नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ।
सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन्।
खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी पुग्नुको विकल्प पनि थिएन।
नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उनलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले डाक्टरको सिफारिस अनिवार्य चाहिने कुरा गरे।
च्यापिरहेको पीडा सहँदै उनी कोल्टी विमानस्थल नजिक पारिपट्टि रहेको बूढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् र त्यहाँको डाक्टरसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गरिन्।
संयोगवश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एनेस्थेसिया विशेषज्ञ डा.अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बाल रोग विशेषज्ञ डा.नम्रता सिन्दान र स्त्रीरोगमा विशेष अनुभव प्राप्त डा.दिल साही रोकाको टोली केन्द्रमै पुगेको थियो।
सिफारिस लिन आएकी चँदारालाई देख्ने बित्तिकै डाक्टर टोलीले परिचयसहित उनको समस्याबारे जानकारी लियो।
डाक्टर टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नुका साथै केही बेरसम्मको संवादपछि उनलाई त्यहीँ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने कुरा राख्यो।
सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको उडान भेट्ने ध्याउन्नमा रहेकी निर्मलालाई भने केही शंका र अलि अप्ठ्यारो लागिरहेको थियो। यद्यपि, उनलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो।
‘केन्द्रमा उहाँलाई त्यतिबेला नै जाँचपड्ताल गर्यौं। बच्चा (ट्रान्सभर्स लाई) उल्टो अवस्थामा रहेछ,’ डा.तिवारीले भने, ‘आमा र बच्चा दुवैको ज्यान खतरामा भएकोले निर्मला र उहाँको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौं तथापि साधन स्रोतको अभावमा स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण नै थियो।’
उनले थप भने, ‘स्थानीय साधन स्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्सन (सिएस) गर्यौं। शल्यक्रिया सफल भयो। सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैंले खाएको थियो। त्यसको सबै व्यवस्थापन गरियो।’
अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा.तिवारीले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठान जुम्लाको डा.टोलीका सदस्यहरूका साथै बूढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमीत्रय चन्दाकुमारी दानी, दाना जोशी, मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीहरूको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो।
बूढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.राजुराज जैशीले कोल्टीमा गरिएको सिजेरियन सेक्सन इतिहासमै पहिलो शल्यक्रिया भएको जानकारी दिए।
‘यस अघिका सबै जटिल खालका ‘केस’हरू हामीले नेपालगञ्ज नै सिफारिस गर्नेगथ्र्यौं,’ मेडिकल अधिकृत डा.जैसीले भने, ‘यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ।’
यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उनले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौंको खर्च पनि जोगिएको बताए।
उनले भने, ‘यस अघि हामीले जटिल खालका बिरामीको उपचारका लागि हेलिकप्टर मगाउने या हवाईजहाजमा पठाउने गथ्र्यौं। भाग्यवश यतिबेला निर्मलालाई ठूलो राहत मिलेको छ।’
केन्द्रमै कार्यरत आफ्नै चार जना गर्भवती स्टाफलाई समेत नेपालगञ्ज रिफर गरिएको बताउँदै मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकहरूलाई महँगो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको प्रतिक्रिया दिए।
यो समयमा चँदारा लाखौं खर्च गरेर ऋणी हुनबाट बचेको उनको भनाइ थियो।
उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पछिल्लो समयमा हुम्लाको ताजाकोट, सर्केगाड, अदानचूली गाउँपालिका, मुगुको सोरु, खत्याड गाउँपालिका र कालीकोटको पलाँता गाउँपालिका र रासकोट नगरपालिकाको रिफरल सेन्टरका रूपमा विकास हुँदै गएको जनाए। मुगुवासी चँदाराको यो सफल शल्यक्रियाले सर्वत्र राम्रो सन्देश फिँजाएको उनको भनाइ थियो।
बूढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले प्राथमिक उपचार केन्द्रमा गरिएको सफल शल्यक्रिया बाजुरेली इतिहासमा पहिलो र उपलब्धिमूलक घटना भएको बताए।
नगरप्रमुख गिरीले भने, ‘मानव जीवनका लागि स्वस्थ जीवन पहिलो कुरा हो र जसको व्यवस्थापन राज्यले गर्नुपर्दछ। नेपालको संविधानले यसलाई मौलिक हकका रूपमा व्यवस्था पनि गरेको छ।’
लाखौं खर्च गरेर जोखिमपूर्ण जीवनलाई बचाउन गर्नुपर्ने कष्टकर बाध्यता र त्यसले सिर्जना गर्ने गरिबीबाट मुक्त गराउने प्रतिष्ठानको चिकित्सक टोलीलाई उनले हार्दिक धन्यवाद दिए।
संविधानले दिएको अधिकार नागरिकहरूले प्रयोग गर्न पाऊन् भनेर हुम्ला, मुगु, कालीकोट र बाजुराको ट्रान्जिट बिन्दु मानिने कोल्टीमा जग्गाकिनेर १० शैय्याको अस्पताल निर्माणका लागि तयारी भइरहेको नगर प्रमुख गिरीले बताए।रासस