घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख वासुदेव आचार्यले आफ्नै छोरी दीपा आचार्यको अन्तर्वार्ता लिएर उत्तीर्ण गराएका छन्।
उपमहानगरपालिका मागेको भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि मागेको लगत प्रविष्टिकर्तामा आचार्यले आफ्नी जेठी छोरी दीपाको अन्तर्वार्ता लिएको र उत्तीर्ण गराएको भन्दै आलोचना सुरू भएको छ।
प्रशासन शाखा प्रमुख आचार्यले आफ्नी छोरी क्षमता र योग्यताको आधारमा छनोटमा परेको दाबी गरे।
उपमहानगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि रहेको र त्यही कार्यविधिअन्तर्गत मूल्यांकन भई छोरी अन्तर्वार्तामा उत्तीर्ण भएको उनले बताए।
‘त्यो अन्तरवार्तामा ममात्रै एक्लै बसेको होइन, प्रमुख प्रशासकीय अधिकृतज्यू र हाम्रै एक जना विज्ञ सदस्य पनि बस्नुभएको थियो,’ आचार्यले भने, ‘योग्यता र क्षमता पुगेपछि त मान्छे पास हुन्छ नि त, होइन र?’
करारमा कर्मचारी नियुक्त गर्दा उपमहानगरपालिकाले लिखित परीक्षा भने गराएन। जसमा अन्तर्वार्ताको अंक २० ल्याए पुग्ने व्यवस्था गरिएको थियो।
‘अन्तरवार्ता लिन बस्नेहरूले ८ र १४ अंकका बीचमा दिनुपर्ने हुन्छ,’ आचार्यले भने ‘अन्तर्वार्ता लिन बसेका अरूले पनि मेरो छोरीलाई क्षमताका आधारमा योग्य ठहर गरेका हुन।’
त्यस्तै शैक्षिक योग्यता, स्थानीय बासिन्दा र अनुभवको समेत गरी ८० अंक दिने कार्यविधि रहेको तथा त्यसमा पनि आफ्नी छोरी अब्बल सावित भएको आचार्यले बताए।
‘कार्यविधि अनुरूप नै हामीले काम गरेका छौं र त्यसैका आधारमा मेरो छोरी पास भएकी हो,’ उनले भने, ‘अनर्गल प्रचार गर्न खोजिएको छ, हाम्रो कार्यविधिका तीनै जना बसेर अन्तर्वार्ता लिएका हौं।’
व्यक्तिको योग्यता र क्षमताका आधारमा को पास हुने वा को फेल हुने भनेर निर्धारण हुने हुँदा त्यसमा बाबुले आफ्नै छोरीलाई पास गराए भनेर प्रचार गर्नु गलत हुने उनले बताए।
‘मैले बुवा भएर आफ्नै छोरीलाई मात्रै तानेको होइन, पास गराएको होइन,’ उनले भने, ‘त्यहाँ मेरी छोरीमात्रै हैन, पास हुने अरू पनि धेरै छन् त।’
घोराहीका मेयर नरूलाल चौधरीले भने आफूलाई आचार्यको छोरी पास भएकोबारे थाहा नभएको बताए।
‘मैले बुझ्नु पर्छ अहिले म मिटिङमा छु,’ चौधरीले भने, ‘मलाई उहाँको छोरी रहेको वा उहाँ पास भएकोबारे जानकारी छैन।’
यो विषयमा घोराहीकै एकजना वडाध्यक्षले तीव्र असहमति जनाए।
‘सबैको मिलेमतोमा काम भएको छ,’ उनले भने ‘के छोरी परीक्षा हुँदा बाबु अन्तर्वार्ता लिन बस्न मिल्छ?’
आफन्त र नाता गोतालाई पास गराउनु संस्थागत भ्रष्टाचारको चरम परकाष्ठा भएको ती वडाध्यक्षले बताए।
‘यो त दूधको साँची बिरोलो भनेकोजस्तो भयो नि,’ उनले भने ‘जति नै अयोग्य भए पनि आफ्ना सन्तानलाई कसले अयोग्य देख्छ र?’
लिखित परीक्षा नगराउनु र अन्तर्वार्ताबाटै करार कर्मचारी छनोट गर्नु यस्तै आफ्ना आफन्त र कार्यकर्ता पोस्ने षडयन्त्र भएको उनले बताए।
प्रशासन शाखा प्रमुखले आफैं अन्तर्वार्ता लिन बस्नु र आफ्नै छोरीलाई योग्य भन्दै पास गराएको घटनाको छानबिन हुनु पर्ने उनले माग गरे।
घोराही उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीको लगत संकलन तथा लगत प्रविष्टिकर्ताका लागि करार कर्मचारीको आवेदन गत पुस २६ गते माग गरेको थियो।