चिनियाँ अर्बपति तथा अलिबाबा र एन्ट ग्रुपका संस्थापक ज्याक मा चीनकै सबैभन्दा धनी व्यक्तिबाट तल झरेका छन्।
मंगलबार सार्वजनिक भएको एक सूचीबाट उनले चीनको सबैभन्दा धनी व्यक्तिबाट तल झरेको रोयटर्सले जनाएको छ।
सन् २०२० र २०१९ मा हुरून ग्लोबल रिच लिस्टमा मा र उनको परिवार पहिलो स्थानमा थियो। यसपालिको रिपोर्टमा उनी चौथो स्थानमा झरेका छन्।
नोङ्फु स्प्रिङसका झोङ शानशन चीनकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनको कम्पनीले बोतल पानीको उत्पादन र बिक्री गर्छ।
टेन्सेन्ट होल्डिङ्गसका मालिक पोनी मा दोस्रो र इ कमर्स स्टार्टअप कम्पनी पिनदुओदुओका मालिस कोलिन हुवाङ सूचीको तेस्रो स्थानमा छन्।
पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।
माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्चेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।
माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको थियो।
गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा गत जनवरी २०मा एउटा भिडिओ कन्फरेन्समा देखिएका थिए। लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए।
अहिलेका सबैभन्दा धनी चिनियाँ व्यक्ति झोङले बेइजिङको भ्याक्सिन निर्माता कम्पनी वानताइ बायोलोजिक फार्मेसी इन्टरप्राइजेज पनि सञ्चालन गर्छन्।
टिकटकका संस्थापक झ्याङ यिमिङ पनि चीनको सबैभन्दा धनी व्यक्तिहरूको सूचीको शीर्ष पाँचमा परेका छन्।