किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुवालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उमेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाहसम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
उनले नियन्त्रणमा लिइएका बेहुला र उनका बुवालाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बालविवाहसम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।
मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बुवा, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ।
मुलुकी अपराध संहितामा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ। त्यसरी गरिएको विवाह स्वतः रद्द हुने र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। रासस