मंगलबार बिहान भारतीय एयरलाइन्स कम्पनी इन्डिगोको जहाजले पाकिस्तानको कराँचीस्थित विमानस्थलका अधिकारीहरूसँग आपतकालीन अवतरणका लागि अनुमति माग्यो।
युएईको सारजहबाट उत्तर प्रदेशको राजधानी लखनऊ लागि उडेको फ्लाइट नम्बर ६ई १४१२ को जहाजलाई कराँची विमानस्थलमा अवतरण अनुमति दिइयो।
बिहान चार बजे इरानको आकाशबाट पाकिस्तानमा पस्न लाग्दा जहाजका पाइलट आकस्मिक अवतरणका लागि अनुमति मागेका थिए।
जहाजभित्र रहेका एक जना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि जहाज आकस्मिक अवतरण गरिएको थियो। कराँची विमानस्थलका अधिकारीहरूले ती यात्रुलाई बचाउन नसकिएको बताएका छन्। उनको जहाजमै मृत्यु भइसकेको थियो।
जहाजभित्रै ज्यान गुमाउने यात्रु ६७ वर्षका हबिब अर रहमान रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
इन्डिगोले विज्ञप्ति जारी गर्दै आपतकालीन अवतरण गरे पनि ती यात्रुलाई बचाउन नसकेकोमा दु:ख व्यक्त गरेको छ।
विमानस्थलमा प्रक्रिया पूरा गरेपछि जहाज स्थानीय समयअनुसार बिहान ८:३६ मा कराँचीबाट हैदरावादका लागि उडेको थियो।
बालाकोट हमला भएपछि पाकिस्तानले लामो समयसम्म भारतीय जहाजका लागि आफ्नो आकाश बन्द गरिदिएको थियो।