भरतपुरका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन्।
सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन्। त्यसले गर्दा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ।
प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ।
जिल्लामा हालसम्म ४० वटा सिसिटिभी सडकमा जडान भएका छन्। तीमध्ये १४ वटामात्र सञ्चालनमा छन्। त्यही पनि सामान्य खालका मात्र छन्।
जिल्लामा थप ४२ स्थानमा सिसिटिभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
भरतपुर महानगरपालिकाका २९ स्थान, रत्ननगरपालिकाका सात स्थान र खैरहनीका छ स्थानमा सिसिटिभीको थप अतिआवश्यकता पहिचान गरिएको हो।
थापाका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ।
यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ।
विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए। रासस