सुर्खेतको बराहताल गाउँपालिका-५ का शेरबहादुर पौडेल स्थानीय जनज्योति माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्छन्। १२ वर्षीय पौडेलको परिवार आर्थिक रूपमा कमजोर छ। उनी आफ्नो पढाइ खर्च आफैं जुटाउँछन्।
उनले घरमा बाख्रा र बोइलर पालेका छन्। स्कुलकै जग्गामा ३६ वटा लोकल कुखुरा पालेका छन्। उनलाई यसका लागि विद्यालयले रकम उपलब्ध गराएको छ। पौडेललाई विद्यालयबाट २२ हजार ५०० रुपैयाँ ऋण उपलब्ध गराइएको छ। यसैलाई लगानी गरेर पौडेल पढाइसँगै कमाइ पनि गर्न थालेका छन्।
सानैदेखि मेहनती शेरबहादुर आफूले विद्यालयको ऋण एक वर्षभित्रै तिर्न सक्नेमा ढुक्क छन्।
‘विद्यालयबाट सुरूमा साढे ७ हजार ऋण लिएको थिएँ, त्यसले एउटा बाख्रा किनें,’ उनले भने, ‘त्यही बाख्रा अहिले १० हजारभन्दा बढीमा बिक्री हुन्छ, विद्यालयबाटै लिएको पैसाले बोइलर पनि पालेको छु। ती सबै बेच्यो भने विद्यालयको ऋण तिर्न सकिन्छ।’
शेरबहादुरले आफूसँगै व्यवसाय गर्न अरू चार जना साथी पनि बनाएका छन्। उनीहरूले पनि विद्यालयबाट ऋण लिएर शेरबहादुरसँगै व्यवसाय गर्नेछन्।
‘विद्यालयले यसरी सहयोग गर्दा हामीले आफैं कमाएर आफ्नो पढाइ खर्च चलाउन सक्यौं भने घरपरिवारलाई भार पर्दैन,’ शेरबहादुर भन्छन्, ‘मैले अरू चार जना साथीलाई पनि मिलेर काम गरौं भनेको छु, सरसँग पनि कुरा गरेर उहाँहरूले ऋण पाउने पक्का भएको छ।’
अब शेरबहादुरको यो समूहले धेरै संख्यामा कुखुरा पाल्ने भएको छ।
बराहताल गाउँपालिका-५ बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई ऋण दिएर पढाइ सँगसँगै व्यवसाय गरेर कमाउन प्रेरित गरिरहेको छ।
विद्यालयले मेहनतका साथ पढ्दै-कमाउँदै गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना उपलब्ध गराउन सहजीकरण गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक मर्साङ्गीले बताए।
‘विद्यार्थीले म मेहनतका साथ व्यवसाय गर्छु भनेर आउनुपर्यो, हामीले उसलाई समूहमा वा व्यक्तिगत रूपमा सानोतिनो व्यवसाय गर्नका लागि ऋण दिन्छौं,’ अध्यक्ष मर्साङ्गीले भने, ‘उसले ऋणको ब्याज तिर्नु पर्दैन, विद्यालय छोड्ने बेलासम्म सावाँ रकम तिरे हुन्छ। विद्यार्थीले योबाट पढ्दै कमाउँदै गर्न सक्छन्।’
विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ। भेटेनरी र कृषितर्फ १८ महिने र तीन वर्षे कक्षा सञ्चालन गर्ने गरिएको छ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत ऋण दिने विषयमा प्राविधिक विषय पढ्दै गरेका विद्यार्थीलाई अरूभन्दा प्राथमिकतामा राख्ने गरिएको अध्यक्ष मर्साङ्गीले जानकारी दिए।
बराहताल गाउँपालिका-५ कै गीताचन्द्र अधिकारी पनि जनज्योति माध्यमिक विद्यालयमै तीन वर्षे भेटेनरी डिप्लोमा पढिरहेका छन्। अन्तिम वर्षको परीक्षा सकाएर बसेका अधिकारीले पनि दोस्रो वर्षमा हुँदा विद्यालयबाट ५० हजार रुपैयाँ ऋण लिएर च्याउ खेती गरेका थिए।
समूह बनाएर ५० हजार ऋण लिएर उनीहरूले गरेको व्यवसायबाट करिब ५० हजारकै हाराहारीमा फाइदा भएको उनले बताए।
‘म स्थानीय भएकाले सुरूमा त विद्यालयकै प्रेरणाबाट आफ्नै लगानीबाट हाँस पालें, त्यसका लागि खोर बढाउनु पर्ने भएपछि विद्यालयबाट ऋण लिएर काम गरें,’ अधिकारीले भने, ‘दोस्रो वर्षमा पढ्दै गर्दा विद्यालयबाट ऋण लिएर सामूहिक च्याउ खेती गर्यौं, राम्रै फाइदा भएको थियो।’
विद्यालयले पढ्दै-कमाउँदै गर्न गरेको सहयोगले आफूलाई कमाइसँगै अभ्यास गर्न सजिलो भएको अधिकारीले बताए।
२०२९ सालमा स्थापना भएको उक्त विद्यालयमा दुई वर्ष अघिबाट विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरू गरिएको हो। यसबाट विशेषगरी प्राविधिकतर्फका विद्यार्थीले कमाइसँगै व्यावहारिक रूपमा लाभ लिएको विद्यालय व्यवस्थापन समितिका सल्लाहकार धीमराज जोल्मी मगरले बताए।
उनका अनुसार विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन्। त्यसमा कुन व्यवसाय गर्ने भन्ने रोजेर एउटा प्रस्तावना कक्षा शिक्षकलाई दिन्छन्। त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन्।
विद्यालयले बढीमा एक लाख रुपैयाँसम्म विद्यार्थीलाई ऋण दिने गरेको उनले जानकारी दिए। त्योभन्दा धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराइदिने गरेको उनले बताए।
‘यहाँ प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले पाँच हजार रुपैयाँ धरौटी राख्छन्, त्यसअनुसार जम्मा भएको रकम हामीले ऋणस्वरूप दिने हो,’ शिक्षक जोल्मीले भने, ‘हामीले त अहिले एक लाख रुपैयाँसम्म मात्र ऋण दिने गरेका छौं, त्यसले नपुग्ने खालको रहेछ भने बैंकबाट पनि उपलब्ध गराइदिन्छौं।’
जनज्योतिमा अहिले २६ जिल्लाका विद्यार्थी प्राविधिक शिक्षा पढिरहेका छन्। दुई वर्षअघि केही भूकम्प पीडितले पनि उक्त विद्यालयमा ३ वर्षे प्राविधिक विषय पढेका थिए।
सोही विद्यालयमा पढेका विद्यार्थीले काठमाडौंमा खोलेको तरकारी फार्ममा विद्यालयले अहिले पनि ओजेटी गर्नका लागि पठाउने गरेको छ।
‘हाम्रो यो विद्यालयमा पढेका केही विद्यार्थीले यहीँबाट सिकेर काठमाडौंको बुढानिलकण्डमा अर्गानिक तरकारी फार्म खोल्नुभएको छ,’ शिक्षक जोल्मीले भने ‘हामी अहिले त्यही फार्ममा हाम्रो अरू विद्यार्थीलाई ओजेटी गर्न पठाउँछौं।’
जनज्योतिमा पढ्दै-कमाउँदै गरी निस्किएका विद्यार्थी भविष्यमा व्यवसाय गरेर अगाडि बढ्न सक्छु भन्ने आत्मविश्वासका साथ निस्कने गरेको उनले बताए।
विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलका अनुसार विद्यालयको पढ्दै-कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको छ। उक्त रकमबाट यो कार्यक्रमका लागि आवश्यक पर्ने संरचनासमेत निर्माण गरिने उनले बताए।
‘प्रदेश सरकारले दिएको बजेटबाट पढ्दै-कमाउँदै कार्यक्रममा सहभागी हुने विद्यार्थीका लागि केही भौतिक संरचना बनाउँछौं, सुरूमा ३००० कुखुरा अट्ने खोर बनाउँछौं,’ प्रधानाध्यापक सिग्देलले भने, ‘३० लाख जति एउटा कोष बनाएर राख्छौं, जसबाट पढ्दै-कमाउँदै गर्न चाहने विद्यार्थीलाई आवश्यकताअनुसार ऋण दिन सकियोस्।’
उनका अनुसार बाख्रा स्रोत केन्द्र र ५० वटा बंगुर अटाउने नयाँ खोर पनि त्यही बजेटबाट बनाउन लागिएको छ।
उनका अनुसार विद्यालयमा १ हजार ३०० को हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन्। त्यसमध्ये पनि ३०० जना प्राविधिक विषय पढिरहेका छन्।
विद्यालयमा पढाइ हुने प्राविधिक शिक्षाअन्तर्गत अभ्यासगत कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ। आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनीभन्दा धेरै जग्गा भाडामा लिएको छ। त्यो जग्गामा माछापालन, बंगुर, कुखुरा, मौरी पालन, तरकारी, च्याउ लगायतका खेती गरिएको व्यवस्थापन समितिका अध्यक्ष मर्साङ्गीले बताए।
उनका अनुसार ती सबै व्यवसायमा विद्यार्थीले नै प्रत्यक्ष रूपमा काम गर्ने गरेका छन्। विद्यार्थीको लागि सिकाइ र विद्यालयका लागि आम्दानी गर्न यसबाट सजिलो भएको उनले बताए।