सल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ स्थित भेरी निम्न माध्यमिक विद्यालयको छाना हुरीले उडाएको वर्ष दिन पुग्नै लाग्दा समेत मर्मत गरिएको छैन।
विद्यालय भवनको जस्तापाता गत वर्ष वैशाख २८ गते आएको हावाहुरीले उडाएको थियो। तर, हालसम्म पनि त्यो निर्माण नहुँदा विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य छन्।
‘हाम्रो विद्यालयको वरिपरि गारा त छ, तर, छाना छैन,’ एक छात्राले भनिन्, ‘छानो नभएको हुँदा खुला आकाशमुनि बसेर पढ्नु पर्छ।’
त्यसरी पढ्नु पर्दा जाडो दिनमा चिसोले र आजकल गर्मीले सताउने गरेको उनले नाम उल्लेख नगर्ने सर्तमा बताइन्।
विद्यालयका प्रधानाध्यापक हेमराज वलीले छानो नहुँदा पठनपाठनमा समस्या हुँदै आएको बताए। उनका अनुसार विद्यालयमा २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन्।
छानो नहुँदा पुस माघको जाडोमा समेत छानोबिनाको विद्यालयमा पढाउनु परेको उनले जानकारी दिए।
‘मान्छेहरू हामीलाई पनि गिज्याउँछन्, छानै नभएको विद्यालयमा पढाउने शिक्षक भन्छन्,’ प्रअ वलीले भने, ‘विद्यालयको आन्तरिक स्रोत र आम्दानी छैन। छानो बनाउने हामीसँग पैसा छैन।’
स्थानीय सरकारलाई पटक/पटक आग्रह गर्दै आएको तथा फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए।
उनले वडाध्यक्ष वीरबहादुर बुढालाई त्यसबारे धेरै पटक हारगुहार गरेको बताए।
वडाध्यक्ष बुढालाई सम्पर्कको प्रयास गरे पनि सम्भव भएन।
वनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द पुनले ३० लाख जतिको सिलिङ तोकेर छानो हाल्ने काम सुरू हुन लागेको बताए।
‘वडाध्यक्षले बाटो निर्माणमा मात्रै पैसा हालेछन्,’ मेयर पुनले भने, ‘मैले अहिले अन्य शीर्षक अन्तर्गत रकम छुट्याएर भए पनि छाना हाल्ने काम छिटो गर्न भनेको छु।’
मेयर पुनले अन्य शीर्षक अन्तर्गत ४ लाख ७० हजार रकमको स्टिमेट गरी त्यो रकम छुट्याइ सकेको जानकारी दिए।
यो महिनाको अन्त्यसम्ममा स्कुलको छानो तयार पारी सक्ने उनले बताए।
‘जस्तापाता किन्नको लागि अब छिट्टै प्रक्रिया सुरू हुन्छ,’ उनले भने, ‘अलिकति समस्या काठको छ भन्ने छ, त्यो समस्या पनि हामी समाधान गर्नेछौं।’
विद्यालयको छानो उडाएको वर्ष दिन पुग्नै लाग्दा समेत त्यो मर्मतमा ध्यान नदिनुले वडाध्यक्षको तर्फबाट व्यापक लापरबाही देखिन आएको उनले बताए।
स्थानीय सरकार हुदाहुँदै हुरीले उडाएको विद्यालयको छानो मर्मतमा समयमै ध्यान नदिन व्यापक लापरबाही मान्नुपर्ने मेयर पुनले बताए।
अर्का एक शिक्षकले पनि पत्रकारहरूले फोन सम्पर्क गर्न थालेपछि नगरपालिकाले बजेट छुट्याएर तत्काल काम गर्न थालेको बताए।
‘यतिका दिनसम्म कसैले चासो दिएका थिएनन्,’ उनले भने, ‘पत्रकारले सोधपुछ गर्न थालेपछि तत्काल काम हुने अवस्था देखिएको छ।’