अमेरिकामा एक कुकुर ५० लाख अमेरिकी डलरको मालिक भएको छ।
लुलु नाम दिइएको कुकुरका मालिकको मृत्युपछि उनले आफ्नो सम्पत्ति कुकुरलाई छोडेर गएका हुन्। टेनिसीको नासभिलका व्यापारी बिल डोरिसको ८४ वर्षको उमेरमा गत नोभेम्बरमा मृत्यु भएको थियो।
'मेरो मृत्युपछि ५० लाख डलर ट्रस्टमा जानेछ जसबाट लुलुको हेरचाह गरिनेछ। यो ट्रस्ट लुलुको आवश्यकता पूरा गर्न बनाइएको हो। कुकुर मार्था बुर्टोनसँग रहने छ,' उनले भनेका थिए।
लुलु अहिले डोरिसका साथी ८८ वर्षीय मार्गरेट बुर्टोन (मार्था)सँग बस्छ। मार्गरेटले डोरिस काममा व्यस्त हुँदा लुलुको हेरचाह गर्थिन्।
'मलाई साँच्चै के भन्ने हो थाहा छैन। तर उनले कुकुरलाई धेरै नै माया गर्थे,' मार्थाले डोरिसबारे भनिन्।
मार्थाले हरेक महिना रिसिट बुझाएर लुलुको खर्च बराबरको रकम लिने गर्छिन्। धनी कुकुर भए पनि लुलुलाई घाँटीमा बाँध्ने हिराको कलर र सुनको भाँडो किन्दिने योजना नभएको उनले बताइन्।
उनले न्युज च्यानल फाइभलाई बताएअनुसार सबै रकम लुलुमा खर्चिन नसक्ने तर प्रयास गर्न मन भएको बताएकी थिइन्।
लुलु मरेपछि सो रकमको सम्पत्ति कसको नाममा हुन्छ भन्ने खुलिसकेको छैन।