हेल्मेट माग्न जाँदा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका कर्मचारीको हत्या भएको तथ्य खुलेको छ।
नेपालगञ्ज उपमहानरपालिका-१८ का २७ वर्षीय प्रवीण थापामगरलाई हेल्मेट माग्न जाँदा हत्या गरिएको प्रहरीले बताएको छ। उनी विभागमा सहायक सूचक पदमा कार्यरत थिए।
थापामगरमाथि चिर्पट हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओम रानाले बताए।
प्रवीण थापामगरको माघ १ गते साँझ हत्या भएको थियो।
त्यस दिन मगर र उनका साथी २४ वर्षीय बर्मा भनिने दिनेशकुमार कुर्मी कालिकामाई मन्दिर बगैंचा पुगेका थिए।
उनीहरू लागुऔषध कारोबार सम्बन्धी सूचना संकलन गर्न त्यहाँ पुगेका थिए। सो ठाउँमा ६ जना लागुऔषध गाँजा सेवन गरी बसेका थिए।
गाँजा खाइरहेको देखेपछि प्रवीण र दिनेशकुमारले आफ्नो मोटरसाइकल रोकेर करिब एक सय मिटर परबाट उनीहरूलाई नियालिरहेका थिए।
ती समूहमा बसिरहेकामध्ये विवेक परियार भन्ने व्यक्तिलाई कुर्मीको हेल्मेट राम्रो लागेछ।
परियार घर फर्किने क्रममा सुरूमा हेलमेटको फोटो खिचे। तर, पछि उनले हेलमेट आफैंले उठाएर लगे।
हेल्मेट उठाएर भागेका परियारलाई प्रवीण र दिनेशकुमारले पनि लखेट्न थाले।
लखेट्दै गएका प्रवीण र दिनेशकुमार सुर्जिगाउँस्थित तोरीबारीमा पुग्दा भने त्यहाँ अरू पाँच जना आफ्नो हातमा तारबारसहित चिर्पट लिएका बसेका थिए।
त्यहाँ सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ, जाजरकोट जुनिचाँदे गाउँपालिका-७ घर भई नेपालगगञ्ज बसपार्क बस्ने २१ वर्षीय तेजबहादुर बिएम र विवेक परियारसहित १६-१७ वर्षका चार जना किशोरहरू थिए।
उनीहरू गाँजा सेवन गरिरहेका थिए।
प्रवीण र दिनेशकुमारले आफ्नो हेलमेट माग्दा उनीहरूबीच विवाद भएको एसपी रानाले बताए।
त्यही क्रममा उनीहरूले प्रवीणको टाउको तथा शरीरमा चिर्पट प्रहार गरे। प्रवीण त्यहीँ ढले।
प्रवीणले बोकेको दुई वटा मोबाइल पनि उनीहरूले लगे।
प्रवीणमाथि कुटपिट भइरहँदा दिनेशकुमारले भने बचाउन सकेनन्। बचाउन पनि नखोजेको एसपी रानाले बताए।
उनले सो घटनाबारे आफूलाई जानकारी भए पनि प्रहरी वा अरू कसैलाई बताएनन्।
विवेक परियारले पनि आफू पक्राउ पर्ने डरले हेलमेटमा आगो लगाएर नष्ट पारेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार माघ २ गते बिहान शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो।
कुकुरको सहयोगबाट प्रहरीले घटनास्थलभन्दा दुई सय मिटर टाढा दिनेशकुमारको चप्पल फेला पारेको थियो। त्यही चप्पलकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको खड्काले बताए ।
कुकुरकै सहयोगमा प्रवीणको भे३प ६१५ नम्बरको मोटरसाइकल पनि फेला परेको थियो।
माघ १५ गते प्रहरीले घटनाका मुख्य अभियुक्त विवेक परियारलाई काठमाडौंबाट पक्राउ गरेको थियो। उनकै वयानको आधारमा प्रहरीले यस घटनामा संलग्न अरूलाई समातेको हो।
त्यसपछि अरूलाई नेपालगञ्ज, धनगढी, कैलालीबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले बुधबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको छ।
प्रहरीले प्रवीणका साथी दिनेशकुमारलाई पनि पक्राउ गरेको छ। सूचना लुकाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।