फोर्सको अट्याक हुनासाथ हुटिङ चल्थ्यो।
नेपाल– नेपाल ...‘वाउ ! गोरखाली बीर’ दामी प्रहार। अनि सँगै ताली बज्थे। सिटी बज्थे। रिङ वरिपरी मानिसहरु जो झुम्मिएका थिए।
बीचमा फाइट चलिरहेको छ। फाइटरहरु भिडिँरहेका छन्। चोटग्रस्त फाइटर रक्ताम्मे छन्। ती मुक्केबाज जस्तै आफ्नो नाममा हुटिङ पाउँदा झनै उत्साहित बन्थे। एकाअर्का प्रति लक्षित गर्दै झनै सशक्त प्रहार गर्न प्रयास गर्थे।
ती पटक्कै हार स्वीकार गर्न मञ्जुर थिएनन्। प्रतिद्धन्दीको चोटिलो प्रहार खप्न नसकेर पटक-पटक लडे पनि फेरि स्फूर्तिका साथ रिङमा खडा हुन्थे।
लाग्थ्यो, उनीहरु एक अर्कालाई हराएरै छोड्ने, लडाएरै छोड्ने कसम खाएर रिङ छिरेका फाइटर हुन्।
ती चराहरू (फाइटर भालेहरु) त्यस्तै विश्वासका लागि भिडिरहे।
विधि अनुसार गेम खेलाउन भनेर दुई जना अम्पाएर रिङ भित्रै छन्। ती एम्पाएरको उपस्थितिले ती फाइटर भाले कत्ति पनि बिचलित नभइ भिडिरहन्थे।
जब फाइटरले गल्ति (फल) गर्थे, त्यतिखेल ती अम्पाएरले फाइटरलाई आपसमा छुट्याउँथे। र फेरि सेन्टरमा लगेर गेम सुरु गराउँथे।
आयातनकार ४X५ मिटर लम्बाई चौडाईको रिङ तयार पारिएको थियो। त्यो रिङ भित्र भालेलाई चोट पटक नलागोस् भनेर रातो कार्पेट बिच्छाइएको छ। वरिपरी भन्डै एक मिटर अग्लो नेट लगाइएको छ।
फाइटर भालेले नेट छुनासाथ फल मानिने रहेछ। फल भएपछि फाइटहरुलाई छुट्याइन्थ्यो।
त्यहीँ मौकामा अम्पाएरले छिटो– छिटो गरि उनीहरुको रगत पानीले सफा गरिदिन्थे। नजिकै पानीको बाल्टिनमा सफा र सेतो कपडा छ।
बक्सरलाई रेष्ट टाइममा मालिस गरे जस्तै गरि फाईटर भालेका शरीरको बिभिन्न भाग मानिसले मालिस गरिरहन्थे। घाँटी, पखेँट्टा र ठोड भित्र कपडा घुसाएर रगत सफा गर्ने काम चलिरहन्थ्यो।
कहिले भालेलाई पानीको बाल्टीमा चोबेर कुलिङ र फ्रेस पार्ने प्रयास पनि भइरहेको थियो।
अनि उनीहरुलाई समातेर फेरि रिङको सेन्टरमा लगरे अम्पाएरले छोड्छन्। त्यसरी छाड्ना साथ फेरि उनीहरु एकअर्कालाई झम्टिन पुग्थे।
संवाददाता पुग्दा रिङमा नेपाल दाङका विज्ञान पुन र भारतका मिथुन मोहमदको भाले भिँडिरहेका थिए।
मिथुनले भालेका लागि यतिसम्म प्रेम दर्साउँथे कि, चोट ग्रस्त भएको भालेको रगत आफैँ मुखैले सफा गरिदिन्थे।
उनी आफ्नो भालेको रक्ताम्मे घाँटी पनि मुखले नै सफा गरिरहन्थे। भालेको अनुहार र चुच्चोमा चुम्मा खान्थे। कानमा साउती गर्थे। सायद, रिङ आउट गर्न हौस्याउँथे होला।
नेपाली (दंगाली) भालेले सशक्त प्रहार गर्दा समर्थकले राष्ट्रकै पक्षमा हुटिङ गर्थे, बीर गोरखाली, बीर नेपाली।
पुनको भाले रेडिगो आफ्नो मातृ भूमिमा भारतका मिथुनको मिडियम भालेलाई हराउन मरिमेटेर प्रयास गरिरहेको थियो। रेडिगोको आक्रमणबाट मिडियमको देब्रे आँखा नै फुटिसकेको थियो। रेडिगोको आक्रमणबाट मिडियमको चुच्चो नै भाँचियो। तै उस्ले मरिगए हार मानेन। अचम्मको हुँदो रहेछ फाइटर भाले, काँप्दै भए पनि लडिरह्यो। एक घन्टासम्म दुबै फाइटरले बहादुरीका साथ लडे। कसैले हार स्वीकार गरेनन्। हार मानेनन्। अन्ततः उनीहरू दुबैलाई बिजेता घोषित गरियो।
त्यसअघि पनि दाङ असिल ग्रुपका अध्यक्ष सदिप श्रेष्ठ र भारत बहराईचका नियाज मोहमदको भाले एक घन्टा भिडेर बराबरी खेलेका थिए।
अध्यक्ष श्रेष्ठका अनुसार एक घन्टाको ‘भाले जुधाँई’ मा ३० मिनेटमा इन्टरभल हुन्छ। त्यो जम्मा ५ मिनेटका लागि। अन्यथा लगातार फाइट चलिरहन्छ। जबसम्म एकाअर्काले हार मान्दैनन्। भाग्दैनन्। फाइटकै क्रममा भाले मरे पनि त्यसलाई पनि हारका रुपमा लिइन्छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नयाँ बस्तिस्थित कालभैरब मन्दिर परिशरमा भाले जुधाँईको टुर्नामेन्ट आयोजना गरिएको थियो। जसमा सहभागिताका लागि भारतको लखनउबाट चार र बहिराईचबाट तीन गरी सात फाइटर भाले नेपाल आएका थिए।
नेपालगञ्जबाट मिथुन मुसलमान पनि भाले ल्याएर आएका थिए। कुल १५ जोडी भाले त्यहाँ भिडाइएको थियो।
यो नै असिल ग्रुपले दाङमा आयोजना गरिएको पहिलो भाले जुधाँई थियो। यसअघि असिल ग्रुपले काठमाडौंमा ३ पटक र पोखरामा एक पटक यस्तो टुर्नामेन्ट आयोजना गरिसकेको छ।
‘वर्डफ्लूको हल्लाले धेरै मानिस आउन डराउनुभयो,’ असिल संघका अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने, ‘हैन, भने यहाँ नेपाल र भारतबाट ठूलो संख्यामा भालेहरू ल्याएर किसानहरु आउने थिए।’ नेपालगञ्जस्थित नेपाल–भारत सीमानाकामा भारतबाट भाले ल्याएर भिडाउन आउनेलाई निकै केरकारपछि मात्रै भालेसहित प्रवेश दिइएको हुँदा कतिपय साथी उतै फर्किएको उनले जानकारी दिए।
स्थानीय युवा चुडामणि घर्ती मगरले भाले जुधाँईको टुर्नामेन्टले आफ्नो गाउँमा उत्सवको माहोल छाएको भन्दै खुसी साटे। त्यो भाले जुधाँई हेर्न स्थानीको बाक्लो उपस्थिति थियो।
‘भाले जुधाँईबाट पनि पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण टेवा पुग्न सक्छ,’ मगरले भने, ‘आज हाम्रो गाउँको मात्रै चर्चा भएको छैन, हाम्रा गाउँले किसान दाजुभाइ पनि उत्साहित छन्।’
भाले पनि कृषि र व्यापारको एउटा राम्रो सम्भावना छ भन्ने कुरा स्थानीयले बुझ्न पाएको मगरले बताए। टुर्नामेन्टमा सहभागी हुन इन्ट्री फी दुई हजार पाँच सय तोकिएको थियो।
त्यसरी संकलित रकमले कालभैरव मन्दिरको कम्पाउन्ड निर्माणमा सहयोग गर्ने आयोजक संस्था असिल ग्रुपका अध्यक्ष सदिप श्रेष्ठले बताए।
टुर्नामेन्टमा भाले लिएर आउने देश विदेशका व्यक्तिका लागि आयोजक असिल ग्रुप दाङले गाँसबासको व्यवस्था मिलाएको थियो।
टुर्नामेन्टस्थलमा पशुस्वास्थ्य कार्यालयका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मी खटिएका थिए। ब्यवसायिक किसानले पालेका भाले भिडाउने टुर्नामेन्ट आयोजना गरिएको हुँदा त्यसक्रममा चोट पटक लागेर घाइते भएका भालेको उपचारका लागि कार्यालयले रेग्मीलाई खटाएको थियो।
‘किसानको उत्साहमा हौसला थप्न कार्यालयले मलाई यहाँ खटाएको छ,’ उनले भने, ‘यस्ता टुर्नामेन्टहरु पटक/पटक आयोजना भए किसान उत्साहित हुने थिए र त्यसले आन्तरिक पर्यटन पर्बधनमा समेत टेवा पुग्छ जस्तो लाग्छ।’
टुर्नामेन्टमा सबैलाई प्रवेश खुल्ला थियो। साना बालबालिका पनि खुबै अभिरूचिका साथ भाले जुधाँई हेरिरहेका थिए। त्यसबाट साना नानीमा नकारात्मक प्रभाव पर्नसक्ने कतिपय अभिभाबकले चिन्ता समेत व्यक्त गरेका थिए। ‘निश्चित उमेर समूहका व्यक्तिहरुले मात्रै यस्ता टुनामेन्टहरु हेर्न गरि आयोजना गरे राम्रो हो,’ एक स्थानीय महिलाले भनिन् ‘रक्ताम्मे भालेहरु देख्दा बच्चाहरुलाई नकारात्मक असर पनि पर्न सक्छ।’
असिल ग्रुप दाङका अध्यक्ष अर्को पटक त्यस्ता कुराहरुमा ख्याल गर्ने बताए।
टुर्नामेन्ट आयोजना गर्नुको उद्धेश्य आन्तरिक पर्यटन प्रवर्धन गर्नु रहेको हुँदा भाले जुधाँईलाई जुवाको रुपमा कसैले पनि लिन नहुने बताए।
‘यस्ता भाले जुधाँईहरु बाजी थापेर जुवाको रुपमा पनि आयोजना गर्ने गरिएका छन्, त्यो एकदमै गलत हो,’ श्रेष्ठले भने, ‘यो मनोरञ्जनका लागि हुनुपर्छ, किसानको हौसलाका लागि हुनुपर्छ, पर्यटन पर्बद्धनका लागि आयोजना गरिनुपर्छ।’
फाइटर भाले पाल्नु एउटा शौखको बिषय भएको भन्दै उनले त्यसलाई सन्तान जस्तै गरि पोसिलो खाने कुरा दिएर फाइटका लागि तयार पार्नुपर्ने बताए।
विजेता, उपविजेता फाइटर भालेका मालिकलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। अन्य टुर्नामेन्टमा जस्तै वेष्ट फाइटर पनि छनोट गरिएको थियो। प्रतियोगितामा तुलसीपुरका प्रेमसिंह पुनको भालेले बेष्ट प्लेयरको उपाधि जित्यो।
कुल प्रतिपर्धिमध्ये नेपालका ७ वटा भालेले उपाधि जित्दा भारतका जम्मा २ वटा भालेले मात्रै मेडल र प्रमाण पत्र जिते।