यही साता काठमाडौंबाट प्रभास रिजालको टोली रोल्पा जान भनि निशान कम्पनी जीप चढेर आए। उनीहरू डकुमेन्ट्री बनाउन भनेर शहिद मार्ग हुँदै रोल्पा जाँदै थिए।
तर,सडक खण्डको अवस्था देखेपछि उनीहरूले उक्त गाडी घोराहीमै थन्काए। घोराहीबाट एउटा टेम्पो झन्डै एक हजार भाडा तिरेर होलेरी पुगे। यात्राका क्रममा उनीहरू ठाउँ ठाउँ ओर्लनु पर्यो। कति ठाउँमा टेम्पो धकेल्नु पर्यो।
यो एउटा उदाहरण मात्रै हो।
दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड ‘शहिद मार्ग’ जीर्ण भएपछि आजकाल साना सवारी साधन चलाउन निकै कठिन छ। सबभन्दा बढी मर्कामा मोटरसाइकल, अटो रिक्सा जस्ता साना सवारी साधन चलाउनेहरू खेपिरहेका छन्।
जीर्ण सडकमा एकतर्फ दुर्घटनाको जोखिम उत्तिकै छ भने अर्कोतर्फ मोटरसाइलकलमा यात्रा गर्ने मानिस धुलाम्मे हुन्छ।
‘धुलोका कारण न मानिस चिनिन्छन् र न मोटरसाइकलको नम्बर प्लेट नै देखिन्छ,’ मोटरसाइकल चालक रमेश मगरले भने, ‘त्यो सडकमा मोटरसाइकल चलाएर बजार पुग्दा साथी भाइ त के घरकै मानिसले पनि चिन्दैनन्।’
कालोपत्रे सडकको कतै पनि नाम निशान नरहेको हुँदा लत्ताकपडा सबै धुलाम्मे हुने, मोटरसाइकल धुनुपर्ने र धुलेको कारण यात्रा गर्ने मानिसको स्वास्थ्य समस्या हुने उनले बताए।
मगरले भने, ‘बाटोको अवस्था एकदमै नाजुक छ। राज्यले तुरून्त सडक निर्माणमा ध्यान दिनुपर्छ।’
सडकमा टिपरहरूको मात्रै 'राज' चल्ने गरेको र मोटरसाइकल, टेम्पोजस्ता साना सवारी साधन चलाउन सक्ने अवस्था नरहेको उनले बताए। त्यही सडकखण्ड भएर सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ ल्याउन जाने टिपरहरू आवतजावत गरिरहन्छन्।
सडकका कर्मचारीहरू तिनै टिपरका कारण सडक यति छिट्टै जीर्ण बनेको धारणा राख्छन्।
सडकको भार बहन क्षमताभन्दा कयौं गुणा बढी लोड बोकेका टिपरहरू गुड्दा सडकको कालोपत्रे छिट्टै ध्वस्त बनेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए।
आर्थिक वर्ष २०७४/०७५ मा संघीय सरकारको ४७ करोड बजेटबाट उक्त सडक खण्ड कालोपत्रे गरिएको थियो। तर, २९ किलोमिटर शहिद मार्ग डेढ वर्ष नबित्दै सबै कालोपत्रे ध्वस्त भइसकेको छ। सडक खण्डमा मुश्किलले कालोपत्रे देख्न पाइन्छ। सबैतिर धुलाम्मे सडक मात्रै छ।
त्यही सडकखण्ड मर्मत सम्भारको माग गर्दै आन्दोलन चर्किंदै गएको छ।
सडक जीर्ण भएपछि यात्रा जोखिमयुक्त बनेको भन्दै फागुन ५ गते होलेरीमा बसेको सञ्चारकर्मी लगायतको भेलाले संघर्ष समिति गठन गरेको थियो। त्यसपछि उक्त संघर्ष समितिले सडकको स्तरोन्नतिको माग गर्दै निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको संयोजक नन्दराम खड्काले सेतोपाटीलाई बताए।
‘झन्डै ४७ करोड रकम खर्चेर गरिएको कालोपत्रेको एकआध वर्षमै नाम निशान नबच्नुले काम कत्तिको गुणस्तरको थियो भनेर छर्लंग भएको छ,’ सञ्चारकर्मी समेत रहेका खड्काले भने, ‘दोषीहरूलाई कारबाही र यथाशक्य चाँडो सडक स्तरोन्नति हुनुपर्छ भन्ने हाम्रो माग हो।’
जीर्ण सडकका कारण दुर्घटनाको जोखिमले भगवान भरोसामा यात्रा गर्न सर्वसाधारण बाध्य भएको भन्दै उनले रोष प्रकट गरे।
‘हामीले दाङ र रोल्पाका स्थानीय सरकरका प्रमुखहरूसँग हारगुहार गर्दा कसैले वास्ता गरेनन्,’ खड्काले भने, ‘अझै पनि गरिरहेका छौं, तर, हाम्रो आवाजको बेवास्ता भइरहेको छ।’
राष्ट्रिय राजनीति परिर्वतनमा ठूलो योगदान र बलिदान दिएको छ। त्यहीका नेताहरू यो बीचको सरकार सञ्चालनको केन्द्रमा रहेर काम गर्दा पनि अवस्था सुधार नुहनु दुर्भाग्य मान्नुपर्ने संघर्ष समितिका संयोजक खड्काले बताए।
‘हाम्रो अरू कुनै माग छैन, सर्वसाधारणले ढुक्कसँग आरामदायी यात्रा गर्न पाउनु पर्छ भन्ने हो,’ उनले भने, ‘जबसम्म सडकको स्तरोन्नति हुँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन।’
यही सडकखण्ड भएर सगरमाथा, सोनापुर र सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपरहरू सयौंको संख्यामा ओहोरदोहोर गर्ने गरेका छन्।
टिपरहरूका लागि छुट्टै सडक बनाउन माग हुँदै आएको भए पनि त्यो सम्भव भइसकेको छैन।
उद्योग तथा यातायात मन्त्रालयले रोल्पाको होलेरी, डुब्रिङ हुँदै दाङको छिल्लीकोट भएर दुधरास निस्कने छुट्टै औद्योगिक मार्गको समेत निर्माण सुरू गरेको भए पनि त्यसले पूर्णता पाइसकेको छैन।
रोल्पाको रून्टीगढी गाउँपालिका र दाङको घोराही उपमहानगरपालिको लापरबाहीका कारण उक्त मार्ग निर्माणको कामले पूर्णता पाउन नसकेको संघर्ष समितिका संयोजनक खड्काले आरोप लगाए।
स्थानीय सरकारका आफ्नै डोजर र स्काभेटर रहेको हुँदा उनीहरूले चाहेको खण्डमा औद्योगिक मार्गले सजिलै र छिटै पूर्णता पाउने संयोजक खड्काले विश्वास व्यक्त गरे।
यो पनि:
४६ करोड खर्चेर बनाइएको कालोपत्रे सडक दुई वर्षमै ‘ध्वस्त’