चिनियाँ अर्बपति तथा अलिबाबा ग्रुपका संस्थापक ज्याक मालाई एउटा सरकारी मिडियाले उद्यमी मान्न इन्कार गरेको छ।
सांघाई सेक्युरिटिज न्युजको पहिलो पृष्ठमा मंगलबार छापिएको लेखमा चीनका चर्चित उद्यमी माको नाम उल्लेख गरिएको छैन। तर हुवावे टेक्नोलोजीका रेन जेङ्गफेइ, साओमी कोर्पोरेसनका लेइ जुन र बिवाइडीका वाङ चुवानफुको नाम भने उल्लेख गरिएको छ।
यसले मालाई बेइजिङले कसरी बेवास्ता गरिरहेको छ भन्ने बुझाएको समाचार संस्था रोयटर्सले जनाएको छ।
मंगलबार अलिबाबाले आफ्नो त्रैमासिक आम्दानी सार्वजनिक गर्ने दिन सो लेख प्रकाशित भएको हो। यसबारे अलिबाबाले कुनै प्रतिक्रिया दिएको छैन।
सांघाइ सेक्युरिटिजले भने एकपल्ट आफूले तारिफ गरेका उद्यमीले 'लापर्वाही गर्ने हिरो'को रूपमा व्यवहार गरेको बताएको छ। त्यसैले अहिले विकास नियमहरूलाई सम्मान गर्ने र बजारका नियम समर्थित कम्पनीहरूलाई सूचीमा राखेको उसको तर्क छ।
पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।
माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।
माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको थियो।
पछिल्लो समय ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्। उनी गत अक्टोबरदेखि सार्वजनिक रूपमा देखिएका थिएनन्। उनी माघ ७ गते एउटा भिडिओ कन्फरेन्समा देखिएका थिए। उनी ५० सेकेन्डको भिडिओमा देखिएका थिए।