मुलुकमा सातवटा उच्च अदालत छन्। ती उच्च अदालतको नेतृत्वमा विरलै महिला न्यायाधीश पुग्छन्।
अहिले भने सातमध्ये एउटा उच्च अदालतमा महिला मुख्यन्यायाधीश छन्, नीता गौतम दीक्षित। उनी उच्च अदालत तुलसीपुरकी मुख्यन्यायाधीश हुन्।
माघ १२ गते उनले मुख्यन्यायाधीशको नियुक्ति पाएकी हुन्।
काम कारबाहीमा कुनै फरक नभएको हुँदा न्यायाधीश र मुख्यन्यायाधीश हुनुमा धेरै ठूलो फरक नभएको उनले बताइन्। तर मुख्यन्यायाधीश भनेको प्रदेशको सबभन्दा ठूलो अदालतको प्रशासनिक प्रमुख हुनु पनि हो।
नीता गौतम दीक्षित वकालतबाट सिधै पुनरावेदन अदालतमा न्यायाधीश भएकी थिइन्।
उनी प्रदेश नम्बर २ को बारा जिल्लामा जन्मिएकी हुन्। उनलाई कखरा र एबिसिडी चिनाएको उनकी आमाले हो।
नीताका अनुसार उनकी आमा जुद्धशमशेरकै पालामा श्री ३ जुद्धशम्शेर माविमा पढ्थिन्।
‘त्यति बेला आमाको पालाको तुलना गर्ने हो,भने अहिलेसम्म महिलाको अवस्था धेरै माथि गइसक्नुपर्ने थियो,’ नीताले भनिन् ‘तर, अहिलेसम्म पनि हरेक विद्यालयमा केटीभन्दा केटाको संख्या धेरै छ, यसले समाज कता फर्केको हो? भनेर चिन्ता गर्नुपर्ने देखिन्छ।’
महिलालाई अघि बढाउन पारिवारिक सहयोग र महिलाकै पनि इच्छाशक्तिको आवश्यकता हुने उनले बताइन्।
विवाहपछि परिवारको सहयोग नपाउँदा धेरै महिला घरमै खुम्चिएर बस्ने गरेको उनले बताइन्।
गर्भधारण गर्न सक्ने र स्तनपान गराउन सक्ने क्षमता हुने हुँदा पुरूष भन्दा महिला बढी शक्तिशाली रहेको नीताको विश्वास छ। तर पनि महिला पछि पारिएका छन्।
घरको काम र बाहिरको काम गर्नुपर्ने भएकाले पनि महिलालाई दोहोरो भूमिका छ। दोहोरै भूमिका पनि उनीहरूले गजबले निभाएको उनलाई लाग्छ।
अदालतमा महिला सहभागिता बढाउने हो भने महिलालाई घरबाहिर निस्कनै पर्ने उनको बुझाइ छ।
कामका लागि घर बाहिर निस्कनु पर्ने, फर्म खोल्नु पर्ने, अलि कति खर्च पनि हुने जस्ता कारणहरूले गर्दा पनि महिलाहरू अगाडि बढ्न नसकेको उनको बुझाइ छ।
न्यायालयभित्रै आफूले कुनै विभेद नभोगे पनि सामाजिक रूपमा भने भोगेको अनुभव सुनाइन्।
पोखरामा न्यायाधीश भएर जाँदाको उनको एउटा अनुभव छ।
जति बेला कार्यालय बाहिर कोठा लिनुपर्ने अवस्था थियो। उनी आफू बस्ने कोठा हेर्न गइन्। दीक्षितले त्यो कोठा मन पराइन्। सबै कुरा ठिक देखेपछि उनले त्यही कोठामा बस्ने निर्णय सुनाइन्।
‘तपाईंले फिक्स गरेर त हुँदैन होला नि, श्रीमान आउनु हुन्छ अनि उहाँले फिक्स गर्नु हुन्छ,’ ती घरधनीले भने।
उनले आज पनि कतै आफू र श्रीमानसँगै जाँदा मानिसहरूले आफ्ना श्रीमानलाई न्यायाधीश भन्ने ठान्छन्।
‘मलाई न्यायाधीश भन्दैनन् मानिसहरूले, मेरा श्रीमानलाई पो न्यायाधीश भन्ने गर्छन्,’ मुख्यन्यायाधीश दीक्षितले भनिन्,‘नचिनेको ठाउँमा मेरो गार्डसँगै छ भने पनि उसलाई नमस्कार गर्छन्,तर मलाई गर्दैनन्।’
अहिले पनि समाजमा महिला त्यति उच्च ओहोदामा पुगेका छन् भनेर धेरैले विश्वास नगर्ने गरेको उनले बताइन्।
पोखरामा न्यायाधीशसँगै जाँदाको अर्को एउटा पल पनि उनले स्मरण गरिन्।
छिमेकीहरूले उनलाई ‘साहेब नि’भनेर कुरा गर्न थाले छन्।
‘उनीहरूले मलाई अन्य न्यायाधीशको श्रीमती भन्ने ठाने,’ दीक्षितले सम्झिइन्, ‘त्यो सुनेर प्रतिकार गरेकी थिएँ, ए म साहेब नि हैन है, म न्यायाधीश हो भनेर मैले भन्नु परेको थियो।’
दीक्षित जनकपुरमा जाँदा पनि सुरू-सुरूमा महिला न्यायाधीश भनेर मानिसहरू हेर्न आउने गरे।
गौतमले २०४६/०४७ सालतिर वकालत गर्थिन्। उनले एकदिन बहसका क्रममा न्यायाधीशहरूले उनका पतिबारे सोधिदिएका थिए। जो उनले अपेक्षा नै गरेकी थिइनन्।
उनलाई न्यायाधीशले मुद्दा पढ्दै गर्दा तपाईंको श्रीमानले के गर्नु हुन्छ भनेर सोधे। तर, उनले मुद्दाको पक्षका श्रीमानबारे सोधे होलान् भन्ठानिछन्। ट्याक्सी चलाउनु हुन्छ भन्ने जवाफ दिइन्।
त्यो सुनेर अन्य न्यायाधीशहरूले आश्चर्य मान्दै सोधे- ट्याक्सी ड्राइभर?
उनीसँग उनले रिटायर्ड हुनुभन्दा एक दिन अगाडिसम्म पनि आफूले उत्साहका साथ काम गर्ने चाहना व्यक्त गरिन्। उनलाई सर्वोच्च अदालतको न्यायाधीशसम्म हुन्छु भन्ने छ।