दाङका कुलराज बुढाथोकी रोजगारका सिलसिलामा ११ वर्ष विदेश बसे। सुरूमा उनी खाडी मुलुक पुगे। खाडीमा राम्रो कमाइ भएन। धेरै कमाउने लालसले उनलाई लखेटिरह्यो।
पैसा कमाउने आशमा उनी इराकदेखि अफ्रिकासम्म पुगे। इराकमा हुँदा खाद्य उद्योगमा काम गरे। अमेरिकी सेना जहाँ-जहाँ जान्थ्यो, कुलराज पनि त्यहीँका खाद्य उद्योगमा काम गर्न जानु पर्थ्यो। काम र दाम राम्रै थियो। ५-६ वर्ष त्यसरी काम गर्दा उनले राम्रै पैसा कमाए।
उनलाई विदेशमा बसिरहन मनले मानेन। गाउँघरको यादले अति नै सताएपछि उनी बिदा लिएर घर फर्किए। आउने-जाने प्लेन टिकट पहिल्यै लिइसकेका थिए।
त्यही बीचमा उनका अभिभावकले विवाह गरिदिए। विदेश फर्किने समय आउन नजिक आयो। उताबाट आइज भनेर फोन आउन थाल्यो। यता श्रीमतीले विदेश नजान र घरमै बसेर केही उद्यम गर्न आग्रह गरिन्। कुलराजलाई पनि श्रीमतीको कुरा ठिकै लाग्यो। उनले विदेशको रिटर्न टिकट मिल्काइदिए।
विदेश बसाइका क्रममा समय र कामको महत्व उनले राम्रोसँग बुझेका थिए। त्यसै बसेर समय खेर फाल्ने सोचमा उनी पटक्कै थिएनन्।धेरै वर्ष बाहिर बसेकाले यहाँ के गर्न सकिन्छ भनेर उनी सम्भावनाको खोजी गर्दै बजारको अध्ययन गर्न थाले।
घरनजिकै सिमेन्ट उद्योग खुलेको थियो। उनले उद्योगको काम गर्न एउटा ट्रयाक्टर किने। ट्रयाक्टरको संख्या तीनवटा सम्म पुर्याए। त्यसमा मात्रै चित्त नबुझेपछि टिपर किने। कुनैबेला उनीसँग ११ वटा ट्रयाक्टर र टिपर थिए।
गाडीघोडा थपेर जति कमाइ भए पनि कुलराज सन्तुष्ट हुन सकेनन्। गाडीघोडाको संगत बिस्तारै त्याग्ने निश्चय गरे। गाडीको संख्या घटाउँदै लगे। अहिले पनि उनका आठ वटा टिपर छँदैछन्। अचेलगाडीघोडा हेर्ने जिम्मा उनले भाइ शरदलाई दिएका छन्।
आफूले के गर्ने? कुलराज अनेक उपाय सोचिरहेका थिए।
त्यही अलमलबीच उनले घरमै दूध खान हुन्छ भनेर एउटा भैंसी किने। दूध घरमा खाएर पनि बच्न थाल्यो। बचेको दूध गाउँघरमै बिक्री गर्न थाले। राम्रै आम्दानी हुन थाल्यो। मासिक १५ हजारसम्म एउटै भैंसीको दूध बेचेर कमाइ भयो।
३-४ वटा पाल्न सके ५० हजार कमाइ सहजै हुने रहेछ भन्ने उनले सोचे। त्यो दुबई, कतार, साउदी बराबरको कमाइ हो।
'अझै धेरै भैंसी पाल्न पाए त ...?' कुलराज महिनामै लाख-डेढ लाख कमाउने सोचमा डुबे।
‘भगवानले पनि तँ आँट, म पुर्याउँछु भन्छ रे,’ उनले सेतोपाटीसँग भने, ‘मैले आँटे र व्यावसायिक रूपमा भैंसी पाल्ने निधोमा पुगें।’
उनले गोठमा भैंसी थप्दै गए: एउटाबाट दुई र दुईबाट चार। अहिले उनीसँग ४५ वटा भैंसी छन्। २५ वटा माउ भैंसी छन् भने बाँकी पाडापाडी। १८ वटा भैंसी दूहुना छन्। उनले स्थानीय जातका भैंसीसँगै मुर्रा जातका भैंसी पालिरहेका छन्। उनको गोठमा तीन वटा गाई पनि छन्।
कुलराज अहिले दिनमा सय लिटर दूध बेच्छन्। अर्थात् दैनिक ८ हजार बढीको दूध बिक्री हुन्छ।
महिनामा दूध बेचेर उनी साढे २ लाखजति हात पार्छन्। त्यसमा भैंसीका लागि दाना पानीमा एक लाख बढी खर्च आउँछ। महिनाको डेढ लाख रुपैंया बचत हुने गरेको कुलराजले बताए।
‘कमाउन विदेश गइरहनुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचेर भैंसी पालन सुरू गरेको हुँ,’ उनले भने, ‘यसबाट मलाई आज राम्रै आम्दानी भइरहेको छ। सन्तुष्ट छु।’
उनलाई दूध बेच्न कुनै समस्या छैन। सबै दूध स्थानीय गोग्ली गाउँकै बजारमा बिक्री हुन्छ। आधा बढी दूध सिमेन्ट उद्योगमा बिक्री गर्छन।
‘गाउँघर र सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीलाई मैले दूध पुर्याउन सकेको छैन,’ कुलराजले भने, ‘मेरा नियमित ग्राहक एक सय ५० जना छन्।’
उनले अहिलेसम्म दूध बेच्च घोराही बजारसम्म जानु नपरेको बताए।
‘घोराही बजारबाट पनि डिमान्ड त आइरहेको छ, तर मैले पुगाउन सकिरहेको छैन,’ कुलराजले भने ‘अब अरू भैंसी थपेपछि माग भइरहेको ठाउँमा पठाउने सोचेको छु।’
कुलराजले डेरीलाई भने दूध दिँदैनन्। डेरीमा दूध बेच्दा घाटा हुने उनले बताए।
दूध घर-घरमा छोड्न उनी आफैं पनि जान्छन्। फुर्सद नुहँदा परिवारका अन्य सदस्य दूध पुर्याउन जाने गरेको उनले बताए।
छिटै भैंसीको संख्या ५० पुर्याउने उनको तयारी छ। त्यसैका लागि अहिले गोठ बढाउने काम थालेका छन्। केही वर्षमै सय वटा भैंसी पाल्ने उनको लक्ष्य छ।
‘बजारमा माग भएजति दूध मैले पुर्याउनै सकिरहेको छैन,’ कुलराजले भने ‘ त्यसका लागि भए पनि भैंसीको संख्या थप्नु पर्ने अवस्था आएको छ।’
उनले दूधमात्रै बेच्नेभन्दा पनि अब नयाँ ढंगको काम गर्ने सोच बनाएका छन्।
‘भैंसीको दूधबाटै आइसक्रिम, चकलेट बनाउने सोच बनाएको छु,’ उनले भने, ‘त्यसको सम्भावना के-कस्तो छ? के-कस्ता उपकरण चाहिन्छन्? भनेर सोधीखोजी थालेको छु।’
कुलराज यसरी उत्साहित हुनुका पछाडि सरकारको सहयोगले पनि काम गरेको छ।
उनलाई प्रदेश सरकारले यही वर्ष गोठ बनाउन २० लाख रुपैयाँ अनुदान दिएको छ। अनुदानका लागि पहल नगरे पनि २० लाख पाउँदा उत्साह र मनोबल थपिएको उनले बताए।
उनको भैंसी फर्म घोराही उपमहानगरपालिका वडा नं. ३ भानपुरमा छ। यो उनको पैतृक सम्पत्ति हो। उनले हालसम्म भैंसी पालनमा एक करोड बढी लगानी पुगेको बताए।
व्यवसायकि रूपमा भैंसी पाल्न उनले दुई वर्ष पहिलेमात्रै बडीमालिका पशुपालन प्रालि फर्म दर्ता गरेका हुन्।
कुलराज बिहान ४ बजे नै उठ्छन्। दूध दुहुनेदेखि कुँडो बनाउनेजस्ता काममा आफैं पनि खटिन्छन्।
भैंसी दुहुनमात्रै चार जना खट्नु पर्छ।
‘ज्यानलाई दुःख म सन्तुष्ट छु,’ उनले भने ‘ कृषिमा मेहनत त पर्छ। तर, त्यसबाट मुनाफा पनि राम्रै हुन्छ।’
कुलराजले भैंसी पाल्न तीन बिघा जति जग्गा उपयोग गरेको बताए। त्योबाहेक अर्को ठाउँमा थप साढे २ बिघा जग्गा पनि छ। जसमा उनले बर्खामा धान रोप्छन् र हिउँदमा भैंसीको लागि जै र बर्सिमजस्ता घाँस लगाउँछन्।
त्योबाहेक उनले घरनजिकै थप दुई बिघा जग्गा लिजमा लिएर घाँस रोपेका छन्। बर्खामा मकै चरी र सुडान भन्ने घाँस रोप्ने गरेको उनले बताए।
भैंसी पाल्ने व्यक्तिले बिहान, दिउँसो र साँझ अनिवार्य रूपमा निरीक्षण गर्न जरूरी हुने कुलराजको बुझाइ छ।
‘जनावर हो, उसले मलाई यस्तो भो भनेर भन्दैन,’ उनले भने ‘ कसले खाको छैन, कुन भैंसी फटफटाइरहेको छ? त्यो सबै आफैंले निरीक्षण गर्नु पर्छ।’
उनका अनुसार पटके रोगले भैंसी एकैछिनमा मर्न सक्छ। चर्चरे, भ्यागुते, खोरेतजस्ता रोग गाई-भैंसीलाई लाग्ने मुख्य रोग हुन्।
उनी एकजना भेटनरीका चिकित्सकसँग सधैँ सम्पर्कमा रहन्छन्। समस्या आउनेबित्तिकै बोलाउँछन्।
भैंसीको रेखदेख गर्न तीन जनालाई काम दिएको कुलराजले बताए। त्योबाहेक आफू र भाइको परिवार पनि खटिने गरेको उनले जानकारी दिए।
विदेशमा गएर काम गरेको र हण्डर खाएर आएको कुनै पनि युवाले यस्तै पशुपालन, माहुरी पालन, माछा पालन, केरा तथा फलफूल खेती गरे राम्रो आम्दानी लिन सजिलो हुने उनको बझाइ छ।
‘नेपालमा पैसा कमाउने ठूलो अवसर छ,’ कुलराजले भने ‘यहाँ पैसा हावामा उडिरहेको छ, कसरी टिप्ने त्यो जानेमात्रै पुग्छ।’
४३ वर्षीय कुलराजले आफ्नो उर्जाशील समय विदेशमा श्रम गरेर बिताएकोमा आज चुकचुकी लाग्ने गरेको बताए।
'विदेशमा गरेको मेहनत यहीँ उहिल्यै गरेको भए धेरै प्रगति भइसक्ने रैछ,' उनले भने।
आफ्नै सम्भावना र महत्व नबुझेर विदेशमात्रै ताक्ने प्रवृति गलत भएको उनले बताए।
‘अचानोलाई मात्रै खुकरीको प्रहार कस्तो हुन्छ भन्ने थाहा हुन्छ,’ कुलराजले भने ‘ कुनै दिन विदेशमा १२ देखि १८ घन्टा उभिरै काम गरेको पीडा मलाई पनि छ। त्यतिखेर म बसेपछि उभिन र उभिए पछि बस्न नसक्ने अवस्था हुन्थ्यो।’
त्यत्तिको मेहनत गरेको भए नेपालमै मनग्य आम्दानी गर्न सकिने उनको विश्वास छ।
‘सोचअनुसार मेहनत गरे असम्भव केही रहेनछ,’ उनले थपे ‘अर्काको देशमा गएर श्रम र सिर्जना बेच्नुभन्दा आफ्नै देशमा मज्जाले त्यति आम्दानी गर्न सम्भव रहेछ।’
सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी