नेपाल एकीकरण अभियानमा गोरखा राज्यको पहिलो सेनापति वडावीर शिवरामसिंह बस्न्यातको २७५औं पुण्यतिथिका अवसरमा शङ्खरापुर नगरपालिका-३ जहरसिंह पौवास्थित साँगाचोकमा उनको योगदानको स्मरण गरिएको छ।
श्रीपाली बस्न्यात समाज नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष नीरञ्जनमानसिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवरामसिंह बस्न्यातको शालिक निर्माण, स्मारिका प्रकाशन र प्रवुद्ध व्यक्तिको बैठक गर्ने घोषणा गरे।
बस्न्यातका माहिला छोरा केयरसिंह बस्न्यातका जेठा छोरा जहरसिंह बस्न्यातले पाटी बनाएकाले सो ठाउँको नाम जहरसिंह पौवा रहन गएको हो।
विसं २०१४ सम्म सो पाटीमा बस्न्यात समाजले श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन भण्डारा लगाउने गरिएको थियो। पछि पाटी मासिएपछि यस परम्परा अन्त्य भएको समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जानकारी दिए।
तिब्बतसम्म पैदल जाने यो मार्गमा हिँड्नेलाई बस्न सजिलो होस् भनी पाटी निर्माण गरिएको हो।
कार्यक्रममा समाजका सदस्य शेखरसिंह, पृथ्वीमानसिंह र भोलामानसिंह बस्न्यातले राष्ट्रिय एकीकरण, पृथ्वीनारायण शाह र शिवरामसिंहको भूमिकाबारे बताएका थिए।
वडावीर शिवरामसिंहले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात् आजभन्दा २७५ वर्षअघि एकीकरण अभियानको सिलसिलामा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए।
हालै नेपाली सेनाले महत्व दिई ‘राष्ट्रिय एकीकरण मार्ग’ को अवधारणमासमेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरेको छ।
सेनापति शिवरामसिंह बस्न्यात नेपाल एकीकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति थिए।
शिवरामसिंहको लडाइँमा भएको मृत्युपश्चात उनकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरू लिएर गोरखा दरबारमा राजा पृथ्वीनारायण शाहलाई भेटी ‘बाघ त गोरखाको लागि मरिहाले, यी चार डमरुले पछि गोरखाको लागि काम गर्नेछन्’ भनी भनेको इतिहासमा उल्लेख भएको पाइन्छ।
पछि उनीजत्तिकै सक्षम र इमान्दार उनका चार छोरा क्रमशः काजी नाहरसिंह बस्न्यात, काजी केहरसिंह बस्न्यात, काजी अभीमानसिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वीनारायण शाहको मरवट नीतिअनुरूप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न निकै महत्वपूर्ण योगदान दिएको नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ।
नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारमा एक महत्वपूर्ण भारदार सेनापति बडावीर शिवरामसिंह बस्न्यात हुन्।
राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधार गर्न सेनापति बडावीर शिवरामसिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको विवाह काजी कालु पाण्डेको छोरी चित्रादेवी पाण्डेसँग गराइदिएको भनाइ छ।
नेपाल एकीकरण गर्न ‘बस्न्यातको तरवार र पाण्डेको ढाल’ भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ। वीरहरूले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकीकरणका लागि आहुति गरेको इतिहासमा पाइन्छ।
गोरखाका राजा पृथ्वीनारायण शाह र उनका अनुयायीको अथक परिश्रमबाट नेपालको एकीकरण अभियान सञ्चालन भई नेपाल निर्माण भएको हो।रासस