गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरूङभित्रको ढोका बन्द गरिएको छ।
यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरूङमा परीक्षणका लागि पानी हालिएको थियो।
सुन्दरीजल सो सुरूङको अन्तिम बिन्दु हो। मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरूङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनियर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए।
सुरूङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तिमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरूङमा हालिएको छ। पानी हालेको चार दिन बित्दा तीन किमी सुरूङ पार भएको जनाइएको छ।
परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरूङमार्गबाट सुन्दरीजल आइपुग्ने छ।
पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ।
दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ। ती केन्द्रमा बागमतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ।रासस