मध्यपुरथिमि नगरपालिका-८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका बासिन्दा उर्लिएका छन्।
भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन्।
मध्यपुरथिमि बोडे, नगदेशलगायत बासिन्दा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीय बासिन्दासहित सयौंले अदालत अगाडि कमलपोखरी जोगाउन माग गर्दै प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्।
स्थानीय बासिन्दाले परापूर्वकालदेखि सार्वजनिकरूपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएपछि यसलाई सार्वजनिकरूपमा नै कायम गर्दै जोगाउन सयौं नगरबासी उर्लिएको समितिका संयोजक चक्रधरले बताए।
मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरू सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको आफूले थाहा पाएको बताए।
भक्तपुर जिल्ला अदालतले सार्वजनिक पोखरी नै रहने फैसला गरेलगत्तै मध्यपुरथिमि नगरपालिकाले पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ रु ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरू गरिसकेको नगरप्रमुख श्रेष्ठले बताए।
फैसला भएको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सम्याउने र सफा गर्ने काम गरेको थियो।
उनले भने, ‘यो धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी गुरूयोजनासहित काम अगाडि बढाएका छौं।’
तत्कालीन बोडे गाउँ पञ्चायत-६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारिसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौंको ठमेल बस्ने ग्ल्याल्पो गुरूङको नाममा पास भएको हो।
जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरूङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर विक्री गरेको पाइएको छ।
सार्वजनिक पोखरीलाई व्यक्तिको नाउँमा दर्ता गरी विभिन्न व्यक्तिलाई विक्री गरेपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्।
त्यसपछि बोडे, नगदेशका बासिन्दाले संघर्ष समिति नै गठन गरेर व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिकरूपमै फर्काउन माग गर्दै दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते मंगलबार न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त कमलपोखरी ‘पलेस्वाँ पुखु’ सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाएको थियो।
बोडेको यो कमलपोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौं वर्षदेखि रहेको स्थानीय बासिन्दा एवं वडा नं ९ का वडाध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए।
पोखरी किनबेच भएपछि केही व्यक्तिले पोखरी पुरेर भवन बनाउन माटो ल्याउँदा स्थानीयबासीले थाहा पाएर लखेटेको बताउँदै उनले ऐतिहासिक पोखरीलाई पोखरीकै रूपमा कायम गर्ने बताए।
संरक्षण समितिका संयोजक चक्रधरले भू-माफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर विक्री गरेको बताउँदै यसलाई सार्वजनिक पोखरीकै रूपमा फर्काइनुपर्ने बताए। जिल्ला अदालतले गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गर्नुपर्ने स्थानीयबासीको माग रहेको उनले बताए।
सार्वजनिक पोखरीलाई व्यक्तिका नाममा दर्ता गरेर ऐतिहासिक पोखरीमा कुनै पनि संरचना बनाउने सपना नदेख्न पोखरी खरिदकर्तालाई आग्रह गर्दै स्थानीयवासी वीरेन्द्र जयनाले कमलपोखरीलाई कुनै पनि हालतमा स्थानीयबासीले पोखरीकै रूपमा कायम गर्ने बताए। रासस