दाङको घोराही उपमहानगरपालिका वडा नं. १ बुकाका किसान भीमबहादुर मल्लले केहीदिनअघि आफ्नो खेतबारीनजिकै एउटा वयस्क गिद्ध झोक्राएको देखे।
मल्लले बिरामी गिद्धको उद्धार गरी घर पुर्याए। घरमा लगेर मल्लले डोकोमा छोपेर राखे। बेसार तेल लगाएर घरेलु उपाचार थाले।
पर्यावरणीय दीगो विकास एवं अनुसन्धान केन्द्रका कर्मचारी दीपेन्द्र लामिछाने र क्षितिज रावतलाई घाइते गिद्धबारे मल्लले खबर गरे। एक रात घरमै राखेपछि दास्रो दिन फागुन २१ गते लामिछाने र रावत गाडी लगेर बिहानै गिद्ध लिन बुका पुगे।
गिद्ध ल्याएर तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुरस्थित पर्यावरणीय दीगो विकास एवं अनुसन्धान केन्द्रको कार्यालयमा ल्याएर राखियो। त्यो बिरामी गिद्ध लोपोउन्मुख प्रजातिको मानिने डंगर गिद्ध हो। गिद्धको घाँटीमा समस्या छ। त्यसलाई जसरी पनि बचाउनु पर्छ भनेर अनुसन्धान केन्द्रका कर्मचारी र पदाधिकारीले सर-सल्लाह गरे।
त्यसपछि गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष तथा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्षसमेत डिल्लीबहादुर रावतको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जका भेटनरी डाक्टर विकल्प कार्कीसँग भिडिओ संवाद भयो। डाक्टर विकल्पले सोही भिडिओ संवादमै उक्त गिद्धको अवस्था नियाले। जसको घाँटीमा समस्या छ, घाँटी सुन्निएको छ।
डाक्टर विकल्प गिद्ध संरक्षण तथा उपचार अभियानमा समेत जोडिएको हुँदा गिद्धको अवस्था नियालेर के औषधी दिने र उपचार कसरी गर्ने भनेर सिकाइदिए।
डाक्टर विकल्पकै सल्लाहमा संरक्षण केन्द्रका कर्मचारी र पदाधिकारीले बिरामी गिद्धको उपचार थाले। यो बीचमा डाक्टरसँग केन्द्रका कर्मचारी दिनहुँ भिडिओ संवाद गर्दै उपचार गरिरहेका छन्।
दुई-तीन दिनको प्रयासपछि अहिले गिद्ध तंग्रिँदै गएको छ।
अध्यक्ष रावतका अनुसार उनीहरुले गिद्धलाई यो बीचमा दैनिक आधा केजी राँगाको मासु समेत दिने गरेका छन्। ‘हामीले दिने आधा केजी मासु गिद्धले ५ मिनेटमै खाएर सिध्याउने गर्छ,’ अध्यक्ष रावतले भने ‘ अब उ तंर्गिदै गएको छ, तर पनि डाक्टरले अझैं हप्ता दिन जति उपचार गर्नुपर्ने सल्लाह दिनु भएको छ।’
डाक्टरको निर्देशनअनुसार उपचार गर्ने र उपचारपछि गिद्ध निको भए तुलसीपुरको स्यालापानी गिद्ध संरक्षण रेष्टुरेन्ट लगेर छोड्ने अध्यक्ष रावतले बताए।
घाइते गिद्धको उपचारको लागि दैनिक आफूहरू खटिँदै आएको र दैनिक एक हजारको हाराहारीमा खर्च हुने गरेको रावतले जानकारी दिए।
‘गिद्ध निको हुँदासम्म ६/७ हजार जति खर्च लाग्न सक्छ,’ उनले भने, ‘त्यो खर्च अहिले हामी आफैं बेर्होछौं र पछि हामीलाई नेपाल पंक्षी संरक्षण केन्द्र काठमाडौंले रिटर्न दिने गर्छ।’
रावतका अनुसार त्यो दुर्लभ प्रजातिको डंगर गिद्धको प्वाँख अझैं खैरो रहेको हुँदा त्यो अझैं ३ वर्षको पनि पुगेको छैन। ३ वर्ष पुगेको गिद्धको प्वाँख विस्तारै परिवर्तन हुँदै कालो हुने उनले बताए।
हप्ता दिनअगाडि मात्रै पश्चिम दाङको शान्तिनगर गाउँपालिकास्थित बहुला खोलामा अर्को एउटा गिद्ध घाइते अवस्थामा फेला परेको थियो। खोलामा फालेको सिनो खान गएको उक्त गिद्धलाई केटाकेटीले गुलेली हान्दा आँखामा लागेपछि घाइते भएको थियो। घाइते भएर खोलामै रहेको गिद्धलाई स्थानीय भीमबहादुर वलीले उद्धार गरी घरमा लगी तेल-बेसार लगाइ घरेलु उपचार गरेका थिए।
उनले तीन दिनजति उपचार गरेपछि गिद्ध सञ्चो हुन थालेकाले डिभिजन वन कार्यालय दाङका कर्मचारीलाई वलीले उक्त गिद्धको जिम्मा लगाएका थिए। त्यसपछि उक्त गिद्धलाई वनका कर्मचारीले गाडीबाट अनुसन्धान केन्द्रका कर्मचारीको जिम्मा लगाए। गिद्ध संरक्षण केन्द्रका अध्यक्ष रावतका अनुसार उक्त घाइते गिद्धलाई पनि केन्द्रको कार्यालयमा केही दिन राखेर उपचारपछि गत हप्तामात्रै स्यालापानी गिद्ध संरक्षण रेष्टुरेन्टमा लगेर छोडिएको थियो।
अध्यक्ष रावतका अनुसार नेपालमा सबैभन्दा बढी गिद्ध पाइने जिल्ला दाङ हो। जिल्लामा झन्डै ६ सयको हाराहारीमा गिद्ध रहेको उनले बताए। केहीदिन पहिलेमात्रै तुलसीपुरको ग्वारखोलामा सिनो खान झन्डै डेढ सयको हाराहारीमा गिद्ध आएको उनले जानकारी दिए। गिद्धलाई प्रकृतिको कुचीकार मान्ने गरिन्छ। पहिला-पहिला गिद्ध घरमाथि बाट उडे, घरमा बसे, नजिकै रूखमा बसे पनि अशुभ मानिन्छ भन्ने गतल धारणा रहे पनि आफूहरूको प्रयासले गिद्ध संरक्षणमा सर्वसाधारण सक्रिय हुन थालेको उनले बताए।
पछिल्लो समय तुलसीपुरको हेमन्तपुरस्थित अनुसन्धान केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज र जुम्ला पशु कार्यालयबाट समेत घाइते पशु पंक्षीको उपचारका लागि पठाउने गरेको अध्यक्ष रावतले बताए।