पसल भित्र प्रवेश गर्नासाथ भारतीय स्टार कमिडियन कपिलको आवाज कानमा ठोक्कियो ।
बाहिर पसलमा एक युवक बसेका यूवकलाई लालबहादुरजी बारे सोधियो।
उनले नबोली भित्रतिर ईसारा गरे। भित्र एउटा कोठाको कुनामा उनी एक्लै बसिरहेका रहेछन्। ढोका खुल्लै थियो। मैले बाहिरबाटै उनलाई चिहाएँ।
लालबहादुर केसीका औंलाहरू व्याडमिन्टनको र्याकेटमा जाली (नेट) बुन्न तल्लिन थिए। कमेडी हेर्दै उनी बिन्दास हाँसिरहेका। लालबहादुर हट्टाकट्टा देखिन्थे।
३०/३२ वर्षको उमेर होला भन्ठानेको ५३ वर्ष पुग्दैरहेछन्।
‘तपाँईको त कस्तो झुक्याउने अनुहार र शरीर छ,’ उनले धेरैको मुखबाट यस्तो तारिफ सुनेका छन्।
मलाई उनले त्यसको राज बताए, ‘नियमित व्याडमिन्टन खेल्छु, व्यायाम गर्छु र स्वस्थ आहार-विहार गर्छू!’
लालबहादुर दाङमा मात्रै हैन, आसपासका जिल्लाहरूमा व्याडमिन्टन खेलाडीका बीचमा एउटा चर्चित नाम हो। अहिले भने उनी प्रशिक्षकका रूपमा नयाँ पुस्तालाई ब्याडमिन्टन सिकाइरहेका छन् त्यो पनि नि:शुल्क।
केसी २५ वर्षदेखि निरन्तर ब्याडमिन्टन खेल्दै आएका छन्।
बिहान साढे ३ बज्दा नबज्दै उठिसक्छन्। ५ बज्दा नबज्दै ब्याडमिन्टन कोर्ट पुगिसक्छन्।
पहिले पहिले उनी फूटबल मात्रै खेल्थे। ब्याडमिन्टन कहिलै खेलेका थिएनन् न त रूची थियो।
उनले व्याडमिन्टन खेल्नुका पछि एउटा ‘इख’ले काम गरेको छ।
उनी पूर्व प्रहरी हुन्। २५ वर्षअघि जिल्ला प्रहरी कार्यालय दैलेखमा काम गर्थे।
त्यतिखेर आर्मी, प्रहरीमा हाकिमहरूको मातहतका कर्मचारीलाई हुने व्यवहार र बोलिवचनमा अर्कै हुन्थ्यो। हाकीमको बोली कि, आदेश हुने कि कानुन।
तत्कालिन जिल्ला प्रमुख डिएसपी प्रेमबहादुर चन्दले लालबहादुरलाई र्याकेट राख्न आदेश गरे।
उनले आदेश पालना नगर्ने कुरै थिएन। तर, लालबहादुरको उत्सुक मनले यो कस्तो हुँदो रहेछ भनेर जान्न खोज्यो। त्यसैले राख्न लैजाँदै गर्दा उनी एक्लैले सटल हान्न खोजे।
‘मैले ४/५ पटक हान्दा पनि लागेन। डिएसपी चन्दले माथिबाट त्यो सबै हेरिरहेका रहेछन्, ‘भाइ तिमी जस्ताले हामी जस्तै ब्याडमिन्टन खेलाडी हुन एक हैन सात जुनी फेर्नुपर्छ।’
डिएसपीको शब्द लालबहादुरको छातीमा वाण झैँ रोपियो। सारै पीडा भयो। त्यसपछि उनले मनमनै अठोट गरे, ‘अब यो खेल खेलेरै छाड्छु र डिएसपीलाई एक दिन देखाउँछु।’
तलब आउँदा उनले ब्याट र कक किनेर ल्याए। त्यतिखेर प्रहरी जवानको तलब स्केल जम्मा १ हजार ५ सय जति मात्रै थियो। लालबहादुरले ६/६ सय गरि १ हजार २ सयका दूई वटा कर्कसहित ब्याटहरू किनेर ल्याए।
आफ्नो कार्यालय अघि खेल्ने आँट आएन। जिल्ला विकास समितिको गेष्ट हाउस थियो। पाहुना आए मात्रै त्यहाँ मानिस हुन्थे नत्र सँधै खाली। त्यही आँगनमा लालबहादुरले दुई वटा काठमा पोल गाडे । त्यसैमा एउटा डोरी बाँधेर नेट बनाए।
लालबहादुर प्रहरीको घुमुवा भएको हुँदा प्राय कार्यालय बाहिरै हुन्थे। केही दिन एक्लै ब्याडमिन्टन खेल्न प्रयास गरे। तर, कसरी खेल्ने कुनै नियम थाहा थिएन। त्यसपछि उनले सहकर्मी मानबहादुर केसीलाई ब्याडमिन्टन खेल्ने पार्टनर बनाए।
खेलका नियम सिक्न लालबहादुर पहिला जिल्ला प्रहरी कार्यालय भित्र अन्य कर्मचारीले खेलेको हेर्थे। अनि दौडिएर गइ नयाँ सिकेको कुरा तत्काल अभ्यास गर्थे।
कसरी खुट्टा चाल्ने, कस्तो अवस्थामा फल हुँदो रहेछ? सर्भिस कसरी गर्ने ? जित–हार कसरी हुँदो रहेछ, भन्ने कुरा हेर्दाहेर्दै सिके।
अहिले टिटी सिष्टमबाट ब्याडमिन्टन खेलिन्छ। यो भनेको खस्ने बित्तिकै अंक आउनु हो। तर, उतिबेला ‘चेञ्ज सिष्टम’ थियो। यो सिष्टमले खेल्दा सित्तिमित्ति अंक आउँदैन थियो। अहिले त्यो नियम नै हटिसकेको लालबहादुरले बताए।
जे होस, महिना दिन नपुग्दै उनी अरूसँग जिल्ला प्रहरी कार्यायमै कोर्डमा खेल्ने भइसकेका थिए।
ब्याडमिन्टन खेल्न सिकेर आफूलाई वचन लगाउने हाकिमसँग प्रतिस्पर्धा गर्ने लालबहादुरको चाहना तत्कालका भने पुरा भएन। हाकिमको अन्यत्र सरूवा भइसकेको थियो।
झन्डै ४ वर्षपछि दाङ तुलसीपुरस्थित अञ्चल प्रहरी कार्यालयमा लालबहादुरको भेट चन्दसँग भयो। त्यही मौकामा उनले आफ्नो मनको इच्छा चन्दलाई सुनाए।
लालबहादुर र चन्द एक्ला एक्लै भिडे। तर, जति पटक भिड्दा पनि चन्दलाई लालबहादुरले टिक्क दिएनन्।
त्यहीँ मौकामा खेलाडीका रूपमा उनीहरू बीचको आत्मीयता पनि बढ्यो। मनका कुरा एक अर्कालाई भन्न सक्ने भए। त्यहीँ अवसरको फाइदा उठाउँदै लालबहादुरले चन्दलाई विगत सम्झाए। चन्दले पछुतो मानेछन्। लालबहादुरले भने उल्टै गुरू भनेर नमस्ते गरेछन्।
‘हजुरले त्यो दिन मलाई वचन नलगाएको भए म कहिलै ब्याडमिन्टन खेलाडी बन्ने थिइनँ,’लालबहादुरले चन्द संगको त्यो सम्झिए, ‘ त्यसैले हजुर नै मेरो सबै भन्दा ठूलो गुरू हो।’
त्यो सुनेर चन्द खुसी हुँदै भनेछन्– विष नभएको सर्प र इख नभएको मर्दको अर्थ हुँदैन। वास्तवमा तिम्रो प्रयास महान हो।
त्यपछि यी दुवै ब्याडमिन्टका टुर्नामेन्टहरूमा प्रतिष्पर्धाका लागि देशका विभिन्न जिल्लाहरू गइरहन्थे।
अब त लालबहादुरको नशा नशामा ब्याडमिन्टन घुसिसकेको थियो। जहाँ जान्थे प्राय: उनी जितेर आउँथे। ब्याडमिन्टनले उनी चिनिए। प्रहरी संगठन भित्र मात्रै हैन, साथी भाइका बीचमा एउटा अलग्गै पहिचान बन्यो। खेलहरू खेल्दै गए।
२०५८ सालमा उनको पेटमा अल्सर भएको देखियो। अञ्चल प्रहरी प्रमुखको रूपमा एसएसपी मानबहादुर रावल थिए। लालबहादुरले उपचारका लागि बिदा दिन आग्रह गरे। तर, एसएसपी रावलले ‘तँलाई जागिर भन्दा शरीरको बढी माया छ भने राजीनामा लेखेर जा’ भन्ने वचन लागाए।
बिरामी पर्दा समेत बिदा नपाइने जागिर खान उनलाई मन भएन। उनले राजीनामा लेखे, एसएसपी रावलले तत्काल स्वीकृत गरिदिए।
त्यसवापत आएको रकम कोलमको पैसामा लालबहादुरले तुलसीपुरमा किराना पसल सुरू गरे।
एक पटक काठमाडौं गएको समयमा विशाल बजारमा झुलुक्क उनले एकजनाले (गट) नेट बुनेको देखेका थिए। अनि लालबहादुर पनि फाटेका र्याकेटहरूमा जानि नजानी आफैं नेट भर्न थाले। त्यसो गर्दा उनले कागजमा नक्शा बनाउँथे। र्याकेटका प्वाल गन्दै त्यसमा धागो (नेट) छिराउँथे।
कामले काम सिकाउँछ। उनी छिट्टै राम्रोसँग फाटेका र्याकेट बुन्न सक्ने भए। दुई वर्ष उनले पिलाँसको सहायताले हातमा रूमाल बाँधेर, तानेर, ल्वाङ किला, काँटीको सहयोगले नेट बुने।
मध्यपश्चिम भरी नेट बुन्ने काम कसैले गर्दैनथ्यो। लालबहादुर कहाँ फाटेका र्याकेट बनाउन आउनेहरूको भिडभाड लाग्न थाल्यो। एउटा र्याकेट भरेको दुईढाई सयदेखि चारसयसम्म उनले लिन्थे। त्यसबाट उनलाई राम्रो आम्दानी पनि हुन थाल्यो। दैनिक ८/१० वटा सम्म र्याकेटमा नेट भर्न सक्थे।
आज उनी एउटा र्याकेटमा नेट भरेको सात सय रूपैयाँ लिन्छन्। अहिले त उनीसँग मेसिन पनि छ। यो मेसिन उनले १४ वर्ष पहिले भारतबाट ४० हजार भारू रूपैयाँमा किनेर ल्याएका रहेछन्। त्यसबाट उनको जीविका चलिरहेको छ। त्यो भन्दापनि महत्वपूर्ण कुरा प्रहरी संगठन भित्र मात्रै सीमित व्याडमिन्टन खेललाई तुलसीपुरमा समुदायमा पुर्याउने व्यक्ति यिनै लालबहादुर हुन्। त्यसमा उनलाई खुसी छ।
२०५८ सालको सुरूमा प्रहरीभन्दा बाहिर तुलसीपुरका प्रतिष्ठित व्यापारी विमल रिजालको मिलमा गएर उनीसँगै व्याडमिन्टन खेलेको उनले स्मरण गरे। ‘र्याकेट, कर्क सबै म आफैं लगेर जान्थे। आज तुलसीपुर क्षेत्रमा मात्रै अनगिन्ति व्याडमिण्टन खेलाडि छन्।’
उनी आफैं पनि साँझ बिहान नयाँ पुस्तालाई नि:शुल्क तालिम दिँदै आएका छन्। उनको एउटा गुनासो स्थानीय सरकारसँग छ।
‘स्पोर्ट सिटीको नारा लगाउने स्थानीय सरकारले स्पोर्टको विकासमा केही नगर्नु बिडम्वना हो,’ लालबहादुरले भने।
लालबहादुरकै नेतृत्वमा तुलसीपुरको साविक अञ्चल प्रहरी कार्यालय भित्र लाखौं लगानीमा दुई/तीन वर्ष पक्कि ब्याडमिन्टन कोर्ट निर्माण भएको छ। त्यो कोर्ट बनाउन प्रतिव्यक्ति २५ हजारदेखि एक लाखसम्म स्थानीयको लगानी छ।
तर, पछिल्लो समय प्रहरीले कोभिडलाई बहाना बनाएर त्यहाँ प्रवेशमा रोक लगाए पछि लालबहादुर चिन्तित छन्।
‘हामीले उक्त कोर्ट सार्वजनिक ठाउँमा निर्माण गर्न सकेको भए त्यो साझा सम्पत्ति हुन्थ्यो,’ उनले भने ‘प्रहरीको घेराभित्र कवर्ड हल निर्माण गर्दा त्यो प्रहरीको लागि मात्रै हुन्छ कि जस्तो देखियो।’
तै पनि आज व्याडमिन्टन सबैको घरघरमा छिरेकोमा भने उनी खुसी छन्।
प्रशिक्षकको तालिम लिएपछि उनले टुर्नामेन्ट खेल्न छोडेका छन् साँझ बिहान भने आफ्नै लागि खेल्छन्। उनलाई आफ्नो जिन्दगी नेटमै अल्झाइरहन मन छ।
‘म हात खुट्टा चल्दासम्म ब्याडमिन्टन खेल्ने छु, र्याकेटमा नेट भर्ने छु,’ उनले भने ‘यही नेटमै मेरो जीवन अडेको छ।’
मसँग कुरा गर्दा गर्दै उनले तीनवटा र्याकेटमा नेट भरी सकेका थिए। आफूले नेट भरेका र्याकेट हेर्दै उनी मुस्कुराए।