पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै बागमती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ।
साथै, उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ।
विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन्।
उनका अनुसार मंगलबारदेखि मौसम सफा हुनेछ। हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ।
अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २४ गते (सोमबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका पहाडी भू-भागहरूको थोरै स्थानहरूमा तथा बागमती र प्रदेश १ का एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरूको एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।
फागुन २५ गते (मंगलबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरूको एक वा दुई स्थानहरूमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
फागुन २६ गते (बुधबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागहरूको एक वा दुई स्थानहरूमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राससको सहयोगमा