बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउपछि बुधबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीका (बेरोजगार) ३५ बर्षीय रामबहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ११ कालिखोला घर भई हाल नेपालगन्ज ४ बसपार्कमा किराना पसल गर्ने ३१ वर्षीय धिरेन्द्र विक्रम शाह, दाङको गढवा गाउँपालिका वडा नं. ४ घर भई प्युठान जिल्लाको दरभानमा वर्कसपमा मिस्त्रीको काम गर्ने २८ वर्षीय ईरसाद अहमद मुसलमान, रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङ घर भई जीप, कार भाडामा चलाउने २८ वर्षीय छविलाल पुन मगर, रोल्पा लुंग्री ४ गुम्चाल घर भई वैदेशिक रोजगारीमा आवद्ध २४ वर्षीय नवराज रोका क्षत्री र बाँकेको नेपालगन्ज १० सुगन्धटोल घर भई प्युठान जिल्लाको चेरनेटामा मोटरसाइकल वर्कसपमा मिस्त्री काम गर्ने २८ वर्षीय रञ्जित शर्मालाई पक्राउ परेका छन्।
उनीहरूलाई बाँके, दाङ, प्युठान र रोल्पा लगायतका जिल्लाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
एसपी रानाका अनुसार सुरूमा रामबहादुर थापाले भारतीय मोटरसाइकल चोरी गर्ने गिरोहसँग चोरीका मोटरसाइकल खरिद गरी सस्तोमा बेच्ने गर्दै आएका थिए।
कोरोना भाइरसको महामारीले लकडाउन सुरू भएपछि थापाको भारतीय तस्करहरूसँगको सम्पर्क टुटेपछि उनले धिरेन्द्र विक्रम शाहलाई साथी बनाए।
चोरी गर्न जाँदा उनीहरूले बा ३६ प ५९४ नम्बरको एभेन्जर मोटरसाइकल प्रयोग गर्ने गर्थे। जाँदा सँगै जाने र यातायात, मालपोत र अस्पताल जस्ता भिडभाडयुक्त ठाउँमा पुगेपछि पार्किङ गरेका मोटरसाइकलको तार काटेर डाइरेक्ट स्टार्ट हुने गराउँथे।
त्यसपछि शाहले थापाको र थापाले चोरीको मोटरसाइकल कुदाएर भाग्ने गरेको भन्ने कुरा खुल्न आएको एसपी रानाले बताए।
त्यसरी चोरी गरेका मोटरसाइकल समातिने डरले उनीहरूले घरमा ल्याउँदैन थिए। बरू कहिले धकलेर र कहिले सम्शेरगञ्जमा गएर ती मोटरसाइकल जंगलमै लुकाएर फेरि एउटै मोटरसाइकलमा घर फर्किने गरेको एसपी रानाले जानकारी दिए।
त्यसपछि उनीहरूले ती चोरीका मोटरसाइकल बाँकेको नेपालगन्ज १० सुगन्धटोल घर भई प्युठान जिल्लाको चेरनेटामा मोटरसाइकल वर्कसपमा मिस्त्री काम गर्ने २८ वर्षीय रञ्जीत शर्मा र दाङको गढवा गाउँपालिका वडा नं. ४ घर भई प्युठान जिल्लाको दरभानमा वर्कसपमा मिस्त्रीको काम गर्ने २८ वर्षीय ईरसाद अहमद मुसलमानको वर्कसपसम्म पुर्याइदिन्थे।
जहाँ उनीहरूले मोटरसाइकलको नम्बर प्लेट, इन्जिन नम्बर र चेसिस नम्बर परिवर्तन गरी दाङ, रोल्पा, प्युठान, जाजरकोटसम्मका पहाडी जिल्लाहरूमा विक्री गर्ने गरेको एसपी रानाले जानकारी दिए।
त्यस्ता मोटरसाइकलहरू रोल्पाका छविलाल पुन र नवराज रोका क्षत्रीले ती मोटरसाइकल सस्तो मूल्यमा खरिद गरी केही मुनाफा खाएर विक्री गर्ने गरेको कुरा अनुसन्धानबाट खुलेको एसपी रानाले बताए।
पछिल्लो समय माघ ५ गते नेपालगन्ज १८ स्थित एक रेष्टुरेण्टको पार्किङ स्थानबाट नेपालगन्ज २० का प्रतिक गुरुङको भे १० प ३५०६ नम्वरको २०० सिसीको एनएस मोटरसाइकल चोरी भएपछि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान सुरू गरेको थियो।
उक्त मोटरसाइकल चोरीपछि प्युठानमा विक्री गरेको तथ्य फेला परेपछि प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्युठानमै गएर स्थानीय प्रहरीको सहयोगमा मानिस पक्राउ गरेपछि मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ गर्न प्रहरी सफल भएको हो।
जसले विगत ९ महिनायता मात्रै विभिन्न समयमा गरी ६ वटा मोटरसाइकल चोरी गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूले यो अवधिमा ५ वटा मोटरसाइकल बाँकेका विभिन्न ठाउँबाट र एउटा मोटरसाइकल बर्दिया जिल्लाबाट चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
थापा र शाहले मिलेर यो बीचमा लु ३९ प २८६६, रा ४ प ४५५०, रा ५ प ६२३३, लु ४५ प ८९२८, रा ५ प ३२३ र बा ३६ प ५९४ नम्बरको मोटरसाइकहरू चोरी गरेको प्रहरीले बताएको छ।
उनीहरूले प्राय: पल्सर १५० सिसी, २२० र एनएस बाइक चोरी गरेको प्रहरीले बताएको छ।
झन्डै साढे ३ लाखको हाराहारीमा पर्ने त्यस्ता मोटरसाइकलहरू चोरी गर्ने गिरोहोले ३० देखि ८०/९० हजारसम्ममा विक्री गर्ने गरेको प्रहरीले बताएको छ।
मुलुकी अपराध संहिता ऐन २०७४ को चोरीसम्बन्धी कसूरको दफा २४२ को उपदफा २ बमोजिम ३ वर्षसम्म कैद सजाए र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ।