भारतको हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयबाट डिग्री लिएकाहरू अहिले संसारभरि समस्यामा पर्न थालेका छन्।
उक्त विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली भएको तथ्य खुलेपछि सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अमेरिका र क्यानडालगायत मुलुकमा काम गरिरहेका उक्त विश्वविद्यालयका डिग्रीधारीलाई समस्या परेको हो।
ती मुलुकमा काम गरिरहेका उनीहरूलाई अफिसले डिग्री सक्कली हो कि होइन प्रमाणित गर्न भनिरहेका छन्।
भारतीय सरकारी संस्थाको अनुसन्धानबाट विश्वविद्यालयले एउटा डिग्रीलाई भारू १ देखि ३ लाखका दरले बेचेको देखाएको छ।
यो विश्वविद्यालयबाट डिग्री लिएकाहरूमा नेपाली पनि परेका छन्।
साउथ चाइना मर्निङ पोष्टमा एक जना नेपाली सरकारी कर्मचारीलाई उद्धत गर्दै समाचार प्रकाशन भएको छ।
उक्त समाचारमा उनले आफूले अर्को महिना अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता दिन लागेको भए पनि विश्वविद्यालयका डिग्री नक्कली हुन् भन्ने खुलासाले समस्यामा पारेको बताएका छन्।
'मैले मेरो डिग्रीको आधिकारिकता प्रमाणित गर्न सकिनँ भने भिसा पाउँदिनँ भन्ने लागेको छ,’ उनले भनेका छन्,‘मेरो भविष्य अँध्यारो छ।’
उनले मानव भारती विश्वविद्यालयमा आफ्नो डिग्री प्रमाणित गरिदिन तीन पटक इमेल पठाएको पनि बताएका छन्।
सिंगापुरको जनशक्ति मन्त्रालयले आफ्नो देशमा वर्क पास भएका १५ जनाले मानव भारती विश्वविद्यालयको डिग्री भएको बताएकाले उनीहरूको डिग्रीमाथि अनुसन्धान भइरहेको बताएको छ।
सिंगापुरमा काम गर्ने केही भारतीयले यसअघि आफूहरू मानव भारती विश्वविद्यालयमा पढेको बायोमा राखेका भए पनि अहिले त्यो हटाएका छन्।
मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ। बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै धेरै नक्कली डिग्री फेला पर्ने अनुमान गरिएको छ।
यो विश्वविद्यालय राजकुमार रानाले चलाएका हुन्। उनी ट्रस्टका अध्यक्ष छन्। उनको पासपोर्ट फिर्ता गरिएको छ भने अष्ट्रेलियामा रहेका उनकि पत्नी र छोराछोरीलाई पनि भारत झिकाउने प्रक्रिया सुरू गरिको छ। राजकुमारको परिवारले नक्कली डिग्री बेचेर १ सय ९४ करोड भारू कमाएको प्रहरीको अनुमान छ।
प्रहरीले यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको बताएको छ।
राना परिवारले सन् २००९मा हिमाञ्चल र २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो।
उक्त विश्वविद्यालयविरूद्ध नक्कली डिग्री दिएका अरू उजुरी पनि प्रहरीमा दर्ता भएका छन्।