उडिरहेको एउटा जहाजको इन्जिनमा आगो लागेपछि अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ७७७ मोडलका जहाज अमेरिका र जापानमा ग्राउन्डेड भएका छन्।
अमेरिकाको संघीय उड्ययन प्राधिकरणले निर्देशिका जारी गर्दै बोइङ ७७७ जहाजको उडानअघि थप सुपरीवेक्षण गर्नुपर्ने बताएको छ।
शनिबार डेनभरमा एउटा जहाजको इन्जिन फेल भएको युनाइटेड एयरलाइन्सले आफूसँग भएका २४ वटा बोइङ ७७७ जहाज तत्कालका लागि ग्राउन्डेड गरेको जनाएको छ।
डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७-२०० जहाजको एउटा इन्जिनमा शनिबार आगो लागेको थियो। जहाजबाट टुक्राहरू खसे पनि पाइलटले नआत्तिकन उक्त जहाजलाई ल्यान्ड गराएका थिए।
पढ्नुस् : इन्जिन फेल भएर जहाजका टुक्रा बाटैमा खसे, पाइलटले जोगाए २३१ यात्रु
अमेरिकासँगै जापानमा पनि बोइङ ७७७ जहाज ग्राउन्डेड भएका छन्। जापानको उड्ययन नियामकले जापान एयरलाइन्स र निम्पोन एयरलाइन्सलाई ती जहाज नउडाउन भनेको छ। दुबै कम्पनीसँग ३२ वटा बोइङ ७७७ जहाज छन्।
जापानको पारवहन मन्त्रालयले गत डिसेम्बर ४ मा नाहाबाट टोकियो गइरहेको यही मोडलको जहाज इन्जिनमा समस्या आएपछि फर्किएको बताएको छ।
जहाज निर्माता कम्पनी बोइङले आफ्ना प्राविधिकहरूले अमेरिकाको राष्ट्रिय पारवहन सुरक्षा बोर्डको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।
डेनभर घटनाले बोइङको व्यापारमा फेरि धक्का लाग्ने भएको छ।
यसअघि उक्त कम्पनीका बोइङ ७३७ म्याक्स जहाज लगातार दुइटा दुर्घटनामा परेपछि संसारभरि ग्राउन्डेड भएका थिए।
अहिले युरोप र अमेरिकाका नियामकबाट उक्त मोडलका जहाज फेरि उडाउने अनुमति पाउन लागेको बोइङलाई ७७७ मोडलका जहाज ग्राउन्डेड हुन थालेपछि नयाँ चुनौती थपिएको छ।