गत कात्तिकको कुरा हो। जाजरकोटको छेडागाड नगरपालिका- ४ दशेरा जेवा गाउँकी २० वर्षीया कमला बुढा क्षेत्री घाम तापेर आँगनमा बसिरहेकी थिइन्।
घरको भित्तामा झुन्ड्याइको रेडियो बजिरहेको थियो। यत्तिकैमा नेपालगञ्जको कृष्णसार एफएमले मध्यान्ह १२ बजेको टाइम चेक बजायो।
लगत्तै विज्ञापन बजायो। समाचार अगाडि प्राय: सबै रेडियोले त्यसै गर्छन्। त्यो दिन कमलाले अलि फरक विज्ञापन सुनिन्। विज्ञापनमा जेसिभी चलाउने अप्रेटर (चालक) को तालिमका लागि आवेदन माग गरिएको थियो।
कमलालाई एकाएक बिजुली चम्केजस्तै भयो।
अल्छी मानेर घाम तापिरहेकी उनले काना ठाडा पारिन्। जेसिभी चलाउने अप्रेटरको तालिमका लागि आवदेन माग्ने संस्था सिटिजन प्राविधिक शिक्षालय थियो। रेडियोले त्यहाँको फोन नम्बर भन्यो। उनले हतार-हतार नम्बर टिपिन्।
त्यही दिन कमलाले बुवा बिरसिंह र आमा बिरमीसँग भनिन्- म जेसिभी चलाउने तालिम लिन नेपालगञ्ज जान्छु।
दिदीले जेसिभी चलाउन सिक्छु भनेको सुनेर ८ कक्षामा पढ्ने उनकी बहिनी निर्मला छक्क परिन्। कमलाका दाजु भाइ छैनन्।
बुवाआमा भने छक्क परेनन्। बरू ढाडस दिए: ठिकै छ जाऊ, सक्छौ भने गर।
बुवाआमाले हुन्छ भनेपछि उनले टिपेको नम्बरमा फोन गरिन्। आवेदन माग गर्ने संस्थाले पनि कमलालाई हौसला थपिदियो। उनलाई ५० प्रतिशत छुटमै तालिम दिने बतायो।
कमजोर आर्थिक अवस्थाका कारण कमलाले एसइईपछि पढ्ने रहर मारेर बसेकी थिइन्। घरमै बसे कलेज जान दुई घन्टा हिँड्नु पर्थ्यो, उतै गएर बस्न गरिबीले दिँदैनथ्यो।
कमलाको मनमा केही गरेर देखाउने हुटहुटी भने चलिरहेको थियो। एक महिनाअगाडि उनले सुर्खेतमा गएर सिलाइ-कटाइ तालिम सिकेकी थिइन्। त्यसै बस्नुभन्दा सीप सिकिहालौं भनेर तालिम लिइन्। कुर्ता सलवार सिलाउन सक्ने सीपले कमलामा आँट र विश्वास भने थपिदियो।
अरूको पसलमा गएर ज्यालादारी काम गर्ने कि, के गर्ने भनेर कमला अलमलमै थिइन्।
आफैं पसल खोल्न मेसिन किन्ने पैसा थिएन। त्यहीबेला जेसिभी सिक्न ५० प्रतिशत छुट पाउने अवसर आयो। उनले सिलाइ कटाइ होइन, जेसिभी रोजिन्।
२०७४ सालमा एसइई पास गरेकी कमला सर्टिफिकेट र नागरिकता बोकेर एक्लै नेपालगञ्ज झरिन्। पुसमा नेपालगञ्जस्थित अपरेटर तालिम केन्द्र पुगिन्, भर्ना भइन्। शिक्षालयको होस्टेलमै बसिन्।
एक महिने अपरेटर तालिमका लागि पुरुषलाई ३१ हजार शूल्क लाग्छ। ५० हजार छुट पाएकी कमलाले १६ हजार तिरे पुग्ने भयो। शिक्षालयमा अपरेटर तालिम लिने कमला एक्ली युवती हुन्। उनीसँगै १६ जनाले तालिम लिइरहेका छन्।
एक महिने कोर्स उनले मेहनतका साथ पूरा गरिन्। उनी शनिबार पनि काममा खटिन्थिन्। अहिले कमला जेसिभी चलाउने सक्ने भएकी छन्। उनले यो बीचमा एक्लै पनि धेरै ठाउँमा काम गरिसकिन्।
‘अब म तराई क्षेत्रमा मज्जाले जेसिभी अपरेटिङको काम गर्न सक्छु,’ कमलाले सेतोपाटीसँग भनिन्, ‘पहाडी क्षेत्रमा पनि नसक्ने होइन। तराईमै अभ्यास गरेकाले यहाँ सजिलै काम गर्न सक्छु।’
कमलालाई कसैले जेसिभी अपरेटर बन्न सल्लाह वा प्रोत्साहान भने गरेको होइन।
‘यो मेरो आफ्नै सोच हो। गरिबी र बेरोजगारीमा पिल्सिएका हामी जस्ताले केही हिम्मत गर्नु नै पर्छ भन्ने लाग्यो। जाजरकोटबाट एक्लै नेपालगञ्ज आएर तालिम लिए,’ कमलाले भनिन्।
आफूले कतै पनि महिलाले जेसिभी चलाउनु हुन्न भन्ने नदेखेको हुँदा जेसिभी चलाउन सिकेको उनले बताइन्।
‘छोरी मान्छेले जेसिभी चलाउनु हुन्न र? छोरी मान्छे पाइलट बनेर जहाज उडाउन सक्छन् भने किन जेसिभी चलाउन सक्दैनन्?’उले भनिन्।
अब कमलालाई पहाडी क्षेत्रमा जानु परे पनि कामका लागि जान्छु भन्ने लागेको छ।
‘म अब आरामले अपरेटिङ गर्न सक्छु भन्ने लाग्छ,’ उनले भनिन्, ‘मलाई विश्वास गरियोस्। चालकमा विश्वास नलागे म हेल्पर भएर पनि काम गर्न तयार छु।’
अब लोकसेवा पास गरेर भए पनि अपरेटर बन्ने उनको योजना छ। सुर्खेतमा अपरेटरका लागि आवेदन माग भएको कुरा सुनेकी कमला थप हौसिएकी छन्। जेसिभी चलाउने लाइसेन्स लिन २१ वर्ष पुग्नुपर्छ। त्यसका लागि भने उनले केही समय कुर्नु पर्नेछ।
‘मैले जेसिभी चलाउन सक्छु भन्ने थाहा पाएर अहिले बुवा आमा दंग पर्नु हुन्छ। बैनी त झन् छक्क पर्छे,’ कमलाले भनिन् ‘उहाँहरूले मैले जेसिभी चलाएको आफ्नै आँखाले देख्नुभयो भने झन कति खुसी हुनुहुन्छ होला।’
अहिले पनि उनका साथीसंगी त्यति गाह्रो काम पनि तिमी गर्न सक्छौ र? भनेर सोध्छन्।
‘केको गाह्रो! मैले भारी बोक्नु पर्दैन, बुद्धिले काम गर्ने त हो नि भन्छु,’ कमलाले भनिन्।
आफूजस्तै अन्य महिला तथा किशोरी अप्रेटर बन्न सके त्यसले जेसिभी अप्रेटिङ क्षेत्रमा रहँदै आएको पुरूषको एकलौटी अन्त्य हुने उनको विश्वास छ।
हिम्मतवाली कमला
दाङका हेमराज डाँगी शिक्षालयका जेसिभी चलाउन सिकाउने गुरु हुन्। हालसम्म उनले धेरैलाई जेसिभी चलाउन सिकाएका छन्। महिलालाई जेसिभी चलाउन सिकाएको भने यो उनको पहिलो अनुभव हो।
जेसिभी चलाउन अरूजस्तो थ्योरी पढेरमात्रै हुँदैन। हात समाएरै भए पनि सिकाउनु पर्ने हुन्छ।
‘त्यसरी सिकाउन खोज्दा मलाई पनि सुरूमा अलि अप्ठेरो लागेको थियो,’ डाँगीले भने, ‘पछि मैले अरू केही नसोची गुरु-चेलाको भावनाले सिकाउन सुरू गरेँ। आफ्नै दिदी-बहिनी जस्तै व्यवहार गर्दै सम्झाउँदा सिकाउँदा उहाँले छिट्टै सिक्न थाल्नुभयो।’
कमलाले एउटा हिम्मतवाली भएकाले राम्रोसँग जेसिभी चलाउन सक्ने डाँगीले बताए।
‘तराईमा त उहाँले ढुक्कले अपरेटिङको काम गर्न सक्नुहुन्छ,’ डाँगीले भने, ‘पहाडमा उहाँको अनुभव नभए पनि अवसर पाए त्यहाँ पनि उहाँलाई गाह्रो हुन्छजस्तो लाग्दैन।’
कमलाको रोजगारीका लागि पहल गर्छौं: व्यवस्थापक शर्मा
सिटिजन प्राविधिक शिक्षालयकी व्यवस्थापक कुन्दन शर्माका अनुसार हालसम्म उक्त शिक्षालयले करिब तीन सय जनालाई जेसिभी अपरेटर तालिम दिइसकेको छ।
त्यसमध्ये कमलामात्रै अपरेटिङको तालिम लिने एक्ली युवती हुन्।
‘कमला सेल्फ मोटिभेटेड लेडी हुनुहुन्छ। उहाँलाई कसैले पनि अपरेटिङ तालिम लिन पठाएको होइन। आफैं फोन गरेर एक्लै जाजरकोटबाट तालिम लिन्छु भन्दै आउनु भएको थियो,’ उनले भनिन्।
यस्तो डरलाग्दो फिल्डमा हात हाल्न उच्च साहस चाहिने शर्माले बताइन्।
रेडियोमा विज्ञापन बजाएपछि तीन जना महिला सम्पर्कमा आएको भए पनि अरूले महिला प्रशिक्षक खोजेको तर कमलाले पुरूषसँग पनि सिक्छु भनेको उनले बताइन्।
‘अरू दुई जना सिकाउने पनि केटा, सिक्ने पनि सबै केटामात्रै रहेछन्, केटी नभएको ठाउँमा सिक्दैनौं भनेर आउनुभएन,’ शर्माले भनिन् ‘तर, कमलाले त्यस्तो कुरै गर्नु भएन। उहाँको त्यही साहसले आज उहाँ पश्चिम नेपालको पहिलो अपरेटर बन्न सफल हुनु भएको छ।’
शर्माले शुक्रबारमात्रै कमलाको कोर्स पूरा हुने र प्रमाण पत्र प्रदान गरिने जानकारी दिइन्।
‘सकभर हामी उहाँलाई शिक्षालयमै अप्रेटर प्रशिक्षकका रूपमा राख्न चाहिरहेका छौं। त्यसको लागि छलफल चलिरहेको छ,’ शर्माले भनिन् ‘ त्यो सम्भव नभए हामी उहाँलाई तत्कालै रोजगारी प्रदान गर्न पूर्ण रूपमा पहल गर्नेछौं।’
कमलाजस्ता साहासिक महिला अरू पनि समाजमा थपिँदै गए सामाजिक र व्यवहारिक रूपमै पुरूष र महिलाबीचको विभेद अन्त्य गर्न सहज हुने शर्माको धारणा छ।
‘हामी घरमा छोरी जन्मिनेबित्तिकै पुतली किनेर दिन्छौं र छोरालाई मोटर गाडी किनेर खेलौंना दिन्छौं,’ शर्माले भनिन् ‘ समाजको यो विभेद चिर्न अरू कमलाहरू अगाडि आउन जरूरी छ।’
सबै तस्बिरहरू: सिटिजन प्राविधिक शिक्षालय, बाँके।