भारतमा बस नहरमा खस्दा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ८ बजे मध्यप्रदेशको सिद्धी जिल्लास्थित पुलबाट बस नहरमा खसेको टाइम्स अफ इन्डियाले जनाएको छ।
'अहिलेसम्म ३४ जनाको शव फेला परेको छ। उद्धार कार्य जारी छ,' रेवा रेन्जका आइजी उमेश जोगाले भने।
'बसमा ५० जनाभन्दा बढी यात्रु सवार थिए। बस नहरभित्र पूरै पसेको थियो र निकाल्न तीन घण्टा लागेको टाइम्स स्रोतले जनायो।
बस चालकसहित सात जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।
प्रहरी र विभिन्न स्थानको रेस्क्यू टोली तथा स्थानीयहरूले उद्धार गरिरहेका छन्।
मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। दुर्घटनामा अझै मानिसहरू बेपत्ता रहेको आशंका गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नेसनल रिलिफ फण्डबाट मृतकका परिवारलाई दुई लाख र गम्भीर घाइते भएकालाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन्।