दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका २८ वर्षीय बुद्धिराम चौधरी गएराति साढे दश बजेतिर शंकर सामुदायिक वनबाट १२ फिटको काठ लिएर आउँदै थिए।
सोही वडाको कोलहुवा निवासी वनपाले ५० वर्षीय बुद्धिराम विक र ४९ वर्षीय पूर्णबहादुर जिसीले चौधरीलाई रोक्न खोजे।
त्यसपछि चौधरी र विकका बीचमा समातासमात र धकेलाधकेल भयो। चौधरीले विकको घाँटी न्याकेका थिए। जिसीले उनीहरूलाई छुट्याए।
इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टका अनुसार त्यसपछि विकले चौधरीको दुबै हात पिँठ्यू पछाडि लगेर लैलनको डोरीले बाँधेर भुइँमा बसाले।
त्यतिबेलै विकले फोन गरिरहेका थिए। त्यही बीचमा विक अकस्मात् भुइँमा ढले। त्यसपछि उनी उठेनन्।
राति १२ बजेर ५० मिनेट जाँदा जिसीले नै सिसहनियाँस्थित प्रहरी चौकीमा फोन गरी घटना विवरण सुनाए। प्रहरी पुग्यो। प्रहरी पुग्दा घोप्टो परेर भुइँमा ढलिरहेका थिए। घटनास्थलमा रातभर प्रहरीले सुरक्षा दियो।
प्रहरी निरीक्षक भट्टका अनुसार मृतकको नाकबाट हल्का रगत बगेको देखिएको छ। निधार भुइँमा ठोक्किएर सामान्य चोट छ। त्योबाहेक अरू कुनै पनि चोटपटक शरीरमा देखिएको छैन।
विकको मृत्यु भइसकेपछि प्रहरीले चौधरीलाई राति नै नियन्त्रणमा लियो। घटनाका प्रत्यक्षदर्शीका बयानका आधारमा विकको मृत्यु अनौठो ढंगले हुन पुगेको प्रहरीले बताएको छ।
प्रहरी निरीक्षक भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य खुल्ने उनले बताए।