मध्यरातमा अटो चालकलाई खुकुरी देखाएर कुटपिट र लुटपाट गर्ने चार जनालाई प्रहरीले करिब एक महिनापछि पक्राउ गरेको छ।
गत पुस ११ गते राति पौने १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क तर्फ आउँदै गर्दा तेजबहादुर नेपालीलाई चार जनाले खुकुरी देखाई बन्धक बनाएर लुटपाट र कुटपिट गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार चार जना अपरिचत युवाले नेपालीले चलाएको रा १ ह २५४६ नम्बरको अटो रोकी घाँटीमा खुकुरी राखेर भनेको ठाउँमा नलगे घाँटी छिनालीदिने धम्कि दिएर बन्धक बनाएका थिए।
उक्त समूहले नेपालीलाई अटोसहित भित्र भित्रैको बाटोहुँदै मध्यरातमा तुलसीपुर १२ स्थित महेन्द्र माध्यामिक विद्यालयको पछाडि एकान्तमा पुर्याएका थिए।
त्यसपछि चार जनाको उक्त समूहले चालक नेपालीलाई निर्घात कुटपिट गरि घाइते बनाएर दुबै हात पछाडि बाँधेर चालकको साथमा रहेको नगद करिब ३ हजार, स्यामसुङ कम्पनीको जे सेभन मोबाईल, युएस आर्मी लेखेको ज्याकेट, ब्लुटुथ र अटोसमेत लुटेर लगेका थिए।
त्यतिले नपुगेर उनीहरुले आफू गन्तब्यमा पुगेपछि अटोसमेत तोडफोड गरेर छोडेका थिए।
उपचार गराई फर्किएपछि नेपालीले इलाका प्रहरी कार्यालयमा माघ १५ गते आफूमाथि भएको कुटपिट र लुटपाटको बारेमा निवेदन दिए।
त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो। नेपालीको लुटेर लगेको मोबाईल अन भएको थिएन। प्रहरीले त्यहीँ मोबाईललाई निगरानीमा राखेर ती ब्यक्ति समात्ने गोप्य योजना बनायो।
झन्डै एक महिना पछि माघ २६ गते नेपालीको मोबाईल अन भएको देखियो। प्रहरीले लोकेसन ट्रयाप गरेर पिछा गर्न खोज्यो। तर, कुनै उपाय चलेन।
अटो चालक नेपालीको घाँटीमा खुकुरी भएकोले मध्यरातमा कसैलाई फर्केर हेर्ने हिम्मत गर्न सकेनन्। त्यसैमा सबैले अनुहार छोपेका थिए। तर, उनले एक जनाको घाँटीमा ट्याटु रहेको याद गरेका थिए। त्यो पानको पातको ट्याटु थियो।
त्यहीँ सुराकका आधारमा प्रहरीले घाँटीमा पानको पात भएको ट्याटु भएका युवा नियाल्न थाल्यो।
त्यो कामको अनुसन्धान गर्न प्रहरी नायब निरीक्षक प्रमोद भण्डारी नेतृत्वको टोली परिचालन भएको थियो। तुलसीपुर बसपार्कमा बेलुका साढे ५ बजेतिर एक युवाको घाँटीमा प्रहरीले पानको पातको ट्याटु देख्यो।
ती सुमन नेपाली थिए। प्रहरीले उनलाई रोकेर सोधपुछ थाल्यो। उनी आत्तिए। प्रहरीले खानतलासी गर्दा उनको गोजीमा अटो चालक नेपालीको मोबाईल फेला पर्यो। अनि तत्काल पक्राउ परे।
तुलसीपुर १२ का २० वर्षीय सुमन नेपालीको बयानका आधारमा तुलसीपुर ८ का २० वर्षकै रोहित बिक, तुलसीपुर ६ का १८ वर्षीय सरोज नेपाली र सल्लान जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. ३ का १८ वर्षीय दिनेश डाँगी पक्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई जानकारी दिए।
सिंहका अनुसार उक्त दिन उनीहरू सबैले गाँजासँगै मदिरा सेवन गरेका थिए। मातेको तालमा उनीहरुले अटो चालकलाई बन्धक बनाई अमानवीय व्यबहार गरेको स्वीकार गरिसकेका छन्।