भारतको उत्तराखण्डको चमोलीमा हिमनदीमा बाढीमा फसेका १६ जनाको उद्धार गरिएको छ।
आइतबार बिहान हिमनदी फुट्दा धौलीगंगामा बाढी गएको थियो। बाढीबाट ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।
इन्डिया टुडेका अनुसार अहिलेसम्म १६ जनाको उद्धार गरिएको छ। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा असर पुर्याउँदा झन्डै १५० जना मजदुर सम्पर्कविहीन भएका छन्। बाढीले जोशीमाथ- मलारी पुल पनि बगाएको छ।
इन्डो टिबेटियन बोर्डर पुलिसका डिजी एसएस देशवालका अनुसार धौलीगंगा नदीबाट १० जनाको शव पनि फेला परेको छ।
'एक सय कामदारहरू अझै पनि साइटमा छन् भन्ने आशंका गरिएको छ। दुई सय ५० प्रहरी अधिकारीहरू अहिले साइटमा खटिएका छन्, भारतीय सेना छिट्टै पुग्नेछ,'देशवालले भने।
२० कामदारहरू तपोवन नजिकैको निर्माणाधीन टनेलमा फसेको उनले बताए।
यो पनि पढ्नुस्: हिमनदी फुट्दा उत्तराखण्डको धौलीगंगा नदीमा बाढी, १५० जना सम्पर्कविहिन