधव घिमिरेले कारागारको गेटभित्र नजिकै पर्खालमा सुन्दर चित्र देखाए। त्यो चित्र कैदी जीवनको चित्रण गर्ने भावमा कोरिएको थियो। जहाँ आँखाबाट आँशु बगिरहेर ताल बनेको देखिन्थ्यो। अग्लो पहाड, जन्जिर, पुतली, चरा, प्रकृति र उदाउँदै गरेको बिहानी।
‘यो चित्रले हाम्रो बन्दी जीवनको समग्र आयामहरूलाई प्रस्तुत गर्छ,’ उनले भने, ‘यसले हामी जेलभित्र परिसकेपछि हामीभित्र रहेका भावना र समवेदनाहरू यो चित्रमा उतार्न खोजेको छु।’
उनले चित्रको व्याख्या पनि भावनात्मक रुपमा गरे। ‘‘हामी घर परिवार सम्झन्छौं र हाम्रो आँखाबाट आँशु निस्कन्छ। अनि फेरि सोच्छौं, हाम्रो भविस्य,’ उनले भने, ‘कृष्ण भगवान पनि कारागारमै जन्मनु भएको थियो। त्यसले गर्दाखेरी हाम्रो भविष्य पनि उज्जल छ भन्ने सोच्छौं। कल्पना गर्दै बाँचेका र्छौं।’
घिमिरे ११ वर्षदेखि कर्व्यत ज्यानमुद्दामा सजाय भोगिरहेका छन्। उनले किताब पनि लेखिसकेको बताए। ‘पर्खालभित्रबाट आमालाई चिठ्ठी’, ‘आशा’ उपन्यास र ‘गुनासो’ कविता संग्रह उनका प्रकाशित छन्।
उनले परिबन्धका कारण आफूले गर्दै नगरेको अपराधको सजाए कारागारभित्र भोगिरहेको दाबी गरे। कानुनी ज्ञानको कमी र राजनीतिको सिकार आफू भएको उनले जिकिर गरे।
घिमिरले आफूलाई निरन्तर अध्ययन र लेखेनमा क्रियाशिल बनाउँदै आएको जानकारी दिए। उनले हाल म्याक्सिम गोर्कीको ‘आमा’ नामक उपन्यास पढिरहेको जानकारी दिए।
कारागार शाखाका चौकीदार तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका सुनिल चौधरीका अनुसार तुलसीपुर कारागार शाखा (सुधार गृह) मा हाल दुई वटा ब्लकमा गरी ४ सय ७६ जना कैदीबन्दी छन्।
चौधरीले नयाँ ब्लकमा २ सय ९४ जना पुरुष र पुरानो ब्लकमा पुरुष १ सय ६० र महिला २६ जना महिला छन्। ती महिलासँगै चार जना आश्रित बालबालिका पनि छन्। बालबालिकाबाहेक १८ वर्षदेखि ८४ वर्षसम्मका मानिसहरूले तुलसीपुर कारागारमा सजाय भोगिरहेका छन्।
कर्तव्य ज्यानमुद्दामा २० वर्ष सजाय तोकिएका चौधरीले ९ वर्ष सजाय भुक्तान गरिसकेको बताए। उनले आफ्नो चालचलन र व्यवहार हेरेर राज्यले आफ्नो बाँकी कैद मिनाहा गरिदिन्छ कि भन्ने आशा व्यक्त गरे।
उनले पनि आफूलाई राजनीतिक रुपमा फसाइएको र घटनामा आफू संलग्न नभएको जिकिर गरे।
उनले श्रम गर्न सक्ने युवालाई राज्यले श्रममा लगाउन नसकेको गुनासो गरे। ‘चीनमा हाइड्रोपावर निर्माण र विकास निर्माणका काममा कैदीलाई श्रम गर्न लगाइन्छ,’ उनले भने, ‘त्यसैगरी नेपाल सरकारले पनि उत्पादन र विकासका काममा हामीलाई श्रम कैद गरेको भए हामी आभारी हुने थियौं।’