पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि बदली र हल्का वर्षा हुने भएको छ।
प्रि-मनसुनको समय नजिकिएकै कारण अपरान्हपछि मौसममा परिवर्तन भएको हो।
शुक्रबारदेखि दुई-तीन दिन पहाडी भू-भागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
उनका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ। मार्चदेखि सुरू हुने प्रि-मनसुन मेसम्म चल्छ।
प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपरान्ह तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुन्छ।
हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ।
प्रदेश नं २, बागमतीलगायत देशका पहाडी भू-भागमा अपरान्ह आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
प्रदेश नं १ र २ लगायत देशका पहाडी भू-भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हलका हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ । रासस