पाकिस्तानका चर्चित आरोही मोहम्मद अली सादपारासहित तीन जना आरोहीहरू माउन्ट केटूमा हराइरहेका छन्।
केही साताअघि मात्रै नेपाली आरोहीले पहिलो पटक हिउँदमा आरोहण गरेको संसारको दोस्रो अग्लो हिमाल केटूमा उनीहरू गत शुक्रबारदेखि हराइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०१६ को हिउँदमा नांगा पर्वत आरोहण गरेर रेकर्ड बनाएका सादपारा आइसल्याण्ड र चिलीका दुई आरोहीसँग यसपालि केटूको चढ्न गएका थिए।
उनका छोरा सजिद पनि आरोहण समूहमा थिए। उनको अक्सिजन मास्कले काम गर्न छोडेपछि उनी चुचुरोबाट ३ सय मिटर तल रहेको बोटलनेकबाट शुक्रबार दिउँसो क्याम्पतिर फर्किएका थिए।
बुवासहित अरू आरोही चचुरोमा पुगेर फर्केलान् भनेर आफूले त्यो रातभरि टेन्टमा उज्यालो बनाए पनि उनीहरू नआएको सजिदले बताएका छन्।
उनले अब सादपारा र अन्य आरोही जिवितै भेटिने सम्भावना नरहेको बताए।
पाकिस्तानी सेनाले उनी हराएको खबर पाउनासाथ हेलिकप्टरमार्फत खोजी गरिरहेको छ।
'मोहम्मद अलि सादपारा यो देशका नायक र सम्पत्ति हुन्,’ पाकिस्तानी सेनाका प्रवक्ता बाबर इफ्तिखारले भनेका छन्,‘पाकिस्तानी सेनाले उनको उद्धार गर्न कुनै कसुर बाँकी राख्ने छैन।’
सन् १९७६ मा जन्मिएका सादपारा सुरूमा आरोहीको भरियाका रूपमा काम गर्थे। पछि उनले आफैं आरोहण थालेका थिए। पाकिस्तान सरकारको सहयोगमा उनले विश्वका ८ हजार मिटरमाथिका १४ मध्ये ८ वटा हिमाल चढिसकेका थिए।